२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

४ वर्षपछि ‘सुटर’ पक्राउ

सर्लाही — सर्लाही पिपरियाका सुनचाँदी व्यवसायीको गोली हानी हत्या भएको घटनाका मुख्य सुटर चार वर्षपछि पक्राउ परेका छन् । कविलासी नगरपालिका–२ पिपरियाका २२ वर्षीय युवक सुनीलकुमार साहलाई २०७४ असोज २४ गते साँझ पसल बन्द गरेर घर फर्कने क्रममा बाटोमा आक्रमण भएको थियो ।

४ वर्षपछि ‘सुटर’ पक्राउ

उनी बुबासँगै ना४५प १५०३ नम्बरको मोटरसाइकलमा फर्किरहेका थिए । तीन जनाको समूहले झोलामा रहेको सुन, चाँदी र नगद लुटी साहको हत्या गरेका थिए ।

खुन डाँका तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी मुख्य सुटर मानिएका लालबन्दी नगरपालिका–२ पुनर्वासका सञ्जीव पासवानलाई प्रहरीले घटनाको ४ वर्षपछि पक्राउ गरेको हो । घटनालगत्तै भारतमा लुकेर बसेका पासवान केही दिनअघि मात्र नेपाल आएका थिए । उनलाई कविलासी क्षेत्रबाटै प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक विक्रम साहको कमान्डमा खटिएको प्रहरी टोलीले पासवानलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार पासवान नाम र ठेगाना परिवर्तन गरेर लुकेर बसिरहेका थिए । साह हत्यामा प्रहरीले तयार गरेको मिसिलको फोटो आफ्नो नरहेको पासवानले ढाँटेका थिए । नागरिकता नलिएका पासवानलाई ठम्याउन प्रहरीलाई गाह्रो परेपछि उनकी श्रीमती र परिवारका अन्य सदस्यलाई प्रहरी कार्यालयमा लगिएको थियो ।

परिवारको पुष्टिपछि मात्र पासवानले घटनामा संलग्न रहेको प्रहरीलाई बयान दिए । उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएपछि आइतबार साँझ सिन्धुली कारागार पठाइएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

साहको साथबाट ७ लाख १९ हजार रुपैयाँ बराबरको लुटपाट भएको थियो । प्रहरीले घटनाको केही दिनमै संलग्न प्रकाश पासवान र उमेश पासवानलाई पक्राउ गरेको थियो । उनीहरूलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

प्रकाशित : वैशाख ७, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?