कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रदेश २ को नाम र राजधानीको प्रस्ताव आह्वान

सत्तारुढ जसपा मधेस प्रदेश र राजधानी जनकपुर राख्ने पक्षमा
सन्तोष सिंह

जनकपुर — प्रदेश २ को नाम र राजधानी तोक्न प्रदेशसभाले दोस्रोपटक प्रक्रिया बढाएको छ । प्रदेशसभा सचिवालयले बिहीबार प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ताका लागि सूचना निकालेको हो । सचिवालयले वैशाख २ देखि ९ गते ३ बजेसम्म प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव दर्ताका लागि समय तोकेको छ ।

प्रदेश २ को नाम र राजधानीको प्रस्ताव आह्वान

प्रदेशसभामा रहेका राजनीतिक दल र सांसदले तोकिएको समयभित्र नाम र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गराउन सक्ने सचिवालयका सचिव रञ्जित यादवले बताए । सचिवालयले बोलाएको सर्वदलीय बैठकमा राजनीतिक दलबीच भएको सहमतिअनुसार प्रस्ताव आह्वान गरिएको उनको भनाइ छ ।

नाम र राजधानी तोक्न २०७६ चैत ४ गते भएको मतदानमा सबै प्रस्ताव अस्वीकृत भएका थिए । गत वर्ष मत विभाजन गरेर प्रदेशको नाम र राजधानी टुंग्याउन मतदान गरिए पनि दुईतिहाइ नपुग्दा सबै प्रस्ताव असफल भएका हुन् । प्रदेशसभाले फेरि त्यही प्रक्रियाबाट नाम र राजधानी टुंग्याउन खोजेको छ ।

प्रदेश २ मा सत्तारूढ जनता समाजवादी पार्टी मधेस प्रदेश र राजधानी जनकपुर राख्ने पक्षमा छ । मधेस प्रदेशमा माओवादी केन्द्रका सांसद सकारात्मक छन् । नेकपा एमाले र नेपाली कांग्रेस मधेस प्रदेश स्विकार्न नसक्ने अडान राख्दै आएका छन् । प्रदेश सरकार गठन भएको तीन वर्ष बित्नै लाग्दा प्रदेशको नामकरण र राजधानीबारे टुंगो लगाउन नसकेको भन्दै प्रश्न उठ्न थालेपछि प्रदेश सांसदहरू नाम र राजधानीप्रति गम्भीर बनेका छन् ।

प्रदेशसभाका १ सय ७ सांसदमध्ये माओवादीका प्रत्यक्ष निर्वाचित ३ र समानुपातिक सांसद निलम्बन भएपछि अहिले १ सय ३ जना सांसद छन् । नाम र राजधानी टुंग्याउन दुईतिहाइका लागि ६९ सांसद आवश्यक हुन्छ । सत्तापक्षका तत्कालीन संघीय समाजवादी २९, राजपा २५, स्वतन्त्र १ र नेपाल संघीय समाजवादी पार्टी नेपालका १ गरी सरकारसँग ५६ जना सांसद छन् । एमालेका २१ र माओवादीका ७ र कांग्रेसका १९ सांसद छन् ।

प्रकाशित : वैशाख ४, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?