कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा एकै परिवारका ११ जनामा कोरोना पुष्टि

अवधेश झा

राजविराज — सप्तरीमा आइतबार एकै परिवारका ११ जनासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका सबैमा लक्षण समेत देखिएको छ ।

सप्तरीमा एकै परिवारका ११ जनामा कोरोना पुष्टि

डाक्नेश्वरी नगरपालिका तरहीका एकै परिवारका ११ जनामा संक्रमण पुष्टि भएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रञ्जित झाले जानकारी दिए ।

तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना हुँदा उनको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो । वृद्ध महिलामा संक्रमण पुष्टि भएपछि उनको परिवारका १५ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको डाक्टर झाले जानकारी दिए ।

ती परिवारका ६० वर्षीय एक पुरुष केही दिनअघि मात्र भारतको राजस्थानबाट फर्किएको डाक्टर झाले जनाए । संक्रमित ११ जना होम आइसोलेसनमा छन् ।

मेसु डाक्टर झाका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा अस्पतालको आकस्मिक कक्षमा उपचाररत २ जना, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका १-१ जना मा संक्रमण पुष्टि भएको डाक्टर झाले जनाए ।

प्रकाशित : वैशाख १२, २०७८ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?