३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘पानीमा डुबेर रेल देख्न नपरोस्’

रेलवे लिकका लागि बस्तीभन्दा करिब १५ फिट अग्लो सडक र कल्भर्ट बनाएपछि बर्खाका बेला डुबिने हो कि चिन्तामा स्थानीय
शिव पुरी

रौतहट — घरछेउबाटै रेल गुड्ने भएपछि चन्द्रपुर–८ सन्तपुरका ४९ वर्षीय कृष्ण चौधरी खुसी थिए । रेल गुड्ने लिकमा उनको पनि चार कठ्ठा जग्गा परेको छ । तर रेल गुड्न बनाइएको ड्याम देखेपछि उनको होस उडेको छ । रेलवे लिकका लागि बस्तीभन्दा करिब १५ फिट अग्लो सडक र कल्भर्ट निर्माण गरिएपछि बर्खाका बेला डुबिने हो कि भन्ने चिन्ताले चौधरीलाई सताएको छ ।

‘पानीमा डुबेर रेल देख्न नपरोस्’

रेल गुड्ने ठीक उत्तरतिर उनको घरसहित पुरानो बाक्लो चौधरी बस्ती छ । अग्लो बाँधका कारण पानीले निकास नपाउँदा डुबान खेप्नुपर्ने भन्ने चिन्ता परेको उनले बताए । ‘वर्षायाममा दुःख पाउँछौं, बाढीमा घरबार डुब्ने हो कि ? अब रेलभन्दा पनि डुबानकै चिन्ताले सताउन लाग्यो,’ उनले भने, ‘सानो कल्भर्टले कसरी भेल थेग्छ । पानीमा डुबेर रेल देख्न नपरोस् ।’ रेलको ट्र्याक निर्माण गर्न बनाइएको २५/२६ फिट अग्लो ड्यामले नजिकको बस्ती र खेतीयोग्य जमिन डुबानमा पार्ने हो कि भन्नेमा स्थानीय त्रस्त छन् ।

पानीको बहावका लागि व्यवस्थित ढंगले पुल, कल्भर्ट र नाला निर्माण नगरिएकाले बर्खाका बेला डुबान हुन्छ भन्नेमा स्थानीय छन् । चन्द्रपुर–६ का वडाध्यक्ष खड्क कुशवार पनि रेलको ड्यामले चुरेदेखि आउने पानीको भेल थेग्न नसक्ने बताउँछन् । ‘थोरै स्थानमा बनाइएको कल्भर्टले पानीको निकास हुन्छ भन्ने लाग्दैन,’ उनले भने, ‘अहिले पनि केही बिग्रेको छैन । सम्भावित खतरालाई दृष्टिगत गर्दै पानीको निकास खोज्न सके राम्रो हुन्छ ।’

कतिपय जग्गाधनीसँग मुआब्जा विवाद नमिलेकाले बीचमै काम बन्द भएको छ । वरिपरि ग्राभेल थुपारेर त्यत्तिकै छाडिएको छ । रेलको संरचनाले वरिपरिको मानवीय बस्तीलाई पर्न सक्ने समस्याबारे नेपाल र भारतको सरकारले वास्ता नगरेको सन्तपुरका कांग्रेस नेता सुभाष कोइरालाको भनाइ छ । केही दिनअघि रेलवेको निर्माणस्थल पुगेर स्थानीयले पानीको निकास खै भनेर प्रश्न गरेका थिए । तर निर्माण कम्पनीले जवाफ दिन सकेन । ‘रेलजस्तो पूर्वाधारले व्यवसाय बढ्दा फाइदा हुने भए पनि निर्माण गर्दा स्थानीयसँग सल्लाह जरुरी थियो,’ कोइरालाले भने, ‘डुबानले मानवीय क्षति भयो भने यो रेल गुडेको के काम ?’

लिकका लागि निर्मित अग्लो सडकले पानी थुनिएर बेतौना क्षेत्रमा गत वर्ष खेत डुबानमा पारेको थियो । जमिनको सतहबाट १० देखि २५ फिट अग्लो बाँधजस्तो रेलमार्ग र नेपालतर्फको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) लाई चारैतिरबाट पर्खाल लगाइने भएकाले पानी निकासमा अवरोध हुने धेरैको अनुमान छ । रेल विभागले रौतहटको वाग्मतीदेखि लक्ष्मीनियासम्म १७.८ किलोमिटर ट्र्याक बनाउन चार वटा प्याकेजमा ठेक्का लगाएको छ । सबै प्याकेज २०७८ माघ १४ मा सक्नुपर्ने सम्झौता छ । पहिलो चरणमा लमाहासम्म मात्र ट्र्याक बनाउन लागिएको हो ।

रेलवे विभागका डीई देवेन्द्र साहले भने जग्गाको उचाइको अवस्था हरेर त्यहीअनुसारको अग्लो ड्याम बनाइएको र पानीको निकासका लागि पर्याप्त कल्भर्ट निर्माण भइरहेकाले समस्या नहुने दाबी गरे ।

प्रकाशित : चैत्र ६, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?