कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मनाइयो जुडशीतल पर्व

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको कविलासी नगरपालिका–१ पिपरियामा कक्षा ५ मा अध्ययनरत उज्ज्वल झा बिहीबार बिहान सुतिरहेकै बेला हजुरआमाले शिरमा पानी छोपिदिँदा उनको निद्रा खुल्यो ।

मनाइयो जुडशीतल पर्व

त्यसलगतै उनलाई आफूभन्दा मर्यादाक्रममा ठूलो रहेको घर र छिमेककाले शिरमा पानी हालेर आशिष दिए । उनी पनि रमाइलो मान्दै ठुलाबडाको आशीर्वाद लिए । परम्पराको बारेमा सामान्य बुझ्न थालेका १० वर्षीय बालक झालाई अनौठो भने लागिरहेको थियो । तर, परम्परा भन्दै उनले रमाइलो माने । लगत्तै उनी बुबा अनिल झाको साथमा बगैंचातर्फ लम्के । बुबाको हातमा पानीले भरिएको बाल्टी थियो । उनले पनि ग्यालेन बोके । बगैंचामा पुगेर बुबासँगै हरेक बोटबिरुवामा पानी हाले ।

जुडशीतल पर्वमा बिहानै शिरमा पानी हालेर आशिष दिनुको साथै किशोरकिशोरीहरू एकआपसमा हिलो माटो खेलेर मान्ने प्रचलन छ । झा पनि आफ्नो उमेरका साथीहरूसँगै हिलो माटो खेल्दै यो पर्व मनाए । झाका बुबा अनिलले वैज्ञानिक महत्त्वसमेत भएकाले जुडशीतल पर्वका बारेमा नयाँ पुस्तालाई डोर्‍याउने काम गरेको बताए । उनका अनुसार बदलिँदो मौसमबाट बच्न यो पर्व निकै मद्दत पुर्‍याउछ । ‘जुडशीतल परम्परा मात्र हैन, यसको वैज्ञानिक महत्त्व पनि छ, गर्मी सुरु भएको बेला शिरमा पानी हाल्दा शीतलता प्रदान हुन्छ,’ उनले भने ।

त्यही परम्परा मान्दै जुडशीतल पर्व धुमधामका साथ बिहीबार मनाइएको छ । ठूलाले सानालाई शिरमा पानी सिञ्चित गर्दै वर्षभरि शीतलता, सुख, शान्ति एवं दीर्घायुको कामना गर्दै आशीर्वाद दिने चलन छ । जुडशीतलको दिन रूखबिरुवामा समेत पानी हाल्ने परम्परा छ । फागुमा रङ र अबिर खेलेजस्तै जुडशीतलमा हिलो पानी खेल्ने गरिन्छ ।

नयाँ वर्षका दिन चनाको सातु खाएर सतुवाइन मनाइँदै राति घरघरमा साकाहारी मीष्ठान्न भोजन भात, दालसहित तरुवा, करीबरी बनाएर खाने चलन छ । जुडशीतलको दिन रातिकै बासी खाना जुडाएर (पानीमा हालेर) खाने चलन छ । यसलाइ नै जुडशीतल भनिन्छ ।

प्रकाशित : वैशाख ३, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?