मिथिलाञ्चलमा जुडशीतलको रौनक

जनकपुर — मिथिलाञ्चल क्षेत्रको महत्त्वपूर्ण पर्व जुडशीतल बिहीबार मनाइने भएको छ । यो पर्व नयाँ वर्षको भोलिपल्ट हिलो र पानी छ्यापेर मनाइने गरिन्छ । यस दिन परिवारका ज्येष्ठ सदस्यले कान्छोलाई टाउकोमा पानी छ्यापेर आशीर्वाद दिन्छन् ।

मिथिलाञ्चलमा जुडशीतलको रौनक

गृहिणी भने मिथिलाको भोजन दाल, भात, तरकारी, तरुवा, करी–बरीलगायतका परिकार बनाउँछन् । प्रकृति शान्तिका लागि मनाइने जुडशीतल पर्वमा दैनिक उपयोगमा प्रयोग हुने वस्तु, वनस्पति र पशुचौपायालाई समेत शीतल जल खन्याइन्छ । यो पर्वमा एक–अर्कालाई हिलो–माटो छर्केर रमाइलो गर्ने चलन छ ।

जुडशीतलमा गाउँ–सहरका इनार, खोल्सा, चपाकलनजिक रहेको फोहर पानी सफा गर्ने र हिलोमा लडीबुँडी गरिन्छ । दुई दिनसम्म मनाइने जुडशीतलको पहिलो दिनलाई सतुवाइन भनिन्छ । बुधबार सतुको परिकार र लस्सी खाएर जनकपुरमा यो पर्व मनाइयो । जुडशीतलमा चुलोलाई पनि पूजा गर्ने चलन छ । बिहान खाना पकाएपछि सबभन्दा पहिला चुलोलाई पूजा गरिन्छ । त्यस दिन फेरि चुलोमा आगो बालिँदैन । घरमा एक छाक खानामात्र पाक्छ । जनकपुरकी गृहिणी संगीता देवीका अनुसार ३ सय ६५ औं दिन जलिरहने चुलोलाई एक छाक आराम दिन प्रकृति पूजा गरिन्छ । त्यसैले घर, आँगन, रूख, वृक्ष, पशु सबैलाई शीतल जल खन्याएर शीतल पारिन्छ ।

सिरुवा पर्वको रमझम

राजविराज–जुडशीतलजस्तै प्रदेश २ का सिरहा र सप्तरीका थारू समुदायले सिरुवा पर्व मनाउँछन् । सिरुवा पर्वको अवसरमा बिहीबार सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिइएको छ । जुडशीलत र सिरुवा पर्व मनाउने तरिका र परम्परा एउटै छ । थारू समुदायले चैतको अन्तिम दिन विभिन्न परिकार बनाएर नयाँ वर्षका दिन बासी खाना खाने चलन छ भने अन्य समुदायमा वैशाख १ गते राति बनाएको खाना वैशाख २ गते सिरुवा पर्वका दिन खाने

चलन छ । सिरुवा पर्वमा बेसनबाट बनाइएको बरी, विभिन्न प्रकारका तरुवा, सोहजनको तरकारी अनिवार्य नै पकाइन्छ । एक–अर्कालाई आफ्नो घरमा निम्तो दिएर खाना खुवाउने चलन पनि छ ।

सलहेस फूलबारीमा मेला

सिरहा – कोरोनाको जोखिम भए पनि सिरहाको ऐतिहासिक तथा धार्मिकस्थल सलहेस फूलबारीमा मेला लागेको छ । यहाँ बुधबार बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको थियो । गोलबजार र लहानदेखि ४ किलोमिटर पश्चिममा पर्ने फूलबारीमा हरेक नयाँ वर्षको दिन मेला लाग्ने गरेको छ ।

मेलामा मुलुकका विभिन्न स्थान र भारतबाट गरी लाखौं श्रद्धालु आउने गर्छन् । १४औं शताब्दीका राजा सलहेसको सम्झनामा उनको वीरता र प्रेमसँग गाँसिएका गाथाहरूको सम्झनास्वरूप मेला लाग्ने गरेको हो । ९ बिघा क्षेत्रफलमा फैलिएको सलहेस फूलबारीको मध्यभागमा हारमको रूखमा हरेक वर्षको अन्तिम दिन माला आकारमा फूल फुल्छ । मेलाको भोलिपल्ट अर्थात् वैशाख २ गते दिन ढल्दै जाँदा विस्तारै फूल पनि ओइलिएर जाने जनविश्वास छ । यही फूल हेर्न पनि यहाँ टाढाटाढाबाट श्रद्धालु आउँछन् ।

मेला भर्न आउनेहरू सलहेस गहबरमा पूजापाठ गरेर भाकल गर्दा मनोकामना पूरा हुने विश्वास गर्छन् । सलहेस गहबरमा पूजापाठ गर्दा निःसन्तान महिलाहरूले सन्तान पाउने जनविश्वास रहेको पुजारी हरिसिंहदेव दनुवारले बताए । लहान नगरपालिका–१ का नथुलाल चौधरीले कोभिडको कहर थाहा भए पनि आफू मेला हेर्नकै लागि काठमाडौंबाट आएको सुनाए । यद्यपि, जिल्ला प्रशासन कार्यालयले चैत २५ मा सूचना जारी गरी संक्रमण फेरि फैलिन थालेकाले हाटबजार तथा मेला नलगाउन अनुरोध गरेको थियो ।

प्रकाशित : वैशाख २, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?