फेरि हात्ती आक्रमणको त्रास

अवधेशकुमार झा

राजविराज — हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएपछि सप्तरीको पूर्वोत्तर क्षेत्रका बासिन्दा फेरि त्रसित बनेका छन् । भित्र्याउन ठिक्क पारेको गहुँ कुर्न खेतमा पुगेका हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजका नारायण प्रमाणीको शुक्रबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

फेरि हात्ती आक्रमणको त्रास

सप्तरी, सुनसरी र उदयपुरको केही भागमा फैलिएको कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले बर्सेनि यस क्षेत्रमा उत्पात मच्चाउँछ । मानिसको ज्यानै लिन्छ । आरक्षको क्षेत्रलाई घेराबेरा नगर्नु, जंगली क्षेत्र कम हुँदै जानु, हात्तीलाई आवश्यक आहाराको कमी हुनु र विगतमा हात्तीको बाटो रहेको क्षेत्रमा मानवबस्ती रहनुलगायत कारणले हात्तीको निसानामा मान्छे पर्दै आएका हुन् । पछिल्लो १० वर्षमा हात्तीले सप्तरी, सुनसरी र उदयपुरमा गरी ३० जनाको ज्यान लिएको छ । आरक्षको मध्यवर्ती क्षेत्र बाहिर ४ जनाको हात्तीको आक्रमणबाटै मृत्यु भएको छ । मारिएकामध्ये १४ जना सप्तरीका हुन् । कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेका घरपालुवा हात्तीको अवस्था सामान्य रहे पनि पश्चिम बंगालबाट आउने हात्तीका कारण यस क्षेत्रमा आतंक बढ्छ ।

कोसीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत अशोक रामका अनुसार अहिले आरक्ष क्षेत्रमा १४ वटा जंगली हात्ती छन् । तीमध्ये कुनै बेला एक्लै त कहिले समूहमै मानव बस्तीतिर पसेर बालीनाली नष्ट र घर तोडफोड गर्छन् । सप्तरीका हनुमाननगर कंकालिनी नगरपालिका, कञ्चनरूप, सप्तकोसी, अग्निसाइर कृष्णासवरण, रूपनी, शम्भुनाथ, खड्ग र सुरुङ्गा नगरपालिकालगायतका बासिन्दा हात्ती आक्रमणकै कारण राति जाग्राम बस्न बाध्य छन् । ती पालिकाका उत्तरी क्षेत्रमा कुनै पनि बेला हात्ती आउने र आतंक मच्चाउने खतरा रहन्छ । स्थानीयले प्रहरी र प्रशासनलाई पनि पटकपटक यसबारे ध्यानाकर्षण गराइसकेका छन् । तर हात्तीको आतंक रोक्न पुग्ने प्रहरीले पनि स्थानीयसँगै आगो बालेर धपाउनेबाहेक अरू काम नगरेको रूपनीका कमलेश यादवले बताए ।

पछिल्ला ३ वर्षयता सप्तरीको पूर्वोत्तरका गाउँमा हात्ती आतंक बढेको हो । कोसीटप्पु वन्यजन्तु आरक्षमा १४ वटा घरपालुवा हात्ती छन् । तीमध्ये ८ वटा कोसीटप्पुमै छन् भने ६ वटा चितवनमा लगिएको छ । घरपालुवा हात्तीबाट कुनै हानि नोक्सानी नभए पनि जंगली हात्तीले समस्या गरिरहेको आरक्षका संरक्षण अधिकृत रामले बताए । ‘धान र मकै पाक्ने समय हात्तीको स्थानान्तरण हुने समय हो,’ संरक्षण अधिकृत रामले भने, ‘अहिले पश्चिम बंगालबाट झापा हुँदै कोसीटप्पु र यहाँबाट पर्सा निकुञ्जसम्म जाने हात्तीले हिँड्ने करिडोरमा उत्पात मच्चाउँछ ।’

आरक्षको चारैतिर विद्युतीय घेराबेरा गरिएको भए पनि हात्तीलाई रोक्न प्रभावकारी हुन सकेको छैन । आरक्षबाट बेलाबखत निस्कने अर्नाले पनि मान्छेको ज्यान लिँदै आएको छ ।

प्रकाशित : वैशाख ६, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?