कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बस्ती नै शौचालयविहीन

नगरपालिकाले सामान दिए पनि बनाउन जग्गा अभाव
शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका–९ चेतनगरस्थित मुसहर बस्तीका ५६ वर्षीय सुकराम मुसहर लोटा बोकेर शौचादी गर्न नजिकको बाँसघारी छिर्छन् । उनको घर छ तर शौचालय छैन ।

बस्ती नै शौचालयविहीन

जग्गा नभएकाले उनले सुविधामा पाएको शौचालय बनाउन पाएनन् । ७६ घरधुरी रहेको यो बस्तीमा धेरैको शौचालय छैन । अधिकांशले खुला ठाउँमै शौच गर्छन् ।

नगरपालिकाले खुला दिशामुक्त घोषणाको तयारी गर्दा शौचालय बनाउन सामग्री दिएको थियो । तर, झुपडीबाहेक एकधुर पनि जमिन नभएकाले बनाउन सकेनन् । सामग्रीहरू त्यत्तिकै अलपत्र परे । ‘खानलाउन धौधौ छ । झुपडीबाहेक जमिन छैन,’ सुकरामले भने, ‘शौचालय बनाउन जमिन चाहियो । त्यसैले नबनाएको हो ।’ मुसहर बस्तीका सबै सुकुम्बासी हुन् । गाउँनजिक शौचादी गरेर दुर्गन्धित हुन थालेको छ । एउटा परिवारमा ५ देखि १० जना सदस्य छन् ।

जनता आवासले केहीको सानो पक्की घर बनाइदिएको छ । त्यो पनि सबैको छैन । जमिन अभावकै कारण बस्तीमा धारा हाल्ने ठाउँको अभाव छ । बस्तीभरि जम्मा ३ वटा धारा छन् । मुसहर अगुवा अकलु मुसहरले जमिनका साथसाथै आर्थिक अभावले पनि शौचालय बनाउन नसकेको सुनाए । ‘हाम्रो जातका मानिसहरू निकै गरिब छन् । उनीहरूसित खानेसमेत पैसा हुँदैन,’ उनले भने । नगरपालिकाले भने दुई वर्षअघि खुला दिशामुक्त नगर घोषणा गरिसकेको छ ।

गुजरा नगरपालिका–६ जुगौलिया टोलस्थित मुसहर बस्तीमा पनि अधिकांशको शौचालय छैन् । बालबालिकादेखि वृद्धवृद्धासम्म खुला ठाउँमा शौचादी गर्छन् । नगरपालिकाले शौचालय बनाउन दिएको सामग्री बाटोमै राखेका छन् । केहीले पशुको घाँस राख्न प्रयोग गरेका छन् । वृन्दावन नगरपालिकास्थित धमौराको डोम बस्तीको एक घरमा पनि शौचालय छैन । उनीहरू अर्काको खेतमा शौचादी गर्न जान्छन् । सडक छेउमा लामो समयदेखि बसिरहेका डोम समुदायलाई खानै समस्या छ । नगरपालिकाका मेयर रामस्नेही राय यादवले डोम बस्तीवासीलाई स्थायी बासको व्यवस्था गर्न छलफल भइरहेको बताए ।

जिल्ला खानेपानी सरसफाइ डिभिजन कार्यालयले ९७ प्रतिशतको घरमा शौचालय बनाइसकेको दाबी गरेको छ ।

प्रकाशित : वैशाख ६, २०७८ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?