लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा डकैती

भरत जर्घामगर

सिरहा — लहान–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका प्रदीप विश्वकर्माको हत्या र लुटपाटको घटना सेलाउन नपाउँदै फेरि लहान–७ का अर्का एक सुनचाँदी व्यवसायीको घरमा डकैती भएको छ ।

लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा डकैती

हतियारधारी ६/७ जनाको डाँका समूह सोमबार साँझ साढे ६ बजे राजेश शारडाको घरमा प्रवेश गरी उनका छोरा गौरवको कन्चटमा पेस्तोल तेर्स्याएर सुनचाँदी लुटेर लगेको प्रहरीले जनाएको छ । डाँका समूहको आक्रमणमा राजेशका बुबा भगीरथ र पत्नी मञ्जुदेवी घाइते भएका छन् ।

हतियारधारी समूहले दुईवटा दराजको लकर फोडेर सुनचाँदी लुटेको भगीरथले बताए । डाँका समूहले शारडाको बा१०च ९३०२ नम्बरको जिपसमेत लगेका थिए । गौरवका अनुसार उनी साँझ साढे ६ बजेतिर गाडी लिएर घरको कम्पाउन्डभित्र प्रवेश गर्दा तीन जना डाँका पहिलादेखि नै घरसँगै रहेको बगैँचामा लुकेर बसिरहेका थिए ।

हतियारधारी समूहको आक्रमणबाट घाइते भएकी सुनचाँदी व्यवसायी राजेश शारडाकी पत्नी मञ्जुदेवी । तस्बिर : भरत जर्घामगर/कान्तिपुर

‘त्यसको करिब १५ मिनेटपछि तीनै जनाले मेरो कन्चटमा पेस्तोल तेस्र्याउँदै आमालाई घरको ढोका खोल्न लगाए,’ गौरवले भने, ‘म भागेर घरभित्र पस्न खोज्दा उनीहरूले आमा र हजुरबुबालाई आक्रमण गर्दै सुनचाँदी लुटे । त्यसपछि मसँग रहेको गाडीको साँचो लिएर भागे ।’

उनका अनुसार डकैती गर्न आएकाहरू करिब २० देखि २५ वर्ष उमेर समूहका युवा थिए । उनीहरूले मास्क लगाएका थिएनन् ।

घटनाको खबर पाएपछि खटिएको सशस्त्र प्रहरीका डीएसपी विनोद थापाको टोलीले डेढ घण्टापछि उक्त गाडी सिरहाको बेल्हा भन्ने ठाउँमा फेला पारेको थियो ।


इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपनकुमार दहालका अनुसार सोमबार बेलुकीको लुटपाटको प्रकृति पनि लहान–२३ गढियामा शनिबार राति भएको घटनाजस्तै देखिन्छ । सोही समूहले यो डकैती गरेको हुन सक्ने उनले आशंका गरे ।

साताअघि लहान नगरपालिका–२ स्थित मिलन चोकमा पनि डकैतीको घटना भएको थियो । स्थानीय विन्देश्वर यादवको घरमा ७–८ जनाको हतियारधारी समूहले सोमबार मध्यराति डकैती गरेको थियो ।

डाँका समूहको आक्रमणमा विन्देश्वर र उनकी पत्नी घाइते भएका थिए ।

प्रकाशित : चैत्र ३१, २०७७ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?