तीन बस्तीमा दुई पालिकाको दाबी

रौतहट — रौतहटका उत्तरी तीन गाउँ अरुण बस्ती, भोलनटार र इपिलिघारीमाथि दुई नगरपालिकाले दाबी गरेका छन् । चन्द्रपुर र गुजरा नगरपालिकाले ती बस्ती आफ्नो क्षेत्रमा पर्ने दाबी गरेका हुन् । 

चन्द्रपुरले पूर्वपश्चिम राजमार्गको धन्सारसम्म आफ्नो सीमा उल्लेख गरेको छ । गुजराले पनि झन्डै ५ किलोमिटर वर लमाह पुलसम्म आफ्नो सीमा दाबी गर्दै बोर्ड झुन्ड्याएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिओग्राफी इन्फरमेसन सिस्टमले भने चुरेसम्म गुजराको सीमा क्षेत्र देखाएको छ । ३ वर्ष अघिसम्म भोलनटार र इपिलिघारी मकवानपुर वा रौतहटको भनेर जिल्लाकै सीमामा विवाद थियो । पछि रौतहटले आफ्नो सीमा भएको भन्दै ती दुई बस्ती चन्द्रपुर नगरपालिकाअन्तर्गत हालिदियो । अहिले गुजरा नगरपालिकाले भोलनटार र इपिलिघारी आफ्नो सीमामा रहेको दाबी गरिरहेको छ ।

गुजराका मेयर सन्तलाल चौधरीले धन्सार क्षेत्र आफ्नो पालिकाको सिमानामा रहेको दाबी गरे । ‘सर्भे विभागकै नक्सामा चुरेसम्म गुजरा पालिकाको देखाएको छ,’ उनले भने, ‘बोर्ड राख्दैमा विवाद गरिहाल्नुपर्ने अवस्था छैन ।’ भूगोल विवाद तत्काल समाधान गर्न नसकेपछि समस्या आउने चन्द्रपुरका मेयर रामचन्द्र चौधरीले बताए । ‘बसेर छलफल गरी सीमा विवाद टुंग्याउने भनेका हौं,’ उनले भने, ‘जति विवाद गरे पनि अन्त्यमा मिल्नुको विकल्प छैन । यस्तै, वाग्मती नदीका विषयमा पनि तीन नगरपालिकाबीच विवाद देखिएको छ । आफ्नो सीमामा पर्ने भन्दै रौतहट र सर्लाहीका ३ पालिकाको दाबीपछि विवाद बढ्दा नदीजन्य वस्तुको निकासी प्रभावित बनेको छ । रौतहटका चन्द्रपुर र वृन्दावन नगरपालिका तथा सर्लाहीको वाग्मती नगरपालिकाले आ–आफ्नो क्षेत्रमा पर्ने दाबी गरेका हुन् । नदीको पश्चिम क्षेत्र आफ्नो भएको दाबी गरेका चन्द्रपुरका मेयर चौधरीसहितको टोली र वाग्मती नगरपालिकाका प्रतिनिधिहरूबीच केही समयअघि विवादै भएको थियो ।

३ वटै स्थानीय तहले आ–आफ्नो क्षेत्र भएको दाबी गर्दै खोलामा उत्खनन गरिरहेका छन् । वाग्मतीका मेयर भरत थापा, वृन्दावनका मेयर रामस्नेही राय यादवले पनि वाग्मतीको पश्चिम–दक्षिण एरिया आफ्नोमा पर्ने दाबी गरिरहेका छन् । वाग्मतीले आफ्नो सीमा भन्दै बालुवा–गिट्टी निकासी गर्ने ट्र्याक्टरको राजस्व काट्दै आएको छ । वाग्मती पुलदेखि दक्षिण–पश्चिमको झन्डै २ किलोमिटरसम्मको क्षेत्र चन्द्रपुरले उपभोग गर्दै आएको छ । त्यसपछि वृन्दावन नगरपालिकाको सीमा सुरु हुन्छ । पूर्वको नदी क्षेत्र वाग्मती नगरपालिकामा पर्छ । गत वर्ष चन्द्रपुर नगरपालिकाले निकासीको ठेक्का लगाएपछि वाग्मती नगरपालिकाले नदीको धार नै बदलेर उत्खनन गर्न नपाउने गरी सानो ड्याम बनायो । यस वर्ष त्यही स्थानमा चन्द्रपुर नगरपालिकाले ३ करोड १ लाखमा बालुवा–गिट्टी निकासीको ठेक्का लगाएको छ ।

प्रकाशित : वैशाख ८, २०७८ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?