कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

तस्करीलाई नयाँ–नयाँ बाटो

चोर बाटोबाट तेल, चिनी, कपडा नेपाल भित्रिँदै

सर्लाही — गत वर्ष कोरोना महामारी नियन्त्रण गर्न भारतसँगको सीमा सिल हुँदा आवतजावत ठप्प भयो । तर, सीमा वारपार तस्करी भने भइरह्यो । नाकाहरूमा ढाट तेर्स्याइएपछि केही परबाट नयाँ बाटो खोलिएको छ । त्यही बाटो भएर तस्करी हुन्छ ।  

भारतको कन्हौली बजारबाट नेपाल भित्रिने भांड्सर नाकामा प्रहरीको ढाट छ । अहिले पनि त्यो नाकाबाट मानिसलाई ओहोरदोहोर गर्न रोक छ । तर, करिब २ सय मिटर दक्षिण सीमाबाट बाँसघारी हुँदै निर्बाध रूपमा आवतजावत भइरहेको छ । यो बाटो तस्करी गर्न बनाइएको हो । मलंगवाको कृष्णामती विद्यालयनजिकैबाट झोलेपोके तस्करले अर्को चोर बाटो बनाएका छन् । यस्तै, त्रिभुवननगरको मुख्य नाकामा पनि प्रहरीको ढाट छ । तर यहाँ पनि केही परबाट तस्करले सामान निकासी/पैठारी गर्छन् । तस्करहरूले यहाँ मुस्लिम टोलको बाटो प्रयोग गरिरहेका छन् । बलरा र बाराउधोरणमा तस्करीका लागि अर्कै बाटो बनाइएको छ ।

प्रहरीकै मिलेमतोमा सीमामा तस्करी भइरहेको स्थानीयको दाबी छ । तस्करले भारतबाट तेल, चिनी, कपडा, हार्डवेयरका सामान, बिजुलीका सामान, कुखुराको चल्ला तथा अन्डा नेपाल भित्र्याउने गरेका छन् । उनीहरूले नेपालबाट बालुवा र घरेलु मदिरा चोर बाटो हुँदै भारत निकासी गर्छन् । पारिबाट टाउकोमा बोकेर ल्याएको सामान सीमा नजिकको घरमा तस्करले एक ठाउँमा राख्छन् । राति भएपछि ट्र्याक्टरमा लोड गरेर अवैध रूपमा भित्र्याइएका सामान बाहिर पठाउने गरिएको छ ।

चोर बाटोबाट सामान्य घरायसी प्रयोगको सामानमा प्रहरीले रोकटोक र जाँच कडा पार्ने गरेका छन् । तर सेटिङमा आएको सामानको कुनै जाँच नहुने गरेको भांड्सरका स्थानीय अरुणकुमार यादवले आरोप लगाए । ‘सीमा बन्द छ भनेर प्रहरी भन्छ, पैसा नदिईकन पारिबाट सामान ल्याउन दिँदैन, तर तस्करलाई कुनै मतलब नै हुँदैन,’ रायले भने, ‘बोर्डरमा हामीजस्ता सर्वसाधारणले सास्ती खेप्दै आएका छौं ।’

सीमा सिल गरिएका बेला भइरहेको तस्करीमा प्रदेश सांसद र स्थानीय तहका प्रमुखहरूले आपत्ति जनाउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालयले पोके तस्करी रोक्नका लागि राजनीतिक प्रतिबद्धता हुनुपर्ने बताउँदै आएको छ । खुला सीमाका कारण तस्करी नियन्त्रण चुनौती बन्दै आएको सुरक्षा अधिकारीहरूको भनाइ छ । सशस्त्र प्रहरी १० नम्बर गणका गणपति गंगाराम श्रेष्ठले सीमाका बारेमा आफूले केही पनि बोल्न नमिल्ने बताए । उनले केन्द्रीय अथवा प्रदेशको प्रवक्तालाई यसबारेमा बुझ्न आग्रह गरे ।

प्रकाशित : वैशाख ५, २०७८ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?