१८ पालिका, दुई दमकल- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१८ पालिका, दुई दमकल

आगलागीका घटना बढे पनि पालिकाहरुले दमकल खरिदमा चासो देखाएका छैनन्
शिव पुरी

रौतहट — गढीमाई नगरपालिका–६ धरमपुरमा चैतको पहिलो साता लामखुट्टे भगाउन गोबरको गुइँठा बाल्दा ३ घरमा आगो लाग्यो । जलेर ११ चौपाया मरे । आगलागी नियन्त्रणका लागि गौर र चन्द्रपुर नगरपालिकामा मात्रै दमकल छ ।

रौतहटको गरुडा नगरपालिकाले मर्मत नगरेपछि थन्किएको दमकल तस्बिर : शिव पुरी/कान्तिपुर

त्यहाँबाट आगलागी भएको स्थलमा दमकल आउन झन्डै एक घण्टा बढी समय लाग्थ्यो । ‘आगो फैलिनबाट रोक्न सक्ने अवस्था नै रहेन,’ धरमपुर प्रहरी चौकीका सई नागेन्द्र यादवले भने, ‘क्षणभरमै तीनवटै घर जलेर नष्ट भयो । पशु चौपाया मरे ।’ उनको भनाइमा दमकल तत्कालै नआउने भएकाले बोलाइएन । आगलागीमा कपन सहनी, दिनेश सहनी र रामचन्द्र सहनीको घर जल्यो ।

दुई वर्षअघि चन्द्रपुर–६ स्थित कृष्ण विकको घरमा आगलागी हुँदा समयमै चन्द्रपुरको दमकल नपुगेपछि ठूलो क्षति बेहोर्नुपर्‍यो । एउटा दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि गौरबाट समेत मगाउनुपरेको थियो । जिल्ला प्रहरी कार्यालय गौरको तथ्यांकअनुसार गत वर्ष १ सय ३५ स्थानमा आगलागी हुँदा ७२ वटा घर जलेर नष्ट भए । ५६ वटा पशु गोठ जले । १ जनाको मृत्यु भयो भने १० घाइते भए । ४४ चौपाया मरे ।

अहिले आगलागी हुने क्रम बढेको छ । सुक्खा मौसम र हावाहुरी चलिरहेकाले तराई–मधेसका बस्तीमा एकैछिनमा आगो सल्किन्छ । तर, स्थानीय तहसँग आगलागी रोक्न दमकल छैन । पालिकाका प्रमुख, उपप्रमुख र अन्य पदाधिकारीबीच आफू चढ्ने महँगो गाडी खरिद गर्न होडबाजी हुने गरेको छ । तर, बस्तीलाई आगलागीबाट जोगाउन दमकल किन्न भने उनीहरूले चासो देखाएका छैनन् ।

गरुडा इलाकामा दुई महिनाभित्र ४ वटा आगलागीका घटना भए । त्यहाँ पनि दमकलकै समस्या परेको गरुडाका उपप्रमुख रंगिलादेवी जैसवालले बताइन् । ‘दमकल किन्न भनेकै हो । मेयरलाई चासो नै छैन,’ उनले भनिन् । रौतहटका गौर र चन्द्रपुरबाहेक १६ स्थानीय तहसँग दमकल छैन ।

रौतहटमा आगलागी हुँदा अहिले पनि दुईवटा दमकलकै भर पर्नुपर्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘मैले अधिकांश नगरपालिकाका मेयरलाई दमकल किन्न अनुरोध गर्दै आएको छु,’ उनले भने, ‘किन चासो नदेखाएको हो बुझ्छु ।’ विपद् व्यवस्थापनको छलफल कार्यक्रममा पनि प्रजिअ यादवले पायक पर्ने पालिकाहरू मिलेर दमकल किन्न आग्रह गरेका छन् । गरुडा, समनपुर, कटहरिया, विजयपुरलगायत बीच भागका नगरपालिका मिलेर दमकल किन्नुपर्ने प्रजिअ यादवले सुझाव दिए ।

गरुडाले दुई वर्षअघि गौर नगरपालिकाको दमकल प्रयोग गर्न ल्याएको थियो । तर इन्जिनमा खराबी आएर मर्मत गर्न छाडेपछि कबाडजस्तै थन्किएको छ । रौतहटको पश्चिम विजयपुर, पूर्वी समनपुर, धरमपुरलगायतको क्षेत्रमा आगलागी भए भगवान् भरोसामा बस्नुपर्ने स्थिति रहेको स्थानीय बताउँछन् । ईशनाथ नगरपालिका–६ का वडा सदस्य गृषनन्दन सिंहले यता आगलागी भए गौर वा चन्द्रनिगाहपुरबाट दमकल बोलाउनुपर्ने सुनाए ।

‘त्यहाँबाट दमकल आउन्जेलमा घर जलेर सखाप भइसकेको हुन्छ,’ उनले भने, ‘नगरपालिकालाई दमकल किन्ने पहल गरौं भनेको हो । तर कुनै सुनुवाइ भएको छैन ।’ गरुडा नगरपालिकाले एक वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको गरुडा सभाका बेला दमकल किन्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । प्रधानमन्त्री ओलीले उसैबेला स्थानीय तह मिलेर किन्नुपर्ने भनेका थिए ।

देवाही बोनाहीका नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेलले आगामी आर्थिक वर्षमा दमकल खरिद गर्ने योजना बनाएको बताए । ‘दमकल नभएका कारण आगलागी नियन्त्रणमा गाह्रो भएको छ । आगामी आर्थिक वर्षमा नगर परिषद्बाट पास गराई दमकल किन्ने तयारीमा छौं ।’ गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरीले २/३ वटा नगरपालिका मिलेर दमकल खरिद गर्न पाए सहज हुने बताए । यसका लागि छलफल गरिरहेको उनको भनाइ छ ।

यस्तै, गढीमाई नगरपालिकाका प्रमुख श्यामनन्दन यादवले आफू निर्वाचित भएको वर्षमा नै दमकल किन्ने योजना बनाएको बताए । ‘तर, विकासलाई बढी जोड दिन खोजेकाले दमकल खरिद गर्न बजेट अपुग भएर खरिद गर्न पाएनौं,’ उनले भने, ‘यसपालि खरिद गर्ने सोच बनाएका छौं ।’

प्रकाशित : वैशाख ४, २०७८ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्

कञ्चनजंघा क्षेत्र सुनसान

आनन्द गौतम

ताप्लेजुङ — संसारकै तेस्रो अग्लो शिखर कञ्चनजंघामा यस वर्ष आरोहण नहुने भएको छ । अहिलेसम्म एकै जनाले पनि आरोहणका लागि नाम दर्ता नगराएको पर्यटन विभागले जनाएको छ ।

तस्बिर सौजन्य : नुपु शेर्पा

पर्यटन विभागका निर्देशक मोहन जीसीले अब सम्पर्कमा आउने सम्भावना पनि निकै कम रहेको जनाए । तयारीका लागि पनि केही समय चाहिने भएकाले अब उक्त सम्भावना न्यून रहेको उनले बताए । सामान्य अवस्थामा आरोहीहरू वैशाख पहिलो सातासम्ममा कञ्चनजंघा बेस क्याम्प पुगिसकेका हुन्थे ।

आरोही मात्रै नभएर घुम्न आउनेको संख्या पनि अत्यन्तै कम रहेको कञ्चनजंघा संरक्षण क्षेत्र पर्यटन सहायक टाँसी शेर्पाले बताए । उनका अनुसार यो सिजनमा अहिलेसम्म २० जना घुन्सा पुगेका छन् । ‘यो बेला त गाउँ नै पर्यटकले भरिएको हुन्थ्यो, टाँसीले भने, ‘होटलवालालाई सोध्दा अब आउनेहरू पनि सम्पर्कमा छैनन् ।’ फेरि लकडाउनको हल्लाले अलिअलि सम्पर्क गर्नेहरूले पनि सम्पर्क गर्न छोडेको होटल व्यवसायी नुपु शेर्पा बताउँछन् ।

कोरोना संक्रमणका कारण अघिल्लो सिजनमा ३५ जनाले भ्रमण गरेका थिए । सामान्य अवस्थामा बर्सेनि १४ सय जनासम्मले कञ्चनजंघा भ्रमण गरेको तथ्यांक कञ्चनजंघा संरक्षण क्षेत्रसँग छ । संक्रमणका बेला सबैभन्दा बढी जापानका नागरिक नेपाल आएका थिए ।

फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सामा विदेशी पर्यटकको तथ्यांक राख्ने गरिएको छ । कञ्चनजंघामा जापानी, जर्मनी, अस्ट्रेलिया, अमेरिका, फ्रान्स, ब्रिटिस, नेदरल्यान्ड, क्यानाडा, स्विट्जरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्वीडेनलगायत देशका नागरिक आउने गरेका छन् । छिमेकी देशहरू भारत र चीनबाट पनि आरोहण तथा भ्रमणका लागि आउने गरेको तथ्यांक छ । कञ्चनजंघामा माघ, असार र साउनमा बाहेक विदेशी पर्यटक आउने गरेका छन् । आरोहण भने वैशाख र जेठमा मात्रै हुने गरेको छ ।

वैशाख अन्तिमदेखि जेठको पहिलो सातासम्म आरोहण गरेका हुन् । बाँकी समय आउनेले यो क्षेत्रको भ्रमण गर्ने गरेका छन् । भ्रमण गर्नेको संख्या असोज, कात्तिक, चैत र वैशाखमा धेरै हुने गरेको छ । यातायातले भ्रमणको दूरी छोट्याएसँगै विदेशी पर्यटकको संख्यामा पनि वृद्धि हुन थालेको हो ।

पहिला कञ्चनजंघाको पूर्वी र पश्चिमी गरी दुवै बेस क्याम्प घुम्न २४ दिन लाग्थ्यो भने अहिले १६ दिनमै भ्रमण गर्न सकिन्छ । पूर्वमा सिरिजंघा गाउँपालिकाको याम्फुदिन र उत्तरमा फक्ताङलुङ गाउँपालिकाको लेलेपसम्म यातायात चल्ने भएपछि पैदल मार्ग छोटिएको हो ।

प्रकाशित : वैशाख ४, २०७८ १३:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×