वैदेशिक रोजगारीको प्रलोभनमा ठगी- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी

भरत जर्घामगर

सिरहा — सिरहाका विभिन्न स्थानका युवाबाट लाखौं रकम ठगी गरी सप्तरीका एक जना फरार भएका छन् । विदेशमा आकर्षक तलबसहितको रोजगारी दिलाइदिने प्रलोभन देखाई सप्तरीको रुपनी गाउँपालिका–६ का समसुद्धिन मियाँले लाखौं रकम ठगी गरी फरार भएको जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुझाइएको उजुरीपत्रमा उल्लेख छ ।

ठगीमा परेकाहरूमध्येका १८ जनाले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा संयुक्त रूपमा उजुरी दिएपछि ठगी घटना बाहिरिएको हो । ठगी गर्ने व्यक्ति सप्तरीका भएकाले न्यायका लागि आप्रवासी केन्द्रमार्फत जिल्ला प्रशासनसम्म पुगेको पीडित सिरहा धनगढीमाई नगरपालिका–३ का सतो कुमार कामतीले बताए ।

एक म्यानपावरको एजेन्ट बताउने समसुद्धिनले विदेशमा आकर्षक तलबसहितको रोजगारी उपलब्ध गराइदिने भन्दै आफूसहित १८ जनासँग ६ लाख ४० हजार रुपैयाँ ठगी गरी फरार भएको बताए । कतारमा अलवदा कम्पनीमा कामदारका रूपमा मासिक नेपाली ६० हजार रुपैयाँ तलब हुन्छ भनेपछि सतोले एक लाख रुपैयाँ ऋण काढेर गत वर्ष फागुनमा समसुद्धिनलाई बुझाएका थिए । तर वर्ष दिनभन्दा बढी बितिसक्दासमेत फोन सम्पर्कबाट बाहिरिएपछि आफूहरू ठगिएको चाल पाएको सतोले बताए । ‘विदेशमा राम्रो कमाइ हुन्छ, दुई महिनाभित्र विदेश पठाइदिन्छु भनेपछि सयकडा पाँच रुपैयाँ ब्याज बुझाउने गरी छिमेकीबाट ऋण काढेर समसुद्धिनलाई बुझाए,’ उनले भने, ‘विदेश जान त परको कुरा, ब्याज मात्रै १ लाख पुग्न लागिसक्यो, ऋण कसरी तिर्ने पिरलो छ, छिमेकीले ताकेता गरेको गर्‍यै छ ।’ सम्पत्तिको नाममा सतोको १२ कट्ठा मात्र जग्गा छ ।

सतोसँगै सोही टोलकै रवि कामती, केशवकुमार कामतीले समसुद्धिनलाई जनही विदेश जानका लागि १/१ लाख रुपैयाँ बुझाएका थिए । रवि गाउँघरमा काठ मिस्त्रीको काम गरेर गुजारा चलाउँछन् । ४ कट्ठा मात्र जग्गाजमिन छ । समसुद्धिनले छोरा इजाद खान कतारमा राम्रो तलबसहित काम गरिरहेको प्रलोभन देखाएर आफूहरूलाई ठगी गरेको सुखीपुर नगरपालिका–३ का श्याम यादवले बताए । ‘पैसा दिएपछि सुरुमा मेडिकल गराएपछि समसुद्धिन पछिल्लो पटक सम्पर्कविहीन भए,’ श्यामले भने ।

यसरी ठगीमा पर्नेहरूमा सिरहा जिल्लाकै वीरेन्द्र यादव, बैजनाथ सदा, शैलेन्द्र यादव, ओमप्रकाश महतो, रामबलन साफीलगायत १८ जना छन् । उनीहरूबाट ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म ठगी गरिएको छ । न्याय खोज्दै सिरहाबाट सप्तरी पुगेका पीडित युवाहरूलाई सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा सञ्चालित आप्रवासी स्रोत केन्द्रले कानुनी परामर्शसहितको सहयोग उपलब्ध गराएको हो । पीडितहरूका तर्फबाट केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालयमा उजुरीपत्र बुझाइएको छ । उजुरीका आधारमा तत्कालै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित : वैशाख १८, २०७८ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्

कोभिड अस्पताल पुनः सञ्चालन गर्दै पालिका

गतवर्ष बनाइएका २० बेड क्षमताको आइसोलेसन भताभुंग, प्रयोगमा नआएका कोभिड अस्पताल सञ्चालनमा आउने
प्रदेश ब्युरो

पोखरा — पहिलो लहरको कोरोनामा जसरी समुदायमा संक्रमण फैलन नदिन र संक्रमितका लागि आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गरेका स्थानीय तहले दोस्रो लहरमा सोहीअनुरूपको तयारी नगरेको भन्दै आवाज उठ्न थालेपछि बल्ल पहल थालिएको छ ।

बागलुङको तमानखोला गाउँपालिकाले कोरोना अस्पतालको रूपमा सञ्चालन तयारी गरेको बोङगादोभान स्वास्थ्य चौकी । तस्बिर : प्रकाश/कान्तिपुर

पहिले गाउँगाउँमा बनाइएका कोभिड अस्पताल र आइसोलेसन सञ्चालनमा छैनन् । सबै स्थानीय तहमा कम्तीमा ५ बेड क्षमताको कोरोना अस्पतालको व्यवस्था हुनुपर्ने पूर्ववत् योजनालाई पुनः सक्रिय बनाउन स्थानीय तह तात्न थालेको हो ।

गत मंसिर १५ मा लमजुङको राइनास नगरपालिका–४ चक्रतीर्थ तीनपिप्लेमा ५ शैय्याको कोभिड अस्पताल बन्यो । स्थानीय स्वास्थ्य चौकीमा अस्पतालको उद्घाटन गरिए पनि बेड भने सामुदायिक वनको भवनमा राखियो । नगरपालिकाले एक जना एमबीबीएस डाक्टर, २ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गर्‍यो । कोरोना संक्रमित उपचारमा भने आएनन् ।

संघीय सरकारले तलबको लागि पठाएको ४ लाख ५० हजार रुपैयाँ सकिएपछि चैतबाट म्याद थप भएन । नगरपालिकाले पछि आवश्यक पर्दा बोलाउने भनी डाक्टर, नर्सलाई बिदा गर्यो । कर्मचारी र विरामी दुवै नभएपछि कोभिड अस्पतालको २ बेड पनि स्वास्थ्य चौकीले लगेको छ । नगर स्वास्थ्य शाखा सहसंयोजक लक्ष्मीप्रसाद सेढाईंका अनुसार थप ४ लाख ५० हजार रुपैयाँ माग भएको छ ।

मध्यनेपाल नगरपालिकाले निबुवाटारीस्थित सूर्यज्योति माविको भवनमा अस्थायी कोभिड अस्पताल स्थापना गर्‍यो । अस्पतालका लागि नगरपालिकाले १ एमबीबीएस डाक्टर, २ नर्स र १ जना कार्यालय सहयोगी भर्ना गर्‍यो । तर, कोभिडका बिरामी आएनन् । उक्त अस्पतालमा अहिले स्वास्थ्यकर्मी बस्दैनन् । संघीय सरकारले पठाएको बजेट सकिएपछि नगरपालिकाले नै तलब व्यवस्थापन गरीरहेको छ ।

नगर स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलका अनुसार कोभिड अस्पतालका लागि नियुक्त डा.सुशील पौडेल जेष्ठ नागरिक घरदैलो कार्यक्रममा खटिएका छन् । एक नर्सलाई स्वास्थ्य संस्थामा काजमा राखिएको छ । एक स्टाफ नर्स र कार्यालय सहयोगी भने कोभिड अस्पतालमै रहेको उनले जनाए ।

सबैखाले सेवासुविधा नहुँदा अस्पतालमा भर्ना भए पनि संक्रमितले सहज उपचार सेवा नपाउने देखिएको छ । राइनास नगरप्रमुख सिंहबहादुर थापाले ५ बेडको कोभिड अस्पताल तयारी अवस्थामा रहेको बताए । मध्यनेपाल नगरप्रमुख रमेशकुमार पाण्डेले संघीय सरकारले पठाएको रकम सकिएपछि कोभिड अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीलाई नगरपालिकाले नै व्यवस्थापन गरी राखिएको बताए ।

लमजुङको राइनास नगरपालिका-४, चक्रतीर्थ तीनपिप्लेस्थित अस्थायी कोभिड अस्पताल भनी उद्घाटन गरिएको चक्रतीर्थ स्वास्थ्य चौकी । तस्बिर: कान्तिपुर

बेंसीसहर र सुन्दरबजार नगरपालिकामा भने अस्पताल रहेका कारण कोभिडको छुट्टै अस्पताल छैन । संघीय सरकारको निर्देशनअनुरूप स्थानीय तहले बनाएका कोभिड अस्पतालमा अहिले स्वास्थ्यकर्मी कर्मचारी छैनन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले स्थानीय तहलाई कोभिड अस्पताललाई चालू अवस्थामा राख्न निर्देशन दिएको बताए ।

म्याग्दीमा कोरोना संक्रमण बढ्दै गए पनि बेनी अस्पतालमा गतवर्ष स्थापना गरिएको ५ बेड क्षमताको आईसीयू सेवा बन्द छ । अस्पतालमा ४ भेन्टिलेटर र सवै बिरामीको बेडसम्म पाइपसहित अक्सिजन प्लान्ट सञ्चालनमा छ । तर भवनसमेतको पूर्वाधार र आवश्यक जनशक्ति नभएको भन्दै २ बेडको प्रिआइसोलेसनबाहेक अरू सेवा बन्द गरेको हो ।

कोरोना संक्रमित राख्न सदरमुकाममा गतवर्ष बनाइएको २० बेड क्षमताको आइसोलेसन भताभुंग छ । ‘गतवर्षको आइसोलेसन अहिले छैन । उपकरण, स्वास्थ्यकर्मीसहित सिस्टम नै भताभुंग भएको छ,’ बेनी अस्पतालका प्रमुख डा.जितेन्द्र खनालले भने, ‘अस्पतालमा २ बेडको अस्थायी प्रिआइसोलेसन राखेका छौं । तर आइसोलेसन र आईसीयू सञ्चालन गर्ने जनशक्ति नहुँदा समस्या छ ।’

यसैबीच, जिल्ला विपद व्यवस्थापन समितिले गाउँपालिकामा स्थापना भएका कोरोना अस्पताललाई सक्रिय बनाउन थालेको छ । बेनी नगरपालिकाबाहेक सबै स्थानीय तहमा खुलेका ५ बेड क्षमताको कोरोना अस्पतालमा डाक्टर उपलब्ध भए पनि संक्रमण घटेसँगै फुर्सदमा थिए ।

‘कोरोना संक्रमण फैलिएसँगै हामी थप सजग भएका छौं,’ अन्नपूर्ण गाउँपालिकाको कोरोना अस्पतालकी डाक्टर लक्ष्मी पन्थीले भनिन्, ‘घरदैलो गरेर छिपेर रहेका संक्रमित पहिचान र समुदायमा सचेतना कार्यक्रम गरिरहेका छौं ।’ स्थानीय तहले गाउँका कोरोना अस्पतालमा सरकारी तलब स्केलमा आउन नमानेपछि मासिक एक लाख रुपैयाँसम्म तलब दिएर डाक्टरलाई राखेका छन् । ‘सदरमुकामको अस्पतालमा आईसीयू, आइसोलेसन सञ्चालन गर्न पनि आवश्यक बजेट खर्च गरेका छौं,’ धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन् ।

यतिबेला सहरबजारबाट गाउँ फर्किने बढेका छन् । हुलका हुल गाउँ पसेपछि संक्रमित बढ्ने देखेर बागलुङका स्थानीय तहले कोभिड अस्पताल सञ्चालनको तयारी थालेका छन् । संक्रमित बढेमा राख्ने कोठा, औषधि र अन्य व्यवस्थापकीय काम भइरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष अमरबहादुर श्रीषले बताए ।

ताराखोला गाउँपालिकाले पनि कोभिड अस्पताल सञ्चालन गरिरहेको छ । संक्रमितका लागि बेड, कपडा, पानी र अन्य व्यवस्थापनमा खटिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । बुधबार निसीखोलाका २ जनामा कोरोना पोजिटिभ भेटिएको छ । उनीहरूलाई कोरोना अस्पतालमा राखिने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । केही समयअघि स्थापना भए पनि प्रयोगमा नआएका कोभिड अस्पताल धमाधम सञ्चालनमा आउने भएका छन् । हरेक पालिकाले ती अस्पतालको पूर्वाधारमा व्यवस्थापन गरिरहेको बताए । बागलुङका १० मध्ये ९ पालिकाले कोभिड अस्पताल स्थापना गरेका थिए । सदरमुकाम बागलुङ नगरपालिकाले भने रात्माटामा आइसोलेसनको व्यवस्थापन गराएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

ताराखोला, बरेङ, तमानखोला र काठेखोला गाउँपालिकाले ५/५ बेड, जैमिनी, गलकोट, ढोरपाटन र बडिगाड नगरपालिकाले १५, १५ शैयाको र निसीखोलाले १० शय्याको अस्पताल बनाएका हुन् । तीबाहेक धौलागिरि अस्पतालमा २५ शय्याको आइसोलेसन रहेको र सदरमुकाममा थप २५ जना राख्न सक्ने क्षमताको आइसोलेसन गतवर्ष नै सञ्चालनमा थियो । ‘सक्रिय संक्रमित नभएकाले तयारी थिएन, अव हुन्छ,’ अध्यक्ष श्रीषले भने, ‘सामान्य अवस्थाका संक्रमितलाई यही उपचार गर्ने हो ।’

गलकोट नगरपालिकाले कोभिड अस्पतालबाहेक नरेठाँटी स्वास्थ्य चौकीमा पनि झन्डै २० संक्रमित राख्न सक्ने आइसोलेसन बनाएको वडा २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । गतवर्ष विद्यालय क्वारेन्टाइन र आइसोलेसन बनाएका पालिकाले यो वर्ष भने त्यस्तो तयारी गरेका छैनन् । ‘अहिले लक्षण नदेखिएका संक्रमितलाई घरमै बस्न लगाइएको छ,’ स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले भने, ‘खानपान, स्याहार र आत्मबलका लागि पनि घरमा बसेकाको राम्रो अवस्था देखियो ।’ जटिल समस्या देखिए मात्रै अस्पताल आउन उनले आग्रह गरे ।

गोरखाका स्थानीय तह पनि आइसोलेसन निर्माण तथा जनशक्ति व्यवस्थापनमा लागेका छन् । पहिलो चरणको कोरोना संक्रमणको वेला सञ्चालनमा रहेको आइसोलेसनलाई नै निरन्तरता दिने गरी काम अघि वढाइएको हो । गोरखा नगरमा ७, गण्डकी गाउँपालिकामा १०, आरुघाटमा १५, पालुङटार नगरपालिकामा २० र सिरानचोक गाउँपालिकामा ५ वेड क्षमताको आइसोलेसन सञ्चालन गर्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ । ‘जिल्लाभर ५७ बेड आइसोलेसन सञ्चालनका लागि प्रक्रिया सुरु भएको छ,’ स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले भने, ‘पूर्वाधार पहिलेका छन्, जनशक्ति स्थानीय तहले व्यवस्थापन गरेका छन् ।’

पालुङटार–४ को माल्तीगैरामा २० बेड क्षमताको आइसोलेसन तयारी अवस्थामा राखिएको र आवश्यक जनशक्ति पनि व्यवस्थापन गरिएको नगरपालिकाका कोरोना फोकल पर्सन दीपेन्द्र गिरीले बताए । ‘पुरानो आइसोलेसनलाई सञ्चालन गर्न लागेका हौँ,’ उनले भने, ‘सामान्य सरसफाइको काम सकेर तयारी अवस्थामा राखेका छौँ ।’ आइसोलेसनका लागि एक/एक मेडिकल अपिसर, प्यारामेडिक्स र स्टाफ नर्स खटाइने उनले बताए । सिरानचोकको जौवारीमा ५ वेड आइसोलेसन तयारी रहेको र ५ बेड थप्ने गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।

आश गुरुङ (लमजुङ), घनश्याम खड्का (म्याग्दी), प्रकाश बराल (बागलुङ) र हरिराम उप्रेती (गोरखा)

प्रकाशित : वैशाख १८, २०७८ १२:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×