कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नाका खुलेसँगै कोरोनाको त्रास

भारतबाट फर्किनेहरुको अभिलेख राखिँदै,  सीमामा सतर्कता र निगरानी बढाउन चिकित्सकको सुझाव
प्रदेश २ ब्युरो

जनकपुर — झन्डै एक वर्षपछि सीमानाका पूर्णरूपमा खुलेपछि प्रदेश २ मा कोरोना संक्रमणको त्रास बढेको छ । भारतका विभिन्न राज्यमा उच्च दरमा संक्रमित थपिइरहेका बेला सीमामा सतर्कता नअपनाउँदा जोखिम बढेको हो । भारतसँग प्रदेश २ को ४ सय ६० किलोमिटर लामो सीमा जोडिएको छ । खुला सीमामा कारण कोरोना संक्रमण फेरि नेपाल भित्रिन सक्ने चिकित्सकहरूको आंकलन छ । 

नाका खुलेसँगै कोरोनाको त्रास

कोभिड १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँगका नाका खुला गर्ने सिफारिस गरे पनि चिकित्सकले सीमामा सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले बिहीबार भारतसँगका नाकामा सवारी आवागमन खुलाउन सरकारलाई सिफारिस गरेको थियो । भारतले कात्तिक ६ देखि नेपालतर्फका केही नाका खुला गरिसकेको छ ।

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. नीरजकुमार सिंहले भारतीय राज्यमा संक्रमण तीव्र बढेकाले नाकामा सतर्कता अपनाउन सुझाव दिएका छन् । केही दिनअघि भारतको कोलकता र मुम्बईबाट वीरगन्ज आएका तीन जनामा गम्भीर प्रकृतिको निमोनिया देखिएको उनले बताए । ‘होली पर्वका लागि भारतबाट आउने नेपालीको संख्या बढ्छ,’ डा. सिंहले भने भने । वीरगन्जको सीमावर्ती सहर रक्सौलस्थित रेल्वे स्टेसनमा शनिबारदेखि स्वास्थ्यकर्मीले नयाँदिल्लीबाट आएका यात्रुको स्वास्थ्य परीक्षण थालेका छन् ।

रोजगारीका लागि भारत गएकाहरू फर्किन थालेपछि जिल्ला प्रशासन कार्यालयले अभिलेख राख्न थालेको छ । पछिल्लो समय महाराष्ट्रलगायतका सहरमा संक्रमण बढेको छ । यही सहरमा रौतहटका विभिन्न स्थानीय तहका मानिस काम गर्न पुगेका छन् । संक्रमणकै कारण उनीहरू फर्कन सक्ने भन्दै सीमामा अभिलेख राख्न थालेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले भने, ‘पारिबाट आएकालाई केही समय घरमै बस्न भन्छौं ।’ प्रशासनले सीमाक्षेत्रको गौर नाकामा हेल्पडेस्क राखेर पारिबाट आउने र जानेको अभिलेख राख्दै आएको छ । प्रजिअ यादवका अनुसार अहिले पैदल यात्रुलाई मात्र ओहोरदोहोर गर्न दिइएको छ । माथिबाट आदेश नभएकाले सवारीलाई रोक लगाएको प्रशासनले जनायो । गत चैत अन्तिम साता कोरोना संक्रमणका कारण रोजगारी गुमेर भारतबाट घर फर्केकाहरूमा संक्रमण देखिएको थियो ।

नेपाल–भारत सीमामा चोरबाटो भएर वारपार गर्नेको अभिलेख संकलन गर्न सर्लाही प्रशासनलाई भने समस्या देखिएको छ । औपचारिक नाका, प्रहरी उपस्थिति रहेको स्थाननजिकका खेत भएर दैनिक हजारौं मानिस वारपर गरिरहेका छन् । उनीहरूको न अभिलेख राखिएको छ, न त वारपार गर्नेको स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले चोरबाटो प्रयोग गर्नेको हकमा अब कडा निगरानी गरिने बताए । ‘मास्क, सेनिटाइजर र खोपलाई प्राथमिकता दिँदै सीमामा अवैध तरिकाले आउजाउ गर्नेको हकमा कडाइ गर्छौं,’ उनले भने । गत चैत ११ देखिको देशव्यापी लकडाउन तथा सीमा बन्दयता सर्लाहीको सीमा खुल्न सकेको छैन । नाका नखुल्दा अत्यावश्यक काममा नागरिक चोरबाटो भएर यात्रा गर्न बाध्य छन् ।

प्रकाशित : चैत्र ८, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?