१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

७८ वर्षमा जग्गाधनी

३२५ घरपरिवारले पाए ७ धुरदेखि २ कट्ठासम्म जग्गाको पुर्जा
सुनिता बराल

महोत्तरी — घडेरीको लालपुर्जा आफ्नै नाउँमा होस् भन्ने चाहना थियो । बाबुआमाकै पालादेखि सम्पत्तिको हक खोजिरहे पनि पाएका थिएनन् ।

७८ वर्षमा जग्गाधनी

बर्दिवास नगरपालिका–६ का लुम्रे दम्पतीले आसै मारिसकेका थिए । सरकारले संयुक्त लालपुर्जा थमाएपछि भने ७८ वर्षीय खिनबहादुर लुम्रे र उनकी श्रीमती ७५ वर्षीया सुन्दरीमाया दंग छन् । ‘अधिकार खोज्दै बाबुबाजे बिते, हामीले पनि यो दिन आउला भन्ने आसै मारिसकेका थियौं । लालपुर्जा आफ्नै हातले समाउन पाउँदा धेरै खुसी लागेको छ,’ सुन्दरीमायाले भनिन् ।

लुम्रे दम्पतीजस्तै गाउँब्लकको जग्गामा बसोवास गर्ने ३ सय २५ भूमिहीन सुकुम्बासी परिवारले एकैपटक लालपुर्जा पाएका छन् । बर्दिवास–६, ७ र ९ स्थित किसाननगर र पशुपतिनगरका भूमिहीन सुकुम्बासीलाई नापी कार्यालय जलेश्वरले लालपुर्जा वितरण गरेको हो । लामो समयदेखि बसोबास गर्दै आएको गाउँब्लक जग्गाको पुर्जा पाएपछि सम्पत्तिको मालिक भएको भन्दै स्थानीय हर्षित छन् । ८० वर्ष काटिसकेका रामबहादुर महतोले लालपुर्जा पाएपछि ‘बुढेसकालमा आफूलाई सरकारले समाउने लौरो दिएको’ प्रतिक्रिया दिए । ‘तिम्रो के छ र भनि सोध्नेलाई यो सम्पत्ति मेरै हो भनेर देखाउने अवसर मिलेको छ,’ उनले भने । वर्षौंदेखि खोजिएको खुसी बुढेसकालमा मिलेको उनले सुनाए ।

बर्दिवासमा पुर्जा पाउनेहरूले २०२२ देखि जग्गाधनी पुर्जाका लागि पहल गर्दै आएका थिए । भूमि अधिकार मञ्चको पहलमा उक्त गाउँब्लक जग्गा २०७३ मा नापी भई लालपुर्जा बनाउनका लागि प्रक्रिया अघि बढेको थियो । करिब १४ हेक्टर जग्गाको लालपुर्जा बनेपछि ३ सय २५ घरपरिवारले ७ धुरदेखि २ कट्ठासम्म जग्गा आफ्नो नाममा प्राप्त गरेका हुन् । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रकुमार साह, प्रदेश सासंद शारदादेवी थापा र बर्दिवास नगर प्रमुख विदुर कार्कीले आइतबार उनीहरूलाई संयुक्त रूपमा जग्गाधनी लालपुर्जा वितरण गरे । भूमि अधिकार मञ्च महोत्तरीका राजकुमार बस्नेतका अनुसार वितरित लालपुर्जामध्ये २ सय १७ वटा श्रीमान्–श्रीमतीकै नाममा छन् ।

श्रीमान्–श्रीमतीमध्ये कोही एकको मृत्यु भए जीवित अर्कोले अधिकार पाउने गरी संयुक्त रूपमा लालपुर्जा वितरण गरिएको उनको भनाइ छ । ‘यसले महिलाको पनि घरजग्गामा स्वामित्व स्थापित गराउँछ,’ उनले भने । नगरपालिकाले अन्य क्षेत्रमा समेत गाउँब्लक, ऐलानी जग्गा नापी गर्ने कार्य गरिरहेको नगर प्रमुख कार्कीले बताए । नापी कार्यालयले केही दिनअघि मात्रै सिरसिया, धिरापुर बस्तीका गाउँब्लकभित्रका १ सय ६३ घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गरेको कार्यालय प्रमुख राकेशकुमार झाले बताए ।

प्रकाशित : चैत्र ३१, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?