२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

हुलाकी राजमार्ग : सुविधाभन्दा सास्ती बढी

सडक निर्माणमा दुई वर्षदेखि बजेट अभाव, धूलोले छेउछाउको जनजीवन कष्टपूर्ण
सन्तोष सिंह

धनुषा — सर्लाही हरिपुर्वाका मुकेश झालाई कामविशेषले सदरमुकाम मलंगवा दिनहुँ ओहोरदोहोर गर्नुपर्छ । तर मोटरसाइकलमा जाँदा हावाहुरीको मौसमका कारण सडकको धूलोले उनको शरीर नै छोपिन्छ ।

हुलाकी राजमार्ग : सुविधाभन्दा सास्ती बढी

धूलोकै कारण बिरामी परेपछि झाले अहिले बसमा यात्रा गर्न थालेका छन् । तर बसको यात्रा पनि सास्तीपूर्ण छ । ‘मोटरसाइकलमा गए २० मिनेट लाग्ने बाटोमा त्यति समय त गाडी कुर्दैमा बित्छ,’ झाले कान्तिपुरसँग भने । हरिपुर्वादेखि मलंगवासम्म १५ किलोमिटर धुलाम्मे सडक छ ।

हरिपुर्वा–मलंगवा र मलंगवा–छतौन ४०.४ किलोमिटर हुलाकी सडक निर्माण नहुँदा झाजस्तै थुप्रै व्यक्तिले धुलाम्मे बाटोमा यात्रा गर्नुपरेको हो । धुलोकै कारण सडक छेउछाउका बस्तीवासी पनि बिरामी पर्दै आएका छन् । ‘सडकको धुलो घरमा आइपुग्दा बस्न नै गाह्रो भएको छ,’ स्थानीय रमेश झाले भने, ‘सडकले सुविधा होला भन्दा सास्तीचाहिँ बढाएको छ ।’ आर्थिक वर्ष २०७२/७३ मा सर्लाहीको शीतलपुरदेखि छतौनासम्म तीन खण्डमा हुलाकी सडक निर्माणको ठेक्का लागेको थियो । ठेक्का सम्झौताअनुसार २ वर्षमा नै सडक बन्नुपर्ने हो । तर बजेट अभावका कारण समयमै निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर रमेशकुमार गोइतले बताए ।

सडकको पहिलो खण्ड १५ किलोमिटरको निर्माण जिम्मा इन्दुम–नमिता जेभीले पाएको छ । दोस्रो खण्ड १५ किलोमिटर इन्दुम–साह जेभी र तेस्रो खण्ड १०.४ किलोमिटर दिवा निर्माण सेवाले जिम्मा लिएका छन् । यी सबैले कुल ६४ करोड रुपैयाँमा ठेक्का पाएका हुन् । हालसम्म माटो पुर्ने, ग्राभेल र कल्भर्ट पुलको काम मात्र भएको छ । ‘ठेक्का लागेको २ वर्षमा निर्माण पूरा हुनुपर्ने सडक अझै बन्न सकेको छैन,’ इन्जिनियर गोइतले भने, ‘संघीय सरकारले ठेक्का लगाएको सर्लाहीको हुलाकी सडक प्रदेश मातहतमा आएको छ । प्रदेश सरकारले सडक निर्माणका लागि बजेट नै उपलब्ध गराउन सकेको छैन ।’ अपूरो हुलाकी सडक निर्माणको जिम्मा फेरि संघीय सरकारलाई दिइने प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

हुलाकी सडकमा ७ मिटर चौडाइ कालोपत्र गर्न प्रारम्भिक कामका लागि ठेकेदारलाई ३२ करोड रुपैयाँ भुक्तानी दिइएको छ । कालोपत्रका लागि करिब ५० करोड बजेट चाहिले सडक डिभिजनले जनाएको छ । जिल्लाका जनप्रतिनिधिले सडक निर्माणको माग राख्दै यसै साता प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । उनीहरूले सडक निर्माण नथालिए आन्दोलनको चेतावनीसमेत दिएका छन् ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मैथुर चौधरीले ठेकेदारलाई बजेट अभाव भएकाले योजना संघीय सरकारलाई अविलम्ब फिर्ता गर्न ज्ञापनपत्र बुझाएको बताए । सर्लाही हरिपुर्वा नगरपालिकाका प्रमुख सियाराम राय, पर्सा गाउँपालिका प्रमुख किशुनदेव राय, ब्रह्मपुरीका प्रमुख विनोदकुमार साह, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, कौडेना गाउँपालिकाका प्रमुख रामप्रसाद राय, गोडैता नगरका प्रमुख देवेन्द्रकुमार यादव, बलरा नगरपालिका प्रमुख अभयकुमार सिंहसहित राजनीतिक दल र नागरिक समाजका अगुवाहरूले सडक निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

संघीय सरकारले योजना प्रदेशलाई दिए पनि बजेट नदिँदा काम प्रभावित भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार साहले बताए । मन्त्रालयले अब योजना संघीय सरकारलाई नै फिर्ता पठाउनेबारे छलफल गरिरहेको उनको भनाइ छ । ‘योजनाका लागि बजेट माग्ने, नदिए फिर्ता पठाउने तयारी छ,’ उनले भने ।

प्रकाशित : वैशाख ६, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?