कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रादेशिक प्रयोगशालामै छैन जनशक्ति

एक वर्षदेखि तलब–भत्ता नपाएपछि ३६ जना कर्मचारी चैत दोस्रो सातादेखि काममा आएका छैनन्
श्यामसुन्दर शशि

जनकपुर — कोरोना भाइरसको संक्रमण तीव्र भइरहेको बेला प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कर्मचारी अभाव भएको छ । एक वर्षदेखि तलब–भत्ता नपाएपछि प्रयोगशालामा विभिन्न तहमा कार्यरत ३६ जना कर्मचारी चैत दोस्रो सातादेखि काममा आएका छैनन् । कर्मचारी नहुँदा पीसीआर परीक्षण प्रभावित बनेको छ । 

प्रादेशिक प्रयोगशालामै छैन जनशक्ति

नियमित कर्मचारीहरूले काम रोके पनि तीन जना प्राविधिकलाई ‘अनरिक्वेस्ट’ मा राखेर स्वाब संकलन तथा परीक्षण भइरहेको प्रयोगशालाका प्रमुख डा.श्रवणकुमार मिश्रले जानकारी दिए । उनका अनुसार पछिल्लो समय स्वाब परीक्षण गर्न आउनेको संख्या ह्वात्तै बढेको छ । परीक्षण गरिएकामध्ये ३३ देखि ४८ प्रतिशतमा कोरोना पुष्टि भइरहेको मिश्रले बताए । संक्रमण देखिएकाको कन्ट्याक्ट ट्रेसिङ ठूलो चुनौती बनेको उनको भनाइ छ । पहिलो लहरको संक्रमणको बेला ट्रेसिङमा स्थानीय तह र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर यसपटक ती सबै निकाय मौन छन् ।

संक्रमण बढ्न थालेपछि अध्ययन तथा रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किन थालेका छन् । यसका अतिरिक्त कुनै पनि रोगको शल्यक्रिया गराउनुअघि पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । कोरोनाका शंकास्पद बिरामीलाई पनि चिकित्सकहरूले पीसीआर जाँच गराउन सल्लाह दिन्छन् । तर, प्रादेशिक प्रयोगकशालामा जनशक्ति नहुँदा पीसीआर परीक्षणमा ढिलाइ हुने गरेको छ । पहिलो लहरको संक्रमणका बेला ३ मोइक्रोबायोलोजिस्ट, ९ बीएमएलटी, ४ सीएमएलटी, २ ल्याब असिस्टेन्ट, ३ सफाइकर्मी, ३ चालक, ३ गार्ड र केही कार्यालय सहयोगी गरी कुल ३८ जना कर्मचारी प्रयोगशालामा नियुक्त गरिएको थियो । तर, उनीहरूले सुरुको २६ दिनको मात्र तलब पाएका छन् । कोरोना पहिचान र रोकथाममा खटिएकाले उनीहरुले भत्ता समेत पाएनन् । प्रदेश २ सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर प्रयोगशालामा कर्मचारीलाई करार सेवामा पदपूर्ति गर्न निर्देशन दिएको थियो । प्रयोगशालाले भदौ ७ गते पदपूर्तिसम्बन्धी सूचना पनि प्रकाशित गरेको थियो । त्यही सूचनाअनुसार करार सेवाका ३८ जना कर्मचारी नियुक्त भएका थिए । ‘हामीले विधिवत् नियुक्ति पाएका हौं । तर पनि तलब भत्ताबाट वञ्चित हुनुपरेको छ,’ प्रयोगशालामा ल्याब टेक्निसियन जीवछ मण्डलले भने ।

सामाजिक विकास मन्त्रालयका उपसचिव ठूलोबाबू दाहालले प्रयोगशालामा कार्यरत कर्मचारीको नियुक्ति रीतपूर्वक नभएकाले तलब–भत्ता रोकिएको बताए । दाहालले भने, ‘मन्त्रिपरिषद्बाट दरबन्दी स्वीकृत गराएर मात्र कर्मचारी नियुक्ति गर्न मिल्छ ।’ प्रयोगशालाका प्रमुख मिश्रका अनुसार सामाजिक विकास मन्त्रालयबाट कर्मचारीहरूको दरबन्दी स्वीकिृत गरिएको छैन । ‘प्रयोगशालाको ल्याब सञ्चालन गर्न कर्मचारी अभाव नहोस् भनेर पहल भइरहेको छ । कर्मचारीहरूको मर्कालाई पनि ध्यानमा राखिएको छ,’ मिश्रले भने ।

शनिबार प्रदेश २ मा ६९ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये प्रादेशिक प्रयोगशालामा २६ जनाको मात्र परीक्षण गरिएको छ । हाल प्रदेशभर ३ सय ५३ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित : वैशाख ५, २०७८ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?