१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

धनगढीमाईमा हट्यो पानीको पिरलो

खानेपानी ट्यांकी निर्माण गरी घर–घरमा धारा जडान

सिरहा — सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे र अम्बास गाउँमा वर्षौंदेखि खानेपानीको हाहाकार थियो । स्थानीयलाई पानी लिन एक किलोमिटर पर खोला किनारको कुवामा पुग्नुपर्थ्यो । खोलामा बाढी आएको बेला कुवा धमिलिँदा ती गाउँमा पानीको हाहाकार हुन्थ्यो । सुक्खायाममा पनि उस्तै समस्या । तर, अब भने यो समस्या हटेको छ ।

धनगढीमाई नगरपालिका, लिबर्ट र स्थानीयको साझेदारीमा खानेपानीका लागि १४ हजार लिटर अट्ने खानेपानी ट्यांकी निर्माण गरी घर–घरमा धारा जडान भएपछि खानेपानीको समस्या समाधान भएको हो । पूर्व–पश्चिम राजमार्गको जिरोमाइलबाट १३ किलोमिटर उत्तर विकट क्षेत्रका बिहीबारे र अम्बास गाउँका २२ घर परिवारमा धारा पुगेको छ ।

नगरपालिकाको ७ लाख १९ हजार, लिबर्ड संस्थाको ३ लाख ८० हजार र जनश्रमदानको ५ लाख गरी १५ लाख ८८ हजार रुपैयाँको लगानीमा योजना निर्माण भएको हो । योजनाको निर्माण अवधि ५ महिना भए पनि स्थानीयको प्रयासमा साढे दुई महिनामै काम सकिएको थियो । ‘खोला किनारमा बार लगाएर कुवा बनाए पनि वर्षामा बाढी पसेर पानी धमिलिन्थ्यो,’ गृहिणी हेमकुमारी गिरिले भनिन्, ‘चैत–वैशाखको सुक्खायाममा कुवामा पानी पर्याप्त जम्मा नहुँदा एक गाग्री पानीका लागि घण्टौं कुर्नुपर्थ्यो ।’ उनले पानी लिनकै एक घण्टा हिँड्नुपर्ने सम्झिइन् । ‘अरू विकल्प थिएन, ट्यांकी निर्माणपछि घर–घरमा धारा जडान भएपछि सुविस्ता भएको छ,’ उनले भनिन् ।

खानेपानी आयोजनाका लागि नगरपालिकाले बजेट दिने भएपछि स्थानीयले अम्बास सिँचाइ तथा खानेपानी उपभोक्ता समिति गठन गरी घरलौरी जनश्रमदान गरेको स्थानीय जनक मोतेले बताए ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले आयोजनाको संरक्षणमा ध्यान दिन आग्रह गरे । खानेपानीको शुद्धताको बारेमा सचेत ढंगले अगाडि बढ्न आग्रह गर्दै नगरप्रमुख चौधरीले दीर्घकालीन रूपमा खानेपानीलाई टिकाउन सबैको सहयोग अपरिहार्य रहेको बताए ।

प्रकाशित : वैशाख २, २०७८ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?