१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोरोना महामारीसँग जुध्‍न ४ सय १७ अस्थायी दरबन्दी थप गर्ने प्रदेश २ सरकारको निर्णय

सन्तोष सिंह

धनुषा — प्रदेश २ सरकारले कोरोना महामारीसँग जुध्‍न प्रदेशभरका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीसँग जुध्‍न ४ सय १७ अस्थायी दरबन्दी थप गर्ने प्रदेश २ सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १ सय ७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२/३२ लहान अस्पतालका लागि २३, र भारदह तथा पोखरिया अस्पतालका लागि १५/१५ दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

कोरोना विशेष अस्पतालका लागि थप गरिएको दरबन्दीहरुमा एनेस्थेसियोलोजिष्टदेखि स्वीपरसम्म छन् । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्ले जनकपुरको मणिपालमा निर्माण गर्न लागेको विशेष कोभिड अस्पतालका लागि थप २ सय २७ दरबन्दी स्वीकृत गरेको छ । प्रदेश सरकारले मणिपालमा २० बेड आईसीयूसहित एकसय बेडको विशेष कोभिड अस्पताल निर्माण गर्न लागेको हो ।

बैठकले कोरोना महामारीसँग जुध्‍न प्रदेश सरकारका मन्त्रीहरुलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्रीसमेत निर्धारण गरेको छ । सप्तरी जिल्लाका लागि भूमि,व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागि आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग पर्यटन तथा वनमन्त्री राम नरेश राय र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

जिम्मेवारी तोकिएका मन्त्रीहरु सम्बन्धित जिल्ला र प्रदेश सरकारकाबीच कोरोना महामारी नियन्त्रणका लागि पुलको रुपमा काम गर्ने छन् । मन्त्रिपरिषद्को बैठकले यसअघि पीसीसीएमसीको बैठकले गरेको निर्णयहरुलाई अनुमोदन समेत गरेको छ ।

प्रकाशित : वैशाख २०, २०७८ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?