निर्माण रोकिएको ८ वर्षपछि फेरि ठेक्का- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माण रोकिएको ८ वर्षपछि फेरि ठेक्का

शिव पुरी

रौतहट — निर्माण कम्पनीले बीचमै काम रोकेपछि झन्डै ८ वर्षदेखि अलपत्र वाग्मती नदीको पुलको फेरि ठेक्का लगाउने प्रक्रिया थालिएको छ । दुर्गा भगवती गाउँपालिका–५ बडहर्वानजिक वाग्मतीमा बन्ने उक्त पुल हुलाकी सडक आयोजनाअन्तर्गत पर्छ ।

ठेकेदारले काम छोडेपछि अलपत्र रौतहट–सर्लाही जोड्ने वाग्मती पुल । तस्बिर : कान्तिपुर

रौतहट–सर्लाही जोड्ने यो पुलको काम रोकेर निर्माण कम्पनी लुम्बिनी बिल्डर्स प्रालिले गत वर्ष सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले पुलको हालकै अवस्थाबाट अर्को टेन्डरमार्फत काम गराउन आदेश दिएपछि प्रक्रिया थाल्न लागिएको हुलाकी सडक आयोजना पर्साका प्रमुख डीई दरोगा प्रसादले बताए ।

‘अब नयाँ प्रक्रियाबाट टेन्डर लगाएर काम सुरु गर्छौं । यसका लागि प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘अदालतको फैसलाको प्रतिलिपि आइसकेको छैन ।’ आयोजना प्रमुख, प्रमुख जिल्ला अधिकारी, निर्माण व्यवसायीहरू, सम्बन्धित गाउँपालिकाका अध्यक्ष, स्थानीयलगायतले बुधबार पुलको स्थलगत अवलोकनसमेत गरेका छन् ।

हुलाकी सडक आयोजना र समयमै ‘साइट’ उपलब्ध नगराइएकाले काममा ढिलाइ भएको लुम्बिनी बिल्डर्सको भनाइ छ । उसले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का सकारेको थियो । लुम्बिनीले सडक विभागसँग २०६७ जेठ ३१ मा सम्झौता गर्दै २०७० जेठ ३० सम्म पुल निर्माण गरिसक्ने बताएको थियो । डबल लेनको यो पुलको लम्बाइ ६३३ मिटर हुने सम्झौतामा उल्लेख थियो । पुलका सबै १७ वटा पिलर ठडिइसकेका छन् । हुलाकी सडक आयोजनाका अनुसार अहिलेसम्म ६० प्रतिशतको हाराहारीमा काम सकिएको छ । अब बाँकी काम नयाँ ठेक्कामार्फत गराइने प्रसाद बताउँछन् ।

निर्माण रोकिएकै अवस्थामा हुलाकी सडक निर्देशनालयको पहलमा अभियान कन्सलटेन्ट काठमाडौंले पुल निर्माणको ड्रोन क्यामेरामार्फत ‘रिभ्यु’ समेत गरेको थियो । ‘अब सुपर स्ट्रक्चरको काम मात्रै बाँकी छ,’ उनले भने । २०७० मा निर्माण रोकेर कम्पनीले एकतर्फी ठेक्का रद्द गरेको थियो । निर्माणकै क्रममा नदीले धार परिवर्तन गरेपछि काम बन्द गरिएको हो । साविकको स्थानभन्दा पूर्वतर्फ नदी बग्न थालेपछि निर्माण कम्पनीले डिजाइन गलत भएको भन्दै एकतर्फी ठेक्का रद्द गरेको पत्र पठाएको थियो । हुलाकी सडक निर्देशनालय काठमाडौंले पनि पुल निर्माण गरिएको भन्दा ८ सय मिटर पूर्वबाट नदी बग्न थालेपछि काम रोकिएको जनाएको छ ।

निर्देशनालयले फेरि काम सुरु गर्न निर्माण कम्पनीलाई पटक–पटक पत्राचार गरेको थियो । कम्पनी, निर्देशनालय र पुल महाशाखाका प्रतिनिधिबीच छलफलसमेत भएको थियो । तर लुम्बिनी बिल्डर्सका लंक केसीले निर्माणको समयसीमा सकिएकाले आफ्नो पक्षबाट ठेक्का तोडेको जनाए ।

समयमा पुल बनेको भए रौतहट र सर्लाहीका स्थानीयलाई आवतजावत गर्न सहज हुन्थ्यो । अहिले दुवै जिल्लाका मानिस डुंगा चढेर वारपार गर्छन् । वारि बतसपुर, बडहर्वा, राजदेवीलगायतका स्थानीय डुंगा चढेरै पारि खेतमा काम गर्न जान्छन् ।

प्रकाशित : वैशाख १०, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्

रिसइबी साध्न हत्या

भरत जर्घामगर

सिरहा — सौर्य सिमेन्ट उद्योगमा कार्यरत शिवकुमार यादवलाई उनकै काकाका छोराले हत्या गरेको खुलेको छ । मिर्चैया नगरपालिका–७ का २४ वर्षीय शिवको हत्या मृतकका आफ्नै काकाका छोरा २७ वर्षीय विष्णु यादव र उनका जेठान मिर्चैया–९ का २४ वर्षीय इन्द्रदेव यादवले गरेको स्वीकार गरेका प्रहरीले बताएको छ ।

उनीहरूलाई मंगलबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिवकुमारको शव हत्या भएको अवस्थामा गत चैत ९ गते बिहान मिर्चैया नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग छेउको आँपको बगैंचामा फेला परेको थियो । शिवकुमारको हत्याको ५ दिनपछि प्रहरीले दुवै अभियुक्त सार्वजनिक गरी अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएको थियो । शिवकुमारको हत्या आफूहरूले नै गरेको उनीहरूले बयान दिएका प्रहरीले बताएको छ ।

परिवारिक रिसइबी साध्ने मनसायले विष्णुले जेठान इन्द्रदेवको सहयोगमा शिवकुमारको हत्या गरेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ । हत्याका अभियुक्त विष्णु करिब दुई वर्षअघि लागूऔषधसहित पक्राउ परेका थिए । जिल्ला अदालत सिरहाले उनलाई २ वर्षको कैद सजाय सुनाएको थियो । त्यसपछि उनी कारागार चलान भए । उनी कारागारमा रहेका बेला उनका परिवार र शिवकुमारबीच वादविवाद भएको थियो । जेल भुक्तान गरी घर आएपछि विष्णुले शिवकुमारसँग रिसइबी साध्ने योजना बनाए ।

चैत ७ मा चोहर्वामा विष्णु र इन्द्रदेवले हत्याको योजना बुने । त्यस दिन शिवकुमार भारतको जयनगर गएका थिए । फर्केपछि विष्णुले शिवकुमारलाई फोन गरेर भेट्न समय मागे । भाइसँगको कुराकानीपछि साँझ ७ बजेतिर शिवकुमार घरबाट निस्किए । प्रहरीका अनुसार मिर्चैयास्थित एक होटलमा त्यही दिन बेलुका ८ बजेतिर शिवकुमार, विष्णु र इन्द्रदेवको भेट भयो । होटलमा उनीहरूले खाजा खाएर निस्किए ।

मिर्चैयास्थित जीवा खोलानजिक पुगेपछि विष्णुले शिवकुमारलाई काम छ भन्दै आफू सवार मोटरसाइकलमा बस्न लगाए । तीनै जना एउटै मोटरसाइलमा चढेर नजिकैको आँप बगैंचामा गए । त्यहीं विष्णुले धारिलो हतियारले शिवकुमारको हत्या गरे र शवलाई बगैंचामा घरको भत्केको पर्खालले छोपिदिए । उनको मोबाइल पनि त्यहीँ बालुवामा गाडेर दुवैजना भागेका थिए ।

चैत ८ गते बिहान ६ बजेतिर चोहर्वाबाट विष्णु र इन्द्रदेवले शिवकुमारको घरको मोबाइलमा तीन/चार पटक फोन गरे तर उठेन । भाइ घर नफर्केपछि शिवकुमारका दाइ रामकुमारले उही नम्बरमा आफ्नो मोबाइलबाट फोन गरे । उताबाट हिन्दीमा ५० लाख रुपैयाँ लिएर आए मात्रै भाइलाई छोडिदिने नत्र मारिदिने धम्की आयो ।

प्रहरीको गस्ती टोलीले चैत ८ गते राति ११ बजेतिर जीवाखोला पुलनजिक बेवारिसे मोटरसाइकल फेला पार्‍यो । भोलिपल्ट बिहानसम्म मोटरसाइकल खोजी गर्न कोही नआएपछि मोटरसाइकल भेटिएको ठाउँ वरपर जाँचका क्रममा रगतको छिटा लागेको भेटियो । छिटा पछ्याउँदै जाँदा आँपको बगैंचामा शिवकुमारको शव प्रहरीले फेला पारेको थियो ।

इप्रका मिर्चैया र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो कमान्डको प्रहरी टोलीले अनुसन्धान सुरु गरेर विष्णु र इन्द्रदेवलाई पक्राउ गर्न सफल भएको हो । अन्ततः दुवैले हत्या गरेको स्वीकारसमेत गरेका प्रहरीको भनाइ छ ।

२०७६ वैशाख १८ मा सिरहा अर्नमाकी रञ्जनाको बिहे शिवकुमारसँग भएको थियो । रञ्जनाको काखमा अहिले ३ महिनाकी छोरी छन् । पछिल्लो एक वर्षदेखि शिवकुमार सिमेन्ट उद्योगमा छाना छाउने काम गर्दै आएका थिए । दिनको ड्युटी सकाएर घर आई खाना खाएर पुनः राति पनि काममा जान्थे । दिनहुँ अबेर रातिसम्म भए पनि घर फर्किन्थे । रञ्जनाका अनुसार चैत ७ को साँझ ७ बजेतिर उनी राति पनि काम गर्नुपर्छ भन्दै घरबाट निस्केका थिए । उनले काम छ भनेर १० हजार रुपैयाँ पनि मागेका थिए । तर चैत ८ को बिहान साढे ६ बजेतिर फोन गर्दा लागेन । सबै आत्तिए । खोजी सुरु भयो । अन्ततः भोलिपल्ट मात्रै उनको शव भेटियो ।

त्यसयता रञ्जना विक्षिप्त छिन् । ‘जीवन रहेर पनि सास नभएको जस्तै भयो,’ उनी भन्छिन्, ‘मेरो जीवनको खम्बा नै तोडियो ।’ बुबा जुगुत यादवको मन पीडाले भारी छ । शिवकुमारको हत्यापछि सिंगो परिवारमा यतिखेर सन्नाटा छाएको छ ।

प्रकाशित : वैशाख १०, २०७८ १०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×