कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सालका काठ कुहिँदै

शिव पुरी

रौतहट — व्यवस्थापनमा ढिलाइ हुँदा चोरी–तस्करीबाट बरामद सालको काठ कुहिन थालेको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरअन्तर्गतका सेक्टर वनमा राखिएको काठ कुहिएको हो ।

सालका काठ कुहिँदै

वन कार्यालयले बेवारिसे अवस्थामा बरामद गरेको काठको मुद्दा किनारा नलाग्दा व्यवस्थापनमा समस्या भएको जनाएको छ । बेवारिसे र व्यक्तिसहित बरामद काठको अदालतमा मुद्दा चलेपछि फैसला नहुन्जेलसम्म व्यवस्थापन गर्न पाइँदैन । मुद्दा प्रक्रिया लम्बिँदा काठ कुहिएको हो । महँगो सालको गोलिया र कुकाठहरू विभिन्न वन पोस्टमा राखिएका छन् । त्यसमध्ये चोचा र चेतनगर सेक्टर वन र चन्द्रनिगाहपुरस्थित सशस्त्र वन रक्षकको परिसरमा ठूलो परिमाणको काठ–दाउरा कुहिएको छ ।

धन्सार जंगलमा २० वर्षअघि बरामद भएको ती काठहरूको अहिलेसम्म मुद्दा छिनोफानो हुन नसकेको वन कार्यालय रौतहटले जनाएको छ । अदालतले काठको मुद्दामा फरार भनिएकाहरू पक्राउ नपरेसम्म काठ–दाउरा बिक्री गर्न पाइँदैन । तत्कालीन वन अधिकृत अर्जुन केसीको कार्यकालमा धन्सार जंगलमा अनियमित तरिकाले कटान गरेको झन्डै ५ हजार क्युफिट काँचो सालको काठ बरामद गरिएको थियो । त्यो काठ अहिले सडेर कामै नलाग्ने अवस्थामा पुगेको छ । वन कार्यालयले काठसहित बरामद गरेको आधा दर्जन सवारीसाधन पनि काम नलाग्ने भएको छ ।

डिभिजन वनका सहायक वन अधिकृत रामप्रसाद साहले प्राविधिक कारणले मुद्दाको काठ–दाउरा समयमा लिलाम बिक्री गर्न नसकेको बताए । ‘मुद्दा चलिरहेको अवस्थामा त्यसको किनारा नलागुन्जेल केही गर्न मिल्दैन । हामीले सकेसम्म समयमा लिलाम गरेर हटाउने प्रयास गरेका छौं,’ उनले भने, ‘केही काठ–दाउरा कुहिएको छ । यसलाई समयमा सदुपयोग गर्न सकिएन । मुद्दा फैसला भएको हकमा आपूर्ति समितिलाई हस्तान्तरण गरी उपभोक्तालाई बिक्री गर्छौं ।’

डिभिजन वनका अनुसार पछिल्लो १० वर्षयता विभिन्न स्थानमा बरामद भएका ६ हजार क्युफिट सालको गोलिया कुहिँदै गएको छ । त्यस्तै आपूर्ति समितिलाई हस्तान्तरण गरिएको ५ हजार काठ कुहिँदै गएको छ । उपभोक्तालाई घरकाजका लागि वितरण गर्न लागिएको काठ पुरानो र कुहिएर लैजान नमानेपछि त्यतिकै घाटगद्दी स्थलमा कुहिँदै गएको हो । पछिल्लो समय यहाँका साझेदारी वनको काठ र केही दाउरा लिलाम हुन नसकेर त्यतिकै थन्किएको छ । त्यस्तै सामुदायिक वनबाट निकालिएको काठ व्यवस्थापन हुन सकेको छैन । अन्य स्थानमा अवैध चोरीनिकासीका क्रममा बरामद भएका, वन कटानबाट संकलन गरी राखिएका काठ–दाउरा समयमा लिलाम बिक्री हुन नसक्दा कुहिने सम्भावना बढेको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?