कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बगरमा २०१ किसानको तरकारी खेती

किसानलाई २ देखि १० कठ्ठासम्म जग्गा
सुनिता बराल

महोत्तरी — वैदेशिक रोजगारीबाट टन्नै कमाउने सपना बोकेर ५ वर्षअघि उनी खाडी मुलुक हानिए । महोत्तरी गौशाला–८ का केदार राउतले विदेश जान साहुसँग ऋण लिएका थिए । तर, त्यहाँ भनेजस्तो कमाइ भएन । यता ऋणको ‘मिटर’ फनफनी घुमिरहेको थियो ।

बगरमा २०१ किसानको तरकारी खेती

‘भनेजस्तो कमाइ नभएपछि तनावमा परें, विदेशमै बस्ने कि घर फर्किने भनेर लामो समय द्विविधामा परें,’ उनले भने । गाउँले साहुसँग १ लाख २० हजार ऋण लिएर उनी साउदी अरब गएका थिए । त्यहाँको कमाइले न ऋण तिर्न सके न घर व्यवहार धान्न सके । अन्ततः ऋणको भारी बोकेरै घर फर्किए । ऋण तिर्नकै लागि आफ्नो नाममा रहेको साढे ४ कट्ठा जग्गा पनि बेच्नुपर्‍यो । यो घटनाबाट पाठ सिक्दै राउतले गाउमै केही गर्ने अठोट गरे । विदेश गएर निराश भएर फर्किएका राउतले अहिले गौशालाको सोनी खोलाको बगरमा तरकारी खेती सुरु गरेका छन् ।

गौशाला नगरपालिकाले खोलाछेउको करिब ८ कट्ठा जग्गा तरकारी खेती गर्न राउतलाई उपलब्ध गराएको हो । बिहान उज्यालो नहुँदै खेतमा पुग्ने राउत र उनकी श्रीमती सुदिनाले तरकारीको बोटलाई गोडमेल गर्छन् । उनीहरूले बगरमा लौका, गोलभेडा, भान्टा, खुर्सानीलगायतका तरकारी लगाएका छन् । ‘विदेशमा गरेको दुःखले ऋण नै थपिदियो,’ राउतले भने, ‘आफ्नै गाउँमा गरेको मिहिनेतले खुसी दिएको छ । तरकारी खेतीले आयआर्जनमा मद्दत पुग्ने आशा गरेका छौं ।’

बगरमा खेत रहेकाले राउतलाई सिँचाइको अभाव छ । सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासले सिँचाइका लागि डिप बोरिङ गाडे पनि पानीको मुहान सुकेको छ । तरकारी खेती सुक्न थालेपछि राउतले ४ हजार रुपैयाँको पानी नै किनेर हाले । उनले बगरमा खेती सुरु गर्नुअघि जंगलबाट मलिलो माटो ल्याएको र दुःख गरेअनुसार तरकारी उत्पादन पनि भएकाले सन्तुष्ट रहेको बताए ।

‘विदेश गएर ३ वर्ष गरेको मिहिनेतले परिवार पाल्न गाह्रो थियो,’ केदारले भने, ‘अहिले यही बगरबाट परिवार पाल्ने आशा जागेको छ ।’ गौशाला ८ कै परमेश्वर साह पनि व्यापार छोडेर बगर खेतीमा लागेका छन् । १५ वर्षदेखि चलाएको किराना पसल छोडेर ५ कट्ठा जग्गामा उनले पनि प्याज, भिन्डी, लौका, काँक्रो, करेलालगायतका तरकारी उब्जाएका छन् । ‘व्यापारमा भन्दा खेतीकिसानबाटै राम्रो आम्दानी देखेपछि यता लागेको हुँ,’ उनले भने । तर, सिँचाइको समस्या रहेको भन्दै उनले समाधान गरिदिन माग गरे ।

राउत र साहजस्ता किसानलाई लक्षित गरेर गौशाला नगरपालिकाले चालु आर्थिक वर्षदेखि खेतीका लागि जग्गा उपलब्ध गराउन थालेको हो । यस कार्यमा नगरपालिकासँग सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासले पनि सहकार्य गरेको छ । नगरपालिकाले सोनी खोला बगरको झन्डै ५० हेक्टर जग्गा २ सय १ जना किसानलाई उपलब्ध गराएको छ । प्रत्येक किसानलाई २ कट्ठादेखि १० कट्ठासम्म जग्गा उपलब्ध गराएर खेती गर्ने प्रबन्ध मिलाएको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए । ‘नगरपालिकाले कृषिलाई प्राथमिकता दिने योजनाअनुसार यो कार्यक्रम ल्याएका हौं,’ महतोले भने, ‘यसपटक जग्गा उपलब्ध गराएका छौं । अर्को पटकदेखि अन्य सहयोग पनि गर्दै जान्छौं ।’

गौशालाभित्रका बगर खेतीमा सहभागी अन्य किसानले गहुँ, जौ, मुसुरो, खेसरीलगायतका अन्न तथा दालसमेत उत्पादन गरेका छन् । यहाँ उत्पादित कृषि सामग्री गौशाला बजारमा नै बिक्री हुने गरेको छ । महोत्तरीको गौशाला तरकारी खेती र व्यापार दुवैका लागि पकेट क्षेत्र हो । यहाँका अधिकांशको कमाइ तरकारी खेतीबाटै हुन्छ । नगरपालिकाले बगर क्षेत्रलाई हराभरा बनाउन ५० हजार बिरुवा पनि रोपेको छ ।

प्रकाशित : वैशाख ३, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?