१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सीमाबाट किशोरीको उद्धार

शिव पुरी

रौतहट — रौतहटको नेपाल–भारत सीमा नाकाबाट बुधबार प्रहरीले एक किशोरीको उद्धार गरेको छ । उनलाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले उद्धार गरेको हो ।

सीमाबाट किशोरीको उद्धार

साताअघि हेटौंडाको एक होटलमा काम गर्दै आएकी १७ वर्षीया निर्मला तामाङलाई जिल्लाको ईशनाथ नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले उद्धार गरेको हो ।

तामाङले आफ्नो घर दोलखामा भएको तर पालिका थाहा नभएको बताएकी छन् । उनले बुबाको नाम पासबिर तामाङ बताएपछि जिल्ला प्रहरी रौतहटले अभिभावकसित सम्पर्क गरेको थियो । तर कोही सम्पर्कमा नआएपछि चन्द्रनिगाहपुरस्थित मेची महाकाली बुहारी संयुक्त आवाज २ नम्बर प्रदेश कार्यलयमा सुरक्षित साथ राख्न जिम्मा दिइएको प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए ।

महिला हकहितका लागि आवाज उठाउँदै आएको बुहारी संयुक्त आवाज प्रदेश संयोजक पूजा पाठक तिमल्सिनाले सीमा क्षेत्रबबाट उद्धार गर्न सफल किशोरीको अभिभावकको सम्पर्कमा लागि परेको बताइन् । ‘पीडितलाई सुरक्षा साथ रोजगारको समेत व्यवस्था हुने गरी मानव सेवा आश्रम हेटौंडाको रोहबरमा राख्न पहल गर्नेछौं,’ उनले भनिन्, ‘किशोरीको घर ठेगाना पत्ता लगाउन सके राम्रो हुन्थ्यो । हामी त्यसैमा लागेका छौं ।’ उनलाई कसले किन सीमा क्षेत्र पुर्‍याइएको हो भन्ने खुलेको छैन । प्रहरीले पनि यस विषयमा सूक्ष्म अनुसन्धान गरेको बताएको छ । किशोरीले पनि आफूलाई रौतहटसम्म ल्याउने मानिसबारे बताएकी छैनन् ।

प्रकाशित : चैत्र ४, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?