कतै तयारी, कतै बेवास्ता- प्रदेश २ - कान्तिपुर समाचार

कतै तयारी, कतै बेवास्ता

पर्सामा आइसोलेसनको छैन सुरसार, रौतहटका तीन स्थानमा कोभिड अस्पताल सञ्चालन गरिँदै
शिव पुरी, शंकर आचार्य

रौतहट, पर्सा — रौतहटमा विभिन्न स्थानीय तहमा तत्काल ७१ बेडको कोभिड अस्पताल सञ्चालनको तयारी थालिएको छ । जिल्लास्थित कोभिड संकट व्यवस्थापन समितिको बैठकले पालिकाहरूमा कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।

तीन सातायता संक्रमितको संख्या लगातार बढेपछि समितिको बैठकले पहिलो चरणमा चन्द्रपुर नगरपालिका २ स्थित सहिद स्मृति पार्कमा अक्सिजनसहितको ४६ बेडको कोभिड अस्पताल सञ्चालनको तयारी गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । अक्सिजनसहितको एचडीयू बेड, आईसीयू र भेन्टिलेटरसमेतको व्यवस्था गरेर अस्पताल सञ्चालन हुन लागेको हो ।

‘गौर अस्पतालमा संक्रमितको उपचारका लागि तत्काल १० बेडको आईसीयू, ४ भेन्टिलेटर र १५ वटा एचडीयू बेड सञ्चालन हुनेछ,’ प्रजिअ यादवले भने, ‘आवश्यक सबै तयारीहरू अन्तिम चरणमा पुगेको छ । अब संक्रमितलाई उपचारमा समस्या हुँदैन ।’ गौर अस्पतालको माथिल्लो तल्लामा कोभिडका बिरामीका लागि एचडीयू बेड, आईसीयू र भेन्टिलेटरसहितको कक्ष तयार गरेको छ । यता गौर नगरपालिकाले गौर नर्सिङ इन्स्टिच्युटमा १० बेडको छुट्टै कोभिड अस्पताल सञ्चालन गर्न लागेको मेयर अजय गुप्ताले बताए ।

चन्द्रनिगाहपुरमा रहेको अस्थायी कोभिड अस्पताल (आइसोलेसन वार्ड) चन्द्रपुर, वृन्दावन, गढीमाई र गुजरा नगरपालिकाको ७० लाख लगानीमा तयार गरिएको छ । त्यहाँ बसेका संक्रमित निको भएर घर फर्केपछि बन्द गरिएको थियो । अहिले बजेट अभाव भन्दै नगरप्रमुख रामचन्द्र चौधरी पन्छिएपछि प्रशासनले सञ्चालन गर्न भनेको हो । ‘अब अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन गर्छौं,’ यादवले भने ।

सरकारले होम आइसोलेसनको अवधारणा ल्याएकाले तत्कालका लागि सबैभन्दा जरुरी देखिएको स्वास्थ्य सुरक्षाका लागि कोभिड अस्पतालको व्यवस्थापनमा जोड दिएको प्रशासनको भनाइ छ । जिल्लामा तीन स्थानबाहेक १५ वटा नगरपालिकाहरूले ५/१० बेडको कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको प्रजिअ यादवले सुनाए । अघिल्लो वर्ष कोरोना संक्रमितका लागि आइसोलेसन र बाहिरबाट आएकालाई बस्नका लागि क्वारेन्टाइन सञ्चालन गर्न स्थानीय तह हौसिएको थियो । यस पटक बजेट अभाव भन्दै पन्छिन थालेपछि प्रजिअ यादवले जिल्लाभरिका स्थानीय तहका प्रमुखलाई कार्यालयमा बोलाएर नियन्त्रणमा सक्रिय रूपमा लाग्न भनेका थिए । त्यसपछि नगरप्रमुखहरूले चासो देखाएका हुन् । पछिल्लो समय रौतहटमा १ सय ५५ जना संक्रमित पुष्टि भइसकेका छन् ।

समुदायस्तरमै कोरोना भाइरसको महामारी फैलिए पनि पर्साका स्थानीय तहले अझै क्वारेन्टाइन र आइसोलेसन बनाउन तत्परता देखाएका छैनन् । पर्साका १४ स्थानीय तहमध्ये वीरगन्ज महानगरपालिकामा मात्र बढी संक्रमित देखिएका छन् । महानगरले पनि यसपटक आइसोलेसन सेन्टर र क्वारेन्टाइन बनाएको छैन । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले हालसम्म पर्साका कुनै पनि स्थानीय तहले आइसोलेसन वा क्वारेन्टाइन सञ्चालन नगरेको बताए । ‘सखुवा प्रसौनी गाउँपालिकाले अक्सिजनको सुविधासहितको आइसोलेसन निर्माण गरिरहेको र त्यो केही दिनमै सञ्चालनमा आउने सूचना आएको छ,’ उनले भने ।

यता, वीरगन्जका होटल व्यवसायीले भने आइसोलेसन र क्वारेन्टाइन बनाउन सक्रियता देखाएका छन् । वीरगन्जको होटल विजय ज्योतिले एक सातायता सशुल्क आइसोलेसन सञ्चालनमा ल्याएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले जानकारी दिए । ‘आवश्यक परे अन्य होटललाई पनि आइसोलेसन बनाउने तयारी छ,’ उनले भने ।

नारायणी अस्पताल प्रयोगशालामा शुक्रबार कुल २ सय ८० जनाको स्वाब परीक्षण गर्दा १ सय ९३ जनामा कोरोना पोजिटिभ देखिएको थियो । शनिबार १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा १ सय ४५ जनामा र आइतबार १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा १ सय ४ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

यसअघि कुल परीक्षणको ७० प्रतिशत बढीमा कोरोना संक्रमण देखिने गरेकोमा हाल त्यो दर घटेर ५० देखि ६० प्रतिशतको हाराहारीमा छ । नारायणी अस्पतालमा सोमबार ६१ कोरोना संक्रमित उपचारार्थ भर्ना रहेको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । तीमध्ये ११ जनालाई भेन्टिलेटरमा र अन्यलाई अक्सिजन दिएर राखिएको उनले बताए ।

वीरगन्जस्थित सीमाको हेल्थ डेस्कमा सोमबार एकै दिन एक दर्जन संक्रमित भेटिएका छन् । सोमबार मध्याह्न १२ बजेसम्म पहिलो चरणको जाँचको क्रममा ४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । संक्रमितहरू भारतका विभिन्न राज्य तथा सहरबाट फर्किएका हुन् । चैत २३ देखि सीमामा हेल्थ डेस्कमा एन्टिजेन परीक्षण सुरु गरिएको थियो । सोमबारसम्म १ हजार ३ सय ७२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको छ । तीमध्ये ६९ भारतीय र ६४ नेपाली हुन् ।

पालिका सिलप्रति प्रशासन असन्तुष्ट

कोरोना संक्रमण नियन्त्रणका लागि सर्लाहीको हरिवन नगरपालिकाले पाँच दिनका लागि नगर सिल गरेको निर्णयप्रति प्रशासनले असन्तुष्टि जनाएको छ । संक्रमणको पुष्टि नहुञ्जेल पुरै बन्द गर्न नमिल्ने प्रशासनले जनाएको हो ।

नगरले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढ्न थालेको भन्दै सर्वदलीय बैठकबाट मंगलबारदेखि शनिबारसम्म आफ्नो क्षेत्र सिल गर्ने निर्णय गरेको छ । तर, प्रशासनले भने पालिकालाई स्वास्थ्य सतर्कताका मापदण्ड लागू गराउनुपर्ने जनाएको छ । सेवा बन्द गर्न आफूसँग समन्वय गर्नुपर्ने प्रशासनको भनाइ छ । त्यसैले नगरको निर्णय कार्यान्वयनमा समस्या हुने भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षणका बिरामी हरिवनको घरघरमै रहेको जानकारी पालिकास्थित स्वास्थ्य शाखामा आएको थियो । कोरोनाको बढ्दो जोखिमलाई ब्रेक गर्नका लागि नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय, हाटबजारलगायतका क्षेत्र बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख गणेश प्रसाइँले जारी गरेको सूचनामा उल्लेख छ ।

मेयर प्रसाईंले कोरोनासँगको लडाइमा प्रमुख जिल्ला अधिकारी बाधक बनेको गुनासो गरे । ‘कोरोनासँग मिल्दोजुल्दो लक्षणका बिरामी घरघरमै देखिन थालेपछि सबै सेवा ठप्प पार्ने हाम्रो निर्णय छ, निर्णयअनुसार अघि बढ्छौं,’ उनले भने । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले स्थानीय तहले स्वास्थ्य सतर्कताका मापदण्ड लागू गराउनुपर्ने जनाए । उनले पालिकालाई संक्रमित भएको शंका लागे जाँच गराएर पुष्टि भएको आधारमा मात्र जिल्ला प्रशासनको समन्वयमा बन्द गराउनुपर्ने तर्क गरे ।

प्रकाशित : वैशाख २१, २०७८ १४:००
प्रतिक्रिया
पठाउनुहोस्

दुई वर्षदेखि पुल अलपत्र

शिव पुरी

रौतहट — बर्खामा आउजाउ नै रोकिने भन्दै चन्द्रपुर ३ का स्थानीयले चाँदी खोलाको पुल निर्माण चाँडो सक्न दबाब दिएका छन् । उनीहरूले सडक डिभिजन कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् । 

ठेकेदारले कछुवा गतिमा पुल निर्माण गरिरहेको स्थानीयको भनाइ छ । निर्माणको गति नबढाए सडक कार्यालयमै धर्ना दिने स्थानीयले तयारी गरेका छन् । पुलको २०७४ असार ३१ गते ठेक्का सम्झौता भई २०७६ असार ३१ गते सक्नुपर्ने थियो । तर, अझै पुलको काम बाँकी रहेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । उनीहरूले ठेकेदारलाई कारबाही गर्नुपर्ने माग गरे ।

गैंडाटारका स्थानीयलाई चाँदी खोला तरेर चन्द्रनिगाहपुर आउन कठिन हुन थालेपछि त्यहाँ पुल निर्माणको ठेक्का लागेको थियो । ठेकेदारले पुल बनाउन ढिलाइ गरेपछि स्थानीयले दबाब दिन संघर्ष समिति गठन गरेका छन् । समितिका प्रतिनिधि राजु धामीले ठेकेदारको लापरबाहीका कारण समयमा पुल बन्न नसकेको र सम्बन्धित निकायले पहल गरेर चाँडै काम सकोस भनेर दबाबका लागी ज्ञापनपत्र बुझाएको बताए ।

‘अहिलेसम्म पुलको पिलर हेर्दै खोल तर्नुपर्ने अवस्था छ । अब केही समय कुर्छौं । ठेकेदारले तीव्र गतिमा काम गर्छ/गर्दैन हेर्छौं,’ उनले भने, ‘त्यसपछि सम्बन्धित निकायमा धर्ना दिन्छौं । ठेकेदारलाई कारबाही गर्न दबाब दिन्छौं ।’

पुल निर्माणस्थलमा कुनै किसिमको विरोध नभए पनि ठेकेदारले कामै गरेको छैन् । चन्द्रपुर बजारसित जोड्ने पुलको निर्माण पप्पु कन्स्ट्रक्सन र शिवशंकर जेभीले जिम्मा लिएको हो । अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको छ । जेभीले ठेक्का नम्बर ५३ को २५ करोड ३६ लाखमा २४ हजारमा सकारेको हो । वर्षाका बेला वारपार गर्न कठिन हुँदै आएका स्थानीयले अहिलेसम्म पुलको पिलरबाहेकको काम देख्नै पाएका छैनन् ।

सम्झौता अनुसार निर्माण कार्य नसकिएपछि पहिलो पटक साधारण खरिद नियमावली (नवौं संशोधन) अनुसार डेढ वर्षका लागि म्याद थपिएको थियो । थपिएको म्यादअनुसार गत पुस १४ मा निर्माण कार्य सक्नुपर्नेमा ठेकेदारले कोरोना, लकडाउनलगायत विभिन्न बहाना गर्दै काम सकेन ।

दोस्रो पटक सरकारको गत माघ ११ को निर्णयअनुसार कोभिड–१९ को कारण देखाई ६ महिना म्याद थप गरिएको छ । अब ठेकेदारले आगामी असार १३ गतेसम्म निर्माण सक्नुपर्ने हुन्छ । बल्लतल्ल ठेकेदारले काम थालेको सडक डिभजिन चन्द्रनिगाहपुरका इन्जिनियर रामनरेश केसरीले बताए । ‘काम निकै सुस्त गतिमा गर्न थालेको छ,’ उनले भने, ‘समयमा काम सक्न जति दबाब दिए पनि टेरेको छैन ।’

ठेकेदार कम्पनीका सञ्चालक दयाराम साहले बजेट,वर्षा, निर्माण सामग्रीको अभाव तथा विभिन्न कारणले निर्माणमा ढिलाइ भएको बताए । ‘प्राविधिक कारणले ढिला हुन गएको हो,’ उनले भने, ‘काम गर्दैछु । अब चाँडै सक्छु । आन्तरिक समस्याले समयमा निर्माण सकिएन ।’ १० वटा पिलर र ११ वटा स्पानको काम थालिएको छ । गैंडाटारका वडाध्यक्ष रवि देवकोटाले अब पनि ठेकेदारले काम गर्न आनाकानी गरे संघर्षमा उत्रने चेतावनी दिए ।

प्रकाशित : वैशाख २१, २०७८ १३:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×