कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उखुको रकम अझै बाँकी

सरकारले तोकेभन्दा कम भुक्तानी पाएको गुनासो
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले अझै पनि किसानको पूरा रकम चुक्ता गरेको छैन । उद्योगले यस वर्ष २२ करोड भन्दा बढी रकम तिरिसके पनि पूरा भुक्तानी नपाएको किसानको गुनासो छ ।

उखुको रकम अझै बाँकी

उद्योग मन्त्रालयको पत्र अनुसार अन्नपूर्णले तोकिएको रकम भन्दा ५ करोड बढी भुक्तानी गरिसक्दा पनि किसानले पूरा भुक्तानी नपाएको गुनासो गरेका हुन् । उनीहरूले सरकारले तोकेको उखुको मूल्यमा प्रतिक्विन्टल १ सय १ रुपैयाँ कम पाएको बताए ।

गतवर्ष किसानका प्रतिनीधि र उद्योगीबीच भुक्तानीका लागि उद्योग मन्त्रालयमा भएको वार्तामा अन्नपूर्ण चिनी उद्योगमा किसानको बाँकी रहेको करिब १७ करोड रुपैयाँ भुक्तानी दिने सहमति भएको थियो । तर यकिन तथ्यांक उद्योगी र किसान प्रतिनिधिले उपलब्ध गराउन सकेका थिएनन् । त्यसैले सहमतिअनुसार तोकिएको भन्दा ५ करोड रुपैयाँ बढी भुक्तानी भइसक्दा पनि किसानले बक्यौता रहेको गुनासो गर्दै आएका हुन् ।

यसअघि अन्नपूर्णले सहमतिअनुसारको रकम नतिरेको भन्दै किसानहरूले ठगी आरोपमा उद्योगका सञ्चालक राकेश अग्रवालमाथि मुद्दा दायर गरेपछि उनलाई प्रहरी नियन्त्रणमा लिएको थियो । अग्रवाल पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका एक प्रहरीलाई नै किसानको उजुरी लिन खटाइएको थियो । ती प्रहरीले किसानको उजुरीसँगै उद्योगमा बक्यौता रहेको प्रमाण संकलन गरेर उद्योगका लेखा शाखासँग रुजु गराई भुक्तानी गराएका हुन् ।

अग्रवालमाथि मुद्दा परेपछि जिल्ला प्रशाासन कार्यालयमार्फत ५ सय ७५ किसान र जिल्ला प्रहरीमार्फत ४ सय ४१ जना गरी १ हजार ५९ किसानले भुक्तानी दिलाइदिन उजुरी दिएका थिए । जसअनुसार किसानहरूको खातामा २२ करोड ३३ लाख ४ हजार ६६ रुपैयाँ भुक्तानी भएको छ । यसमध्ये केहीको बैंक खाताका कारण भुक्तानी रोकिएको छ । उनीहरूको पनि यस महिनाभित्र भुक्तानी गराइसक्ने जिल्लाका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

सरकारले गतवर्ष उखुको प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ उद्योगले र ६५ रुपैयाँ भ्याट छुटबापतको रकम गरेर ५ सय ३६ रुपैयाँ मूल्य तोकेको थियो । तर अन्नपूर्णले उद्योगबाट किसानलाई ४ सय ३५ रुपैयाँ मात्र उपलब्ध गराएको छ । किसानले भने सरकारले तोकेको रकममा पनि मिल मालिकले प्रतिक्विन्टल ३६ रुपैयाँ कम दिएको गुनासो गरे । भ्याट छुटबापतको रकम प्रतिक्विन्टल ६५ रुपैयाँ पनि पाउन सकेका छैनन् । ‘हामीलाई सरकारले तोकेको रकम दिनुपर्छ,’ धनकौलका किसान सञ्जीव सिंहले भने, ‘किसानको पूरै भुक्तानी नभए उद्योग चल्न त परै जाओस्, हामी आन्दोलन गर्न बाध्य हुन्छौं ।’

उद्योग प्रशासनले भने सरकारले तोकेको मूल्यभन्दा प्रतिक्विन्टल ३६ रुपैयाँ कम दिने किसानहरूसँग सहमति भएको दाबी गरेको छ । सहमतिअनुसार नै चलान पुर्जीमा ४ सय ३५ रुपैयाँ उल्लेख भएको उद्योगले जनाउँदै आएको छ । चलानमा उल्लेख भएअनुसारको रकम किसानलाई भुक्तानी गराइएको प्रहरी उपरीक्षक राठौरले बताए ।

यस क्षेत्रमा किसानको संरक्षकको रूपमा प्रतिनिधित्व गरिरहेका राकेशकुमार मिश्रले अन्नपूर्ण चिनी उद्योग र सरकारका तर्फबाट गरी झन्डै चार करोड रुपैयाँ अझै बाँकी रहेको दाबी गरे । चार वर्षदेखि किसानसँग खरिद गरेको उखुको भुक्तानीमा झमेला भएको हो । यही कारणले कतिपय किसानले भुक्तानीमा झमेला भएपछि उखु खेती नै छाडेका छन् ।

केहीले हरिवनस्थित इन्दुशंकर चिनी उद्योग तथा बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु बिक्री गर्दै आएका छन् । किसानको बक्यौता राखेका अन्नपूर्ण भने दुई वर्षदेखि सञ्चालनमै आउन सकेको छैन ।

मिल मालिक अग्रवालले उद्योग बिक्री गरिसकेका छन् । तर भुक्तानी झमेलाकै कारण नयाँ सञ्चालकले मिल चलाउन सकेका छ्रैनन् ।

प्रकाशित : वैशाख २१, २०७८ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?