१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बम विस्फोटको आरोपमा गोइत समूहका दुई कार्यकर्ता पक्राउ

भरत जर्घामगर

सिरहा — सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यू गिरि छन् । 

बम विस्फोटको आरोपमा गोइत समूहका दुई कार्यकर्ता पक्राउ

लहान नगरपालिका–८ स्थित भाडामा रहेको मालपोत कार्यालयको पहिलो तलामा गत चैत १ गते बम विस्फोट घटनामा ८ जना घाइते भएका थिए । प्रेसर कुकर बम विस्फोटमा परी कार्यालयमा समेत क्षति पुगेको थियो । विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)ले लिएको थियो । घटनास्थलमा समेत उक्त समूहको पर्चा फेला परेको थियो ।

पक्राउ परेका यादवले आरके भन्ने रामकुमार यादवले फागुन २६ गते लहानदेखि दक्षिण भगवानपुर गाउँपालिकास्थित ठाडी भन्ने स्थानमा आफूलाई प्रेसर कुकर बम दिएको र मालपोत कार्यालयमा पड्काउन लगाएको बताएका छन् । रामरिझन २०७४ चैत ९ गते लहानमा अवस्थित विकास ट्रेडर्समा भएको बम विस्फोटको मुद्दामा जिल्ला अदालत सिरहाबाट १ लाख धरौटीमा छुटेका थिए । उनी विराटनगर उपमहानगरपालिकामा २०७५ साउन ३१ गते भएको बम विस्फोटको मुद्दामा पनि ३५ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

पक्राउ परेका अभिमन्यु गिरि गोइत समूहमा ५ वर्षदेखि कार्यरत रहेको र चन्दा असुलीमा समेत संलग्न रहेको पाइएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गिरी र यादवको साथबाट प्रहरीले कटुवा पेस्तोल दुई थान र त्यसमा प्रयोग हुने चार थान गोली बरामद गरेको छ ।

प्रकाशित : चैत्र १७, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?