२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी

भरत जर्घामगर

सिरहा — सिरहाका विभिन्न स्थानका युवाबाट लाखौं रकम ठगी गरी सप्तरीका एक जना फरार भएका छन् । विदेशमा आकर्षक तलबसहितको रोजगारी दिलाइदिने प्रलोभन देखाई सप्तरीको रुपनी गाउँपालिका–६ का समसुद्धिन मियाँले लाखौं रकम ठगी गरी फरार भएको जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुझाइएको उजुरीपत्रमा उल्लेख छ ।

ठगीमा परेकाहरूमध्येका १८ जनाले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा संयुक्त रूपमा उजुरी दिएपछि ठगी घटना बाहिरिएको हो । ठगी गर्ने व्यक्ति सप्तरीका भएकाले न्यायका लागि आप्रवासी केन्द्रमार्फत जिल्ला प्रशासनसम्म पुगेको पीडित सिरहा धनगढीमाई नगरपालिका–३ का सतो कुमार कामतीले बताए ।

एक म्यानपावरको एजेन्ट बताउने समसुद्धिनले विदेशमा आकर्षक तलबसहितको रोजगारी उपलब्ध गराइदिने भन्दै आफूसहित १८ जनासँग ६ लाख ४० हजार रुपैयाँ ठगी गरी फरार भएको बताए । कतारमा अलवदा कम्पनीमा कामदारका रूपमा मासिक नेपाली ६० हजार रुपैयाँ तलब हुन्छ भनेपछि सतोले एक लाख रुपैयाँ ऋण काढेर गत वर्ष फागुनमा समसुद्धिनलाई बुझाएका थिए । तर वर्ष दिनभन्दा बढी बितिसक्दासमेत फोन सम्पर्कबाट बाहिरिएपछि आफूहरू ठगिएको चाल पाएको सतोले बताए । ‘विदेशमा राम्रो कमाइ हुन्छ, दुई महिनाभित्र विदेश पठाइदिन्छु भनेपछि सयकडा पाँच रुपैयाँ ब्याज बुझाउने गरी छिमेकीबाट ऋण काढेर समसुद्धिनलाई बुझाए,’ उनले भने, ‘विदेश जान त परको कुरा, ब्याज मात्रै १ लाख पुग्न लागिसक्यो, ऋण कसरी तिर्ने पिरलो छ, छिमेकीले ताकेता गरेको गर्‍यै छ ।’ सम्पत्तिको नाममा सतोको १२ कट्ठा मात्र जग्गा छ ।

सतोसँगै सोही टोलकै रवि कामती, केशवकुमार कामतीले समसुद्धिनलाई जनही विदेश जानका लागि १/१ लाख रुपैयाँ बुझाएका थिए । रवि गाउँघरमा काठ मिस्त्रीको काम गरेर गुजारा चलाउँछन् । ४ कट्ठा मात्र जग्गाजमिन छ । समसुद्धिनले छोरा इजाद खान कतारमा राम्रो तलबसहित काम गरिरहेको प्रलोभन देखाएर आफूहरूलाई ठगी गरेको सुखीपुर नगरपालिका–३ का श्याम यादवले बताए । ‘पैसा दिएपछि सुरुमा मेडिकल गराएपछि समसुद्धिन पछिल्लो पटक सम्पर्कविहीन भए,’ श्यामले भने ।

यसरी ठगीमा पर्नेहरूमा सिरहा जिल्लाकै वीरेन्द्र यादव, बैजनाथ सदा, शैलेन्द्र यादव, ओमप्रकाश महतो, रामबलन साफीलगायत १८ जना छन् । उनीहरूबाट ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म ठगी गरिएको छ । न्याय खोज्दै सिरहाबाट सप्तरी पुगेका पीडित युवाहरूलाई सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा सञ्चालित आप्रवासी स्रोत केन्द्रले कानुनी परामर्शसहितको सहयोग उपलब्ध गराएको हो । पीडितहरूका तर्फबाट केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालयमा उजुरीपत्र बुझाइएको छ । उजुरीका आधारमा तत्कालै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित : वैशाख १८, २०७८ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?