कोरोनाबाट सप्तरीमा थप दुईको मृत्यु- प्रदेश २ - कान्तिपुर समाचार

कोरोनाबाट सप्तरीमा थप दुईको मृत्यु

५२ जनाको परीक्षण गर्दा ४० मा संक्रमण पुष्टि
अवधेशकुमार झा

राजविराज — कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा थप २ जनाको मृत्यु भएको छ । संक्रमित बनेका सप्तकोसी नगरपालिकाका ४५ वर्षीय शिक्षकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।

यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका २ का ३५ वर्षीय एक पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि सप्तरीमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

यसैबीच, मंगलबार ५२ जनाको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १३ महिलासहित ४० जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जितकुमार झाले जानकारी दिए । संक्रमित भएकाहरुमा सबभन्दा बढी राजविराज नगरपालिकाका १७ जना छन् ।

मंगलबार संक्रमण पुष्टि भएकाहरुमा पत्रकार र स्वास्थ्यकर्मीसमेत छन् ।


प्रकाशित : वैशाख २१, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ सम्म, पसल बिहानमात्रै खोल्न पाइने

आवश्यकबाहेक सडकमा हिँडडुलमा कडाई गरिने, कवाडी संकलन र सडक व्यापार निषेध
कान्तिपुर संवाददाता

काठमाडौँ — वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठकले निर्णय गरेको छ । मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको ललितपुरका सहायक सीडीयो ललितकुमार बस्नेतले बताए । यसअघि तीनै जिल्लाका सीडीओले एक साता निषेधाज्ञा जारी गरेका थिए । 

खाद्यान्न पसल खोल्न पाइने समयमा पनि परिवर्तन गरिएको छ । अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि साँझ ५ देखि ७ बजेसम्म पनि खोल्न दिइएको थियो ।

उनका अनुसार बैठकले उपत्यकामा कवाडी संकलनमा रोक लगाएको छ भने सडकमा हुने ठेलागाडा र सडक व्यापारलाई पनि निषेध गरिएको छ । सडकमा अनावश्यक भीडभाड देखिएकाले आवश्यकबाहेक हिँडडुलमा पनि कडाई गरिने उनले बताए ।





प्रकाशित : वैशाख २१, २०७८ १५:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×