कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लगालग अपराधले बढायो त्रास

‘शान्तिसुरक्षा सुदृढ नभएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौं’
भरत जर्घामगर

सिरहा — एक महिनाअघि मालपोत कार्यालय लहानमा कुकर बम विस्फोट भयो । चैत १ गते भएको विस्फोटमा परी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएको थियो । घटनामा संलग्नको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गर्‍यो ।

लगालग अपराधले बढायो त्रास

चैत २३ को मध्यरातमा लहान–२ स्थित मिलन चोकका विन्देश्वर यादवको घरमा हतियारधारी डाँका समूहले लुटपाट गर्‍यो । लगत्तै त्यस्तै घटना चैत २८ मा पनि दोहोरियो । उक्त दिन राति पौने १ बजे लहान–२३ स्थित गढिया चोकका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको घरमा हतियारधारी ६/७ जना प्रवेश गरे । उनीहरूले लुटपाट मात्र गरेनन्, विश्वकर्माको ज्यानै लिए । उनको टाउको, अनुहार र हातमा खुकुरी र छातीमा गोली प्रहार गरिएको थियो । घटनामा प्रदीपकी श्रीमती अनिता दुलाल घाइते भइन् । उक्त घटनाको दुई दिनपछि लहानमै फेरि लुटपाट भएको छ । गत सोमबार (चैत ३०) मा साँझ साढे ७ बजे नै हतियारधारी डाँका समूहले लहान–७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा डकैती गरेको थियो ।

सिरहामा पछिल्लो समय भएका आपराधिक घटनाहरू हुन् यी । एक महिनायता लगालगको डकैती, लुटपाट र चोरीका घटनाले सिरहा त्रसित बनेको छ । सुनचाँदी व्यवसायी आन्दोलित छन् । सर्वसाधारणमा सुरक्षा पिरलो बढ्दो छ । यस क्रममा प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरेको छ । तर, दिनानुदिन घटना बढिरहँदासमेत प्रहरी सक्रियता जुन रूपमा हुनुपर्ने हो, त्यो नदेखिएको मानव अधिकारकर्मी राजकुमार राउत कुर्मी बताउँछन् । ‘समाजमै अपराधका घटनाहरू हुने हो,’ उनले भने, ‘अपराधलाई कत्तिको नियन्त्रण गर्न सक्यौं भन्ने सरोकारको विषय हो । तारन्तारको आपराधिक घटनाले जनजीवन त्रसित छ ।’

एक महिनायता सिरहामा भएका आपराधिक घटनाले त्रसित व्यापारीहरूले आफ्ना पसल बन्द गरेर प्रहरी प्रशासनसँग शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति गराउन माग गरेका छन् । व्यवसायी, नागरिक समाज, स्थानीयले जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदीपराज भण्डारी, सशस्त्र प्रहरी प्रमुख उपरीक्षक दीपेन्द्र गिरी, इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपन दाहाल, लहान नगरपालिकाका नगर प्रमुख मुनी साहसमक्ष शान्तिसुरक्षाको माग गरेका हुन् । शान्तिसुरक्षाको अवस्था सुदृढ नभएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने व्यवसायीको भनाइ छ ।

‘सुरक्षा प्रत्याभूति हुन नसके व्यवसायी पलायन हुन बाध्य हुनेछन्,’ जिल्ला उद्योग वाणिज्य संघका महासचिव अब्दुल करिमले भने, ‘दिनदहाडै व्यवसायी लुटिँदा, हत्या हुँदासमेत प्रहरी प्रशासन मूकदर्शक भएर बसेको छ, यस्तोमा व्यवसाय सञ्चालन गर्न कठिन छ ।’ लहान सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्याम साहले सुरक्षाको प्रत्याभूति नभएसम्म पसल सञ्चालन नगर्ने र आन्दोलन जारी राख्ने बताए ।

‘शृंखलाबद्ध घटना घटिरहँदा प्रहरी प्रशासनले थाहा नपाउनु भनेको रोम जलिरहँदा नीरो बाँसुरी बजाएर बसेका थिए भनेझैं भएको छ,’ साहले भने, ‘राजनीतिक अस्थिरताको फाइदा उठाउँदै हत्या, हिंसा, चोरी डकैती बढ्दो छ । यस्तो बेलामा हामी व्यवसाय सञ्चालन गर्न सक्दैनौं ।’ लहानका नागरिक समाजका अगुवा धरणीधर अधिकारीले व्यवसायी र नागरिकलाई आतंकित पार्ने घटनाले राज्यको सुरक्षालाई दिनदहाडै चुनौती दिएको बताए ।

प्रमुख जिल्ला अधिकारी कँडेलले आपराधिक घटना नियन्त्रणका लागि प्रहरी योजनाबद्ध रूपमा लागिसकेको बताए । कुनै पनि अपराधी नउम्कने भन्दै उनले ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे । सिरहाका प्रहरी प्रमुख एसपी भण्डारीले उपलब्ध स्रोत र साधनको प्रयोग गरेर शान्तिसुरक्षा दिन प्रहरी लागिपर्ने विश्वास दिलाए ।

प्रकाशित : वैशाख ३, २०७८ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?