दाताको भरमा विद्यालय

डेढ सय विद्यार्थी पढ्ने विद्यालयमा पुग्दो शिक्षक र भौतिक संरचना छैनन्
सुनिता बराल

महोत्तरी — रातो रंगको दौरा सलुवार र ढाका टोपी लगाएका दैलेख दुल्लुका १५ वर्षीय बटुक इन्द्रबहादुर कार्की निधारमा सधैँ रातो टीका लगाउँछन् । बिहान ५ ब्युँझिएपछि राति १० बजेसम्म पूजापाठ, ध्यानजप र संस्कृत पढाइमा व्यस्त रहन्छन् । विद्यालयको वातावरण र पढाइमा व्यस्त रहँदा उनलाई दैलेखबाट महोत्तरीको मटिहानी आएकोमा चिन्ता छैन ।

उनी संस्कृत पढ्न ३ वर्षअघि यहाँ आएका हुन् । अहिले उमेरले १५ वर्ष पुगेका कार्की मटिहानी ७ स्थित नेपालकै पहिलो संस्कृत विद्यालय राजकीय संस्कृत माविमा कक्षा १० मा पढिरहेका छन् । दैलेखबाट आफ्ना धेरै दाइहरू पनि मटिहानी आएकाले आफू पनि संस्कृत पढ्न आएको उनले बताए । पढाइ र बसोबासका लागि विद्यालयको व्यवस्थापन राम्रो भएको उनको अनुभव छ । कार्कीसँगै दैलेखबाट संस्कृत पढ्न आएका अन्य सात बटुकको व्यस्तता र अनुभव उस्तै छ । विद्यालयमा पूर्वको ताप्लेजुङ, पश्चिमको दाङ, दैलेख र अरू जिल्लाका बटुकले अध्ययन गर्दै आएका छन् ।

बर्दिवास घर भएका रोशन काफ्ले संस्कृत पढेर कर्मकाण्ड गर्ने रहरले उक्त विद्यालयमा पढ्न आए । कक्षा ९ मा अध्ययनरत काफ्लेले अध्ययनमा विद्यालयबाट कुनै कमी नरहेको बताए । संस्कृत सिकेपछि विद्यालय शिक्षाबाटै लिएको ज्ञानबाट आफूले रुद्रीपाठ गर्न थालेको उनले बताए ।

विसं १७७५ मा स्थापना भएको उक्त विद्यालयलाई सरकारले उपेक्षा गरेको स्थानीयको गुनासो छ । विद्यालयले भिक्षा मागेरै बटुकलाई व्यवस्थापन गरिरहेको र आफ्नै बलबुतामा चलिरहेकाले भनेजस्तो विद्यालय बनाउन सकेको छैन । त्यसैले विद्यालयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने समाजसेवी विल्टु मण्डलले बताए । हाल विद्यालयमा १ सय ५५ जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक १२ जना शिक्षक छन् । शिक्षक अभाव भएकाले विद्यालयले अस्थायी शिक्षकसमेत राखेको छ ।

कुल विद्यार्थीमध्ये ६० जना विद्यालयकै होस्टलमा बस्छन् । प्रत्येक दिन ५ बजे उठेर नुहाइधुवाई गरी ९ बजेसम्म पूजापाठ र रुद्राअभिषेकमा व्यस्त हुने बटुकहरू बिहान १० देखि विद्यालयको पढाइ गर्ने र साँझको समय ध्यानजपमा व्यस्त रहने विद्यालयका शिक्षक हिमाल अधिकारीले बताए । बालगुरु षडानन्ददेखि थुप्रै चर्चित व्यक्ति पढेका यो संस्कृत विद्यालय जीर्ण बनेपछि सहयोग जुटाएर नयाँ भौतिक संरचना बनाइएको विद्यालयका प्रधानाध्यपक ईश्वरी पौडेलले जानकारी गराए । राज्यको प्राथमिकतामा विद्यालय नपर्दा अहिले पनि विद्यालय चलाउन व्यक्ति र निकायसँग हात थाप्न जानुपर्ने बाध्यता रहेको पौडेलले बताए । ‘ओझेलमा परेको विद्यालय भनेर चिनिन्थ्यो,’ प्रअ पौडेलले भने, ‘अहिले हामी विद्यालयलाई बामे सर्दै गरेको विद्यालयका रूपमा चिनाउने भएका छौं ।’

गुठी संस्थानको छात्रावृत्ति डेढ सय रुपैयाँमा विद्यार्थीलाई खाना खुवाउनुपर्ने बाध्यता रहेको उनले बताए । मधेसी समुदायका गरिब, दलित परिवार र सहाराविहीन विद्यार्थीको पनि विद्यालय आश्रयस्थल बनेको र उनीहरूलाई बिरामी पर्दा सिटामोल खुवाउनसमेत भिक्षा माग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘१५ सय रुपैयाँमा १० जना विद्यार्थीलाई महिनाभरि खाना खुवाउनुपर्ने र बिरामी बटुकलाई उपचारमा समेत भिक्षा माग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘राज्यको सहयोग गरे धेरै राहत हुन्थ्यो ।’

प्रकाशित : वैशाख ८, २०७८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?