कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

संक्रमित बढे, सतर्कता शून्य

सरकारी निर्णयको अवज्ञा गर्दै विद्यालय सञ्चालन, संक्रमितको चाप धान्न गाह्रो हुने विज्ञको चेतावनी
प्रदेश २ ब्युरो

जनकपुर — दिनदिनै कोरोना भाइरसको संक्रमित थपिँदै गए पनि प्रदेश २ का जिल्लामा स्वास्थ्य प्रोटोकल अपनाउन लापरबाही गरिएको छ । बजारमा भीडभाड बाक्लै छ । अनिवार्य गरिएका ठाउँमा मात्र मास्क लगाएको पाइन्छ । सामाजिक दूरी र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको छैन ।

संक्रमित बढे, सतर्कता शून्य

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयअनुसार मंगलबार प्रदेशमा ९३ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये पर्सामा सबभन्दा बढी ५९, बारामा १४, सप्तरीमा ३, रौतहटमा ६, सर्लाहीमा ३, धनुषा र महोत्तरीमा ३/३ जना संक्रमित थपिएका हुन् । प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या ५ सय ५४ छ । मंगलबार वीरगन्जमा एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ५७ वर्षीय पुरुष छन् । उनको उपचारका क्रममा नारायणी वयोधा अस्पतालमा मृत्यु भएको हो । अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार उनलाई श्वासप्रश्वासमा समस्या थियो । केही दिनअघि भारतबाट फर्किएका ती पुरुष उपचारार्थ चैत २९ गते भर्ना भएका थिए । २ सातायता संक्रमणबाट पर्सामा ६ जनाको मृत्यु भएको डा. दासले जानकारी दिए । ४ जनाको नारायणी अस्पतालमा २ जनाको वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

रौतहटका बजार, चोकमा स्वास्थ्य मापदण्डको ख्यालै नगरी निस्फिक्री स्थानीय हिँडडुल गरिरहेकै छन् । उनीहरू मास्क पनि लगाउँदैनन्, भौतिक दूरी पनि कायम गर्दैनन् । प्रशासनले मंगलबार सदरमुकाम गौरमा मास्क नलगाउनेलाई सम्झाउन प्रहरी नै खटाएको थियो । जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । बुधबारबाट मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने प्रहरीले जनाएको छ । रौतहटमा एक साताभित्र ३० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू सबै होम आइसोलेसनमा बसेका छन् । फतुवा विजयपुर र जिल्ला प्रहरी कार्यालयका ५ जना थुनुवामा संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संक्रमण बढ्दै गएकाले त्यहीअनुसारको स्वास्थ्य सुरक्षामा कडाइ गर्न लागिएको बताए । ‘बजार, चोकजस्ता स्थानमा मास्क नलगाउनेलाई अब जरिवाना गर्छौं,’ उनले भने, ‘संक्रमण रोक्न आफैं सचेत हुनुपर्ने बेला लापरबाही गर्नुहुन्न ।’

बालबालिकामा कोरोना संक्रमण बढेपछि विद्यालय बन्द गर्ने सरकारी निर्णयको अवज्ञा गर्दै राजविराजका कतिपय विद्यालय मंगलबार पनि सञ्चालन गरिए । सप्तरीमा सार्वजनिक कार्यक्रमहरू पनि भए । हाटबजारमा भीड छँदै छ । बजार र सरकारी कार्यालयमा पनि मास्क नलगाउनेको संख्या धेरै थियो । नेपाल–भारत सिमानाको तिलाठीको बोर्डरमा सयौं मानिस वारिपारि गरिरहे । संक्रमणको चपेटमा परेका भारतका विभिन्न सहरबाट आउनेहरू मंगलबार पनि बिनास्वास्थ्य जाँच तिलाठी नाका हुँदै नेपाल भित्रिए । न सीमाक्षेत्रमा सतर्कता देखियो न हाटबजारमै ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो चरणमा सप्तरीका ६ जनामा संक्रमण देखिएको छ । परीक्षणको दायरा नबढाइएकाले आशंका गरिएका संक्रमितहरूले अझै परीक्षण गराउन पाएका छैनन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित झाले परीक्षणको दायरा बढाउने प्रयास गरे पनि प्रयोगशालामा दक्ष जनशक्तिको अभावमा परीक्षण बढाउन नसकिएको बताए ।

संक्रमितको संख्या बढेसँगै वीरगन्जको नारायणी अस्पतालमा गम्भीर बिरामी पनि बढेका छन् । डा. दासका अनुसार मंगलबार नारायणी अस्पतालको आईसीयू र एचडीयू कक्षमा गरी २९ संक्रमित भर्ना भएका छन् । सबै गम्भीर अवस्थामा रहेको उनले बताए । अस्पतालको आईसीयू र एचडीयू वार्डको शय्या क्षमता ३५ मात्र रहेकाले अब बिरामी थपिँदै गए उपचारमा समस्या हुने भएको छ । पर्सामा करिब ३ सय कोरोना संक्रमित होम आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयले गम्भीर खालका बिरामीलाई मात्र अस्पतालमा भर्ना गर्न निर्देशन दिएकाले समस्या नभएका बिरामीहरूलाई भर्ना नगरिएको डा. दासले जानकारी दिए ।

– शंकर आचार्य (पर्सा), शिव पुरी (रौतहट) र अवधेशकुमार झा (सप्तरी)

प्रकाशित : वैशाख ८, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?