कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

स्वास्थ्यकर्मीको पुरानै तलबभत्ता बाँकी

प्रदेश सरकारले फेरि काममा बोलाएपछि अन्योलमा
सन्तोष सिंह

धनुषा — जनकपुरस्थित कोरोना अस्पतालमा गतवर्ष काम गरेका स्वास्थ्यकर्मीले अझै तलबभत्ता पाएका छैनन् । गतवर्षकै तलबभत्ता भुक्तानी नहुँदा दोस्रो लहरको कोरोना भाइरस रोकथाम र उपचारमा स्वास्थ्यकर्मी खटिन हच्किरहेका छन् ।

स्वास्थ्यकर्मीको पुरानै तलबभत्ता बाँकी

प्रादेशिक कोभिड विशेष अस्पतालमा काम गर्ने १ सय २ जना स्वास्थ्यकर्मीको ५ महिनाको जोखिम भत्ता र १ महिना ४ दिनको तलब नपाएको डा. कृष्णा साहले बताए । प्रदेश सरकारले करारमा नियुक्त गरेर काममा लगाएको उनले जानकारी दिए ।

पुरानो भुक्तानी रोकेर राखेको प्रदेश सरकारले फेरि संक्रमण फैलिन थालेपछि स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हेल्थ असिस्टेन्ट मुकेशकुमार सिंहले बताए । ज्यान जोखिममा राखेर महिनौं दिन अस्पतालमा बसेर काम गरे पनि तलबभत्ता भुक्तानी नगरेको सरकारले फेरि काममा बोलाएपछि अन्योलमा परेको उनले बताए । ‘सरकारले भुक्तानी गरे स्वास्थ्यकर्मीको नाताले संकट परेको समयमा काम गर्नुको विकल्प छैन,’ उनले भने ।

कोरोना विशेष अस्पतालमा जनकपुर प्रादेशिक अस्पतालका विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मी करारमा राखिएको थियो । तलबभत्ता माग्दै उनीहरूले जनकपुरमा प्रदर्शनसमेत गरेका थिए । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले सामाजिक विकास मन्त्रालयका सचिवले भुक्तानी अड्काइदिँदा स्वास्थ्यकर्मीलाई समयमै तलबभत्ता दिन नसकिएको स्विकारे । उनले हालै मन्त्रिपरिषद्स्तरीय निर्णय गरेर भुक्तानी प्रक्रिया अगाडि बढिसकेको बताए । प्रदेश २ सरकारको ढिलासुस्तीका कारण प्रादेशिक अस्पताल जनकपुरले अझै कोभिड अस्पताल सञ्चालनमा ल्याउन सकेका छैन । कर्मचारी अभाव र बजेट अभावमा प्राविधिक काम नहुँदा कोभिड अस्पताल अलपत्र छ । प्रादेशिक अस्पतालकै परिसरमा रहेको जनकपुर नर्सिङ कलेजमा कोभिड अस्पताल सञ्चालनको तयारी छ । गतवर्ष नर्सिङ कलेजमा आइसोलेसन सेन्टर सञ्चालन गरिएको थियो ।

कोभिड अस्पताल निर्माणमा ढिलाइ भएपछि तत्काल १० शय्याको एचडीयू सञ्चालन गरिएको छ । प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोद यादवले ३८ एचडीयू बेड र २५ आईसीयू बेड भएको कोभिड अस्पताल सञ्चालनको तयारी भइरहेको बताए । तत्काल १० बेडको एचडीयू र १२ बेडको आईसीयू सञ्चालनमा आएको र बेड थप्ने तयारीमा रहेको उनको भनाइ छ । कोभिड अस्पतालका लागि छुट्याएका चार भेन्टिलेटरमध्ये एउटा बिग्रेकाले मर्मतका लागि पठाइएको उनले बताए । अस्पतालमा अक्सिजनको अभाव नहुने यादवले दाबी गरे । प्रादेशिक अस्पतालसँग १ सय २३ अक्सिजनका सिलिन्डर तयारी अवस्थामा रहेको र अक्सिजनको अभाव हुन नदिन अक्सिजनका थप ५ सय सिलिन्डर खरिद प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

प्रदेश सरकारले थप अक्सिजन सिलिन्डर र रेम्डेसिभिर खरिद गर्ने निर्णय गरेको छ । प्रदेशका १३ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिन्डर भण्डारण गर्न कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ५/५ लाख रुपैयाँ उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको हो । रेम्डेसिभिर १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई प्रदेश सरकारले सहमति दिएको छ ।

प्रकाशित : वैशाख १९, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?