कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

परीक्षण गरिएका आधालाई संक्रमण

शंकर आचार्य

पर्सा — पर्सामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दो छ । यहाँ परीक्षण गराउनेमध्ये आधामै संक्रमण पुष्टि भइरहेकाले स्थिति भयावह बनेको छ ।

परीक्षण गरिएका आधालाई संक्रमण

नारायणी अस्पतालमा बिहीबार ७५ पीसीआर र ३ एन्टिजेनबाट गरी ७८ जनाको स्वाब परीक्षण गरिएकोमा ३८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये ३१ जना पर्साका, ३ जना बाराका, २ रौतहटका, १/१ जना मकवानपुर र काठमाडौंका छन् । संक्रमितमध्ये २२ पुरुष र १६ महिला छन् । उनीहरू १ देखि ८७ उमेरका छन् ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले सातादेखि संक्रमितको संख्या ह्वात्तै बढेको र दैनिक बढ्ने क्रम जारी रहेको बताए । ‘यसै सातादेखि संक्रमित दर बढेको हो,’ उनले भने, ‘हाल कुल परीक्षणमध्ये झन्डै आधामा संक्रमण पुष्टि हुन थालेको छ ।’

अस्पतालको आईसीयू कक्षमा ३ संक्रमितलाई भर्ना गरी उपचार भइरहेको उनले बताए । उनीहरूलाई श्वासप्रश्वासमा समस्या देखिएकाले अक्सिजन दिएर राखिएको छ । चैतको दोस्रो सातादेखि अस्पतालमा फेरि संक्रमित बढेका हुन् । अस्पतालमा १७ संक्रमित भर्ना भएकोमा ३ जनाको मृत्यु भइसकेको छ । ११ जना निको भएर घर फर्किएका छन् । अस्पतालको आईसीयू र एचडीयू कक्षको क्षमता ३० देखि ३५ जनासम्मको भएकाले तत्कालै संक्रमितको उपचारमा समस्या नरहेको डा. दास बताउँछन् ।

यता, वीरगन्जस्थित नेपाल–भारत सीमामा थप कडाइ गरिएको सीमा प्रहरी चौकी इनर्वाका प्रमुख प्रहरी नायब निरीक्षण पूर्णप्रसाद दाहालले बताए । भारतबाट भित्रिने जो कोहीको पनि यहाँस्थित हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गर्न थालिएको उनको भनाइ छ ।

‘यसअघि भारतको अन्य सहरबाट आउनेको मात्र स्वास्थ्य परीक्षण गर्ने गरिएकामा हाल भने भारतबाट भित्रिने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरिँदै छ,’ उनले भने, ‘अहिले सीमावर्ती सहर रक्सौलबाट आउनेको पनि स्वास्थ्य परीक्षण हुने गरेको छ, ज्वरो देखिनेको तत्कालै एन्टिजेन परीक्षण गरिन्छ ।’ कोरोनाको दोस्रो लहर सुरु भएयता पर्सामा संक्रमितको संख्या करिब २ सय ५० पुगेको छ । अस्पतालमा गम्भीर खालका संक्रमितलाई मात्र भर्ना गरेर उपचार भइरहेको छ । सामान्य संक्रमित भने होम आइसोलेसनमै छन् ।

प्रकाशित : वैशाख ४, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?