३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

महोत्तरीका बेपत्ता दम्पतीको अवस्था अझै अज्ञात

महोत्तरी — पिपराका एक दम्पतीलाई बेपत्ता पारेको आरोपमा ४ जना पक्राउ परे । तर दम्पतीको अवस्था अझै अज्ञात छ । आरोपितको फरक–फरक बयानका कारण पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

फागुन १० को राति ६५ वर्षीय मुसफिर झा र उनकी श्रीमती ६० वर्षकी गीतादेवी झा घरबाटै बेपत्ता पारिएका हुन् । घटनामा संलग्नताको आरोपमा प्रहरीले आइतबार पिपरा गाउँपालिका–५ सहोडवाका रामबाबु यादव, उनका जेठा छोरा सुरेन्द्र यादव, कान्छा राजेन्द्र यादव र भारतको मधुवनी घर भई पिपरा–६ बनौली बस्ने हरेन्द्र ठाकुरलाई सार्वजनिक गरेको थियो ।

महोत्तरी प्रहरीका एसपी दिनेश आचार्यले घटनामा संलग्न देखिएपछि पक्राउ परेका अभियुक्तबाट प्रस्ट बयान नआएका कारण झा दम्पतीलाई फेला पार्न नसकिएको बताए ।

आचार्यका अनुसार भारतसहित महोत्तरीका शंकास्पद ठाउँमा उनीहरूको खोजी भइरहेको छ । पक्राउ परेका भारतीय नागरिक हरेन्द्र जग्गा कारोबारी भएको प्रहरीले जनाएको छ । उनको सहोडवामा प्लटिङ गरेको १३ बिघा जग्गाको उत्तरतर्फ झाको १४ कट्ठा जग्गा छ ।

आफ्नो जग्गामा बाटो पुर्‍याउन उनले झालाई जग्गा बेच्न दबाब दिँदै आएका थिए । झा जग्गा बेच्न सहमत थिएनन् । हरेन्द्रले बाटो हुँदा आफ्नो जग्गा घडेरीको मूल्यमा बिक्री हुने भन्दै झालाई बोलाउने र दबाब दिने गरेका थिए । रामबाबु यादवको माध्यमबाट हरेन्द्रले प्लटिङको जग्गा किनेको र उनीहरू साझेदार रहेकाले यादवले समेत झा दम्पतीलाई दबाब दिँदै आएको प्रहरीले बताएको छ ।

प्रकाशित : चैत्र ११, २०७७ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?