कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शंकास्पद वस्तु पड्किँदा महिला घाइते

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको रामनगरस्थित वाग्मती नदीको बगरमा बेवारिसे अवस्थामा छाडिएको शंकास्पद वस्तु पड्किँदा सोमबार साँझ घाँस काट्न गएकी एक महिला गम्भिर घाइते भएकी छन् । 

रौतहटको माधवनारायण नगरपालिका–८ पिपरा रजवाडाकी ३५ वर्षीया सुनिता देवी सोमबार साँझ घाँस काट्न वाग्मती नदी वारी आएकी थिइन् । नदीको बगरमा घाँस काट्ने क्रममा सुनिताको हातमा श‌ंकास्पद वस्तु परेको थियो । उक्त वस्तु हात लाग्नासाथ पड्केको स्थानीयले बताएका छन् ।

गम्भिर घाइते भएकी सुनिताको रौतहटको गौरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको हातमा गम्भिर चोट लागेको अस्पतालले जनाएको छ ।

यता घटना भएको स्थान पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर र इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । तर, अहिलेसम्म घटना भएको स्थानमा विस्फोट भएको वस्तु फेला नपरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

उनले एक महिला घाइते भएको खबर रौतहट प्रहरीबाट आएपनि वास्तविकता के भएको हो भन्ने बारेमा यकिन हुन नसकेको जानकारी दिए ।

प्रकाशित : चैत्र ९, २०७७ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?