कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बजेट नहुँदा बाँध मर्मत रोकियो

शिव पुरी

रौतहट — अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा रौतहटको वाग्मती र लालबकैया नदीको बाँध मर्मत हुन सकेको छैन । दुवै नदी नियन्त्रण गर्न भारत सरकारले निर्माण गरिदिएको बाँध ठाउँठाउँमा भत्किएको छ ।

भत्किएको बाँधबाटै बर्खामा पानी बस्तीमा पसेर डुबान पार्छ । वाग्मती–लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरले बाँध मर्मत गर्न नसके डुबान र क्षति हुने भन्दै डेढ महिनाअघि बजेट माग गरेको थियो ।

वाग्मतीको देब्रेतर्फ ४ र दायाँतिर १० स्थानमा बाँध भत्किएको छ । त्यस्तै पश्चिम लालबकैयाको देब्रेतिर ७ र दायाँतर्फ ८ स्थानमा भत्किएर तत्काल मर्मत गर्नुपर्ने रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । प्रजिअ यादवसहितको सुरक्षा निकायको टोलीले केही दिनअघि बाँधको स्थलगत निरीक्षणसमेत गरेको थियो । ‘बाँध मर्मत गर्न वाग्मती–लालबकैया नदी नियन्त्रण कार्यालयलाई भनिसकेका छौं,’ उनले भने, ‘बजेट अभाव छ । अर्थ मन्त्रालयमा लेखेर पठाइसकेको छ । समयमा मर्मत गर्न सकिएन भने बाढीको बेला ठूलो समस्या निम्त्याउँछ ।’

भारत सरकारले सन् १९८९ मा झन्डै ३३.५ किलोमिटर लामो बाँध बनाइदिएको थियो । त्यही बाँधले बस्ती जोगाए पनि पछिल्लो समय मर्मत अभावले भत्किएर पानी पस्ने गरेको छ । धेरै वर्ष पुरानो भएकाले बाँध कमजोर हुँदै गएपछि ठाउँठाउँमा भत्किन थालेको हो । दुवै नदी दायाँबायाँ क्षेत्रको बाँध मर्मत गर्न झन्डै २ महिना लाग्छ । अबको २ महिनापछि वर्षा सुरु हुन्छ । गएको जेठमा नदी नियन्त्रण कार्यालयले ५० स्थानमा टालटुल पारेको थियो । नियन्त्रण कार्यालय प्रमुख अकलाख अहमद सिद्धिकीले वाग्मतीदेखी पश्चिम क्षेत्र धरमपुरबाट सीमाक्षेत्रसम्मको १७ किलोमिटर बाँध समस्याग्रस्त रहेको बताए ।

‘बजेट निकासा भयो भने २ महिनाभित्रमा मर्मतको काम सक्छौं,’ उनले भने, ‘तर निकासा हुने छाँट छैन ।’ प्रमुख सिद्धिकीका अनुसार भत्किएको बाँध मर्मत गर्न झन्डै ४१ करोड ३४ लाख खर्च लाग्छ । बाँध मर्मत नहुँदा लक्ष्मीपुर, बलुवा, धर्मपुर, गम्हरिया, संग्रामपुर, गढो, सिगारमन, गंगापिपरा, माधोपुरलगायतका गाउँ बाढीको जोखिममा परेको छ । वाग्मती र लालबकैया नदीमा आउने बाढीको समस्या नयाँ होइन । बर्सेनि दुवै नदीले डुबान र कटानको समस्यामा पारेको छ । २०५० सालको बाढीपछि रौतहटवासीले डुबानको समस्या झेलिरहेका छन् ।

प्रकाशित : वैशाख ५, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?