वीरगन्जमा डेंगुका बिरामी बढ्दै- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा डेंगुका बिरामी बढ्दै

कान्तिपुर संवाददाता

पर्सा — कोरोनाको दोस्रो लहर तीव्र रूपमा बढिरहेका बेला वीरगन्ज महानगर क्षेत्रमा अर्को सरुवा रोग डेंगुको प्रकोप फैलिएको छ । स्थानीय अस्पतालमा डेंगुको संक्रमण भएका बिरामीहरूको संख्या बढ्दै गएको हो ।

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहलाई पनि डेंगु भएको छ । उनी एक सातायता घरमै आराम गरिरहेका छन् । डा. सिंह कोरोनाको पहिलो लहरमा बिरामीमा ‘लिम्फोसाइट काउन्ट’ घट्ने साझा समस्या देखिएकोमा हाल दोस्रो लहरमा भने ‘प्लेटलेट’ को मात्रा घट्ने समस्या देखिएको बताउँछन् । ‘शरीरमा प्लेटलेटको मात्रा घट्नु डेंगुको लक्षण हो,’ उनले भने, ‘अब कोभिडसँगै सर्वसाधारणलाई डेंगुको पनि परीक्षण गर्नु अनिवार्य छ ।’

गर्मीमा वीरगन्जमा डेंगु रोगको प्रकोप देखिने गरेको छ । दुई साताअघि वीरगन्जमा कोरोनाको दोस्रो लहर सुरु हुनुअघि आफूले डेंगुका पाँच जना बिरामीको उपचार गरेको डा. सिंहले बताए । ‘डेंगुका बिरामी अहिले झनै बढेको हुन सक्छन्,’ उनले भने, ‘सावधानी जरुरी छ ।’ नारायणी अस्पतालका चिकित्सक डा. जेपी जयसवालले अस्पतालमा दैनिक एक सयभन्दा बढी ज्वरोका बिरामी उपचार गराउन आइरहेकाले तीमध्ये विभिन्न रोगका बिरामी हुने गरेको बताए । ‘केही डेंगुका, केही टाइफाइडका र केही कोरोनाका बिरामी अहिले उपचार गराउन अस्पताल आउँछन्,’ डा. जयसवालले भने, ‘अस्पताल र क्लिनिकमा समेत गरी ७/८ जना डेंगुका बिरामीको उपचार गरिसकें ।’

वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले सबै जनशक्ति हाल कोभिड नियन्त्रणमा बढी सक्रिय भएकाले डेंगु नियन्त्रणतर्फ चाहेर पनि काम गर्न नसकेको बताए । ‘ठूलै जनशक्ति कोभिड नियन्त्रणमा खटिएको छ,’ उनले भने, ‘जेठ/असारतिर डेंगु नियन्त्रणका लागि काम हुन्छ होला ।’ हाल वीरगन्ज महानगरमा डेंगु रोगीको यकिन तथ्यांक आफूसँग नरहेको पनि उनले बताए ।

प्रकाशित : वैशाख ७, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्

घर नबन्दै जग्गाधनी पुर्जा वितरण

वीरेन्द्र केसी

अर्घाखाँची — प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत घर हस्तान्तरणपूर्व जग्गाधनी पुर्जा वितरण सुरु गरिएको छ । घर निर्माण सम्पन्न नभएकाले नगरपालिकाले जग्गाधनी पुर्जा बनाएर वितरण सुरु गरेको हो ।

प्रदेश सांसद चेतनारायण आचार्य, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुर विक, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले घरबारविहीन १३ जनालाई शनिबार पुर्जा वितरण गरेका हुन् ।

वर्षौंदेखि खोला किनारको जंगलमा छाप्रोमुनि बस्दै आएका मधु वादी पुर्जा पाएपछि दंग देखिए । चार वर्षअघि डढेलोले छाप्रो जलेपछि लामो समय उनी खुला चौरमा बसेका थिए । ‘वर्षामा भेल छाप्रोभित्र पस्दा भत्किएर सधैं दुःख पाउँथेँ,’ उनले भने, ‘अब छाप्रो जलेर खुला आकाशमुनि बस्नुपर्ने बाध्यता पनि टर्ने भो ।’ दिनभरि खोलामा गिट्टी र बालुवा चालेर परिवार पाल्दै आएका उनले प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत दुई कोठे घरको जग्गाधनी पुर्जा पाएका हुन् । सन्धिखर्क–२, भद्रीखोला किनारमा छाप्रोमा बस्दै आएका उनी पुर्जा पाएपछि खुसी थिए । अहिलेसम्म उनका नाममा एक टुक्रा जग्गा थिएन ।

खोला किनारको जंगलको छाप्रोबाट उनी पक्की घरमा केही समयपछि सर्दै छन् । मजदुरी र बालुवा चालेर गुजारा चलाएको उनले बताए । ‘मजदुरीको पैसाले बिहान बेलुका छाक टार्न मात्रै पुग्छ,’ उनले भने, ‘घडेरी किन्ने उपाय थिएन । खोला किनारमा बस्दा बर्खामा भेलले घर बगाइदिने, हिउँदमा डढेलोले घर जल्ने गर्दा साह्रै दुःख भएको थियो ।’ घर बनाइदिन थालेपछि बल्ल गरिबको सरकार आएजस्तो भएको उनले बताए । बाहिरबाट बाँसको चिमले बारेर स्याउलाको छानोमुनि वर्षौंदेखि बस्दै आएको उनले बताए । केहीले कच्ची गारो लगाएर काठ र टिनको ढोकासम्म राखेका छन् ।

‘६ वर्षअघि वनमा डढेलो लाग्दा हाम्रा झुप्रा पनि जलेर खरानी भएका थिए,’ लक्ष्मी वादीले भनिन्, ‘धेरै समय खुला ठाउँमा बस्यौं । बर्खामा छाप्रोभित्र भेल पसेर ओछ्यान र कपडा निथ्रुक्क भिज्ने, अन्नपाता बगाउने जस्ता समस्या छन् ।’ पुर्जा पाएपछि बल्ल जग्गाधनीको महसुस भएको उनले बताइन् । उनका सबै परिवारले मजदुरी गर्छन् । बाँगी खोलामा गिटी कुट्ने, बालुवा चाल्ने, केहीले घर निर्माणमा सघाउने, मालबाहक गाडीमा सामान लोड, अनलोड गर्ने जस्ता काम गर्दै आएका छन् ।

बन्दै गरेका घरमा नारायण वादी दिनमा एकपटक पुगेकै हुन्छन् । ‘घर पाउने भएपछि हामी औधि खुसी छौं,’ उनले भने । नगरपालिकाले १० लाख ९९ हजार ९ सय रुपैयाँमा भद्रीखोलामा २ रोपनी ४ आना १ दाममा १३ वटा घडेरी किनेर जग्गाधनी पुर्जा बनाएर हस्तान्तरण गरेको सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । जनता आवास कार्यक्रममार्फत लुम्बिनी प्रदेश सरकारको ३ लाख ५० हजार रुपैयाँमा घर निर्माणको काम अन्तिम चरणमा छ । ‘घर बन्दै छन्, हामीले पुर्जा दिएका छौं,’ प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, ‘अब आवास निर्माण सम्पन्न भएपछि हस्तान्तरण गर्नेछौं ।’

प्रकाशित : वैशाख ७, २०७८ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×