३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नागरिकता पाउनै सकस

सेवाग्राहीको चाप र कर्मचारी अभावले तीन–चार दिन धाउनुपर्ने बाध्यता 
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाही हरिपुर नगरपालिका–३ फरहदवाकी अम्बिका महतो काखे बालक च्यापेर नागरिकता लिने लाममा तीन दिन उभिइन् । लाम बस्ने क्रममा उनले जसोतसो गर्मी सहे पनि बालक भने धरधरी रोइरहेको थियो । पहिला लिएको नागरिकतामा जन्म मिति एक दिनको फरक भएपछि सक्कलै नागरिकता र वडाको सिफारिससहित उनी जिल्ला प्रशासन पुगेकी थिइन् ।

नागरिकता पाउनै सकस

पहिलो दिन लामो लाइन बस्दा बच्चालाई गाह्रो भएपछि प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई भेट्न पुगिन् । तामाङले नागरिकता तुरुन्तै दिन कर्मचारीलाई लिखित आदेश पठाए । तर, नागरिकता फाँटमा भीड हुँदा प्रजिअले सिफारिस गरेको फाइल त्यतिकै थन्कियो । तेस्रो दिनसम्म लाइन बसेर मात्र अम्बिकाले नागरिकता पाइन् । ‘प्रजिअको तोकले पनि काम गरेन, तीन दिन लगातार गएपछि मात्र नागरिकता पाएकी छु,’ उनले भनिन् ।

उमेरले ७० पुगेका बलरा लक्ष्मीपुरका निरञ्जन मिश्र पनि नागरिकताको प्रतिलिपि लिन लाइनमै उभिनुपर्‍यो । बिहानै हुलाकी सडकको धुलाम्मे बाटो छिचोल्दै घरबाट आएका मिश्र नागरिकता पाउने लाइनमा चर्को गर्मीको मार खेप्दै थिए । उनले नागरिकताको प्रतिलिपिका लागि चौथो दिनसम्म लाइनमा बस्नुपरेको सुनाए । यस क्रममा निकै सास्ती खेप्नुपरेको उनको गुनासो थियो । । ‘राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकताको प्रतिलिपि लिन चार दिन धाउनुपर्‍यो,’ मिश्रले भने ।

प्रशासनमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राही कैयौं दिनसम्म लाम लाग्न बाध्य छन् । तीन–चार दिन धाएपछि बल्ल नागरिकता पाउने गरेको सेवाग्राहीको गुनासो छ । सर्लाहीमा पनि राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्रका लागि नागरिकता अनिवार्य भएकाले सेवाग्राहीको चाप जिल्ला प्रशासनमा बढेको हो । अहिले नयाँ नागरिकताभन्दा पनि नागरिकताको प्रतिलिपि बनाउने शाखामा भीड छ । सेवाग्राहीको भीड थेग्न कर्मचारीलाई हम्मे छ ।

नागरिकता लिने लाइनमा बसेका अपांग, ज्येष्ठ नागरिक, गर्भवती, सानो बच्चा बोकेका महिलालाई बढी सकस परेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले कार्यालयमा कर्मचारी अभाव र राष्ट्रिय परिचयपत्र वितरण सुरु भएपछि सेवाग्राहीको चापका कारण समयमै नागरिकता दिन नसकेको स्विकारे । उनका अनुसार कार्यालयमा ३३ जनाको दरबन्दी भए पनि ६ जना कर्मचारी रिक्त छ । तीन जना नायब सुब्बा प्रदेशमा समायोजन भइसकेको एक जना नायब सुब्बा मालपोतमा सरुवा भइसकेको र एक जनाको बढुवा भएको पोखरेलले बताए ।

उनले केन्द्रबाट कर्मचारी पठाइदिन ताकेता गरिरहेको जानकारी दिए । ‘कार्यालयमा कर्मचारी कम छन्, जसले सेवा प्रवाहमा कठिनाइ भइरहेको छ,’ उनले भने, ‘कार्यरत कर्मचारीमध्ये पाँच जनाको सरुवा, बढुवा भएको छ, उनीहरू रमाना लिएर गएपछि सेवा दिन झन् समस्या पर्छ ।’ २० स्थानीय तह रहेको सर्लाहीका १६ पालिकालाई जिल्ला प्रशासनले सेवा दिँदै आएको छ । प्रशासनले दैनिक एक सयको हाराहारीमा नागरिकता प्रदान गर्दै आएको छ । जिल्ला प्रशासनबाहेक हरिवन र बरहथवामा रहेको इलाका प्रशासन कार्यालयबाट समेत नागरिकता वितरण हुँदै आएको छ । ती कार्यालयहरूमा पनि सेवाग्राहीको उल्लेख्य भीड छ ।

प्रकाशित : वैशाख २, २०७८ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?