१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

२० दिनदेखि दम्पती बेपत्ता

प्रहरी भन्छ– ‘मृत भनौं शव भेटिएको छैन, जीवित भनौं मानिसको पत्तो छैन’

जनकपुर/महोत्तरी — महोत्तरी पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा फागुन १० गते साँझ खाना खाएर सुत्ने तरखरमा थिए । ६० वर्षीया श्रीमती गीतादेवी र कान्छी बुहारी उषादेवी भने गफिँदै थिए ।

मुसाफिर सुत्ने कोठामा छिरेलगत्तै गीतादेवी छेउमै बनिरहेको अर्को घरको कोठामा सुत्न गइन् । बुहारी पनि भान्साको काम सकेर छोरासँग अर्कै कोठामा सुतिन् ।

बिहान अबेलासम्म झा दम्पती उठेनन् । बुहारीले जब सासूससुरा सुतेको कोठा खोलिन्, छाँगाबाट खसेजस्तै भइन् । रित्तो कोठामा जताततै रगतका छिटा थिए । उनले छरछिमेकी र प्रहरीलाई खबर गरिन् । त्यसयता बेपत्ता दम्पतीको अझै पत्तो लागेको छैन । प्रहरी र पीडित परिवारले खोजी गरेको २० दिन पुगे पनि उनीहरूको अवस्था अज्ञात छ । प्रदेश २ प्रहरीका प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार झा दम्पतीलाई खोज्न भारत र मुलुककै अन्य प्रदेशसँग समन्वय भइरहेको छ । ‘घटनाको २० दिन भइसक्यो । हामी आफैं चिन्तित छौं,’ डीआईजी सिंहले कान्तिपुरसँग भने, ‘व्यक्तिगत, पारिवारिक र आर्थिक पाटोबाट घटनाको अनुसन्धान भइरहेको छ । धेरै तथ्यहरू केलाउँदा घटनाको कारण नजिक पुगेका छौं । केही दिनमै सब कुरा प्रस्ट हुन्छ ।’

प्रहरीको अनुसन्धानले मुसाफिरको जग्गा विवाद रहेका रामजी यादवले दम्पती बेपत्ता प्रकरणमा झूटो बयान दिएको पोलिग्राफ जाँचबाट खुलेको छ । ‘पोलिग्राफबाट रामजीले झूटो बोलेको देखिन्छ । धेरै ठाउँमा उनले शंकास्पद बयान दिएका छन्,’ प्रहरी स्रोतले बतायो । प्रहरीले यस प्रकरणमा चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गीतादेवी सुतेको खाट र भुइँमा रगतका छिटा देखिएको र मुसाफिर सुतेको कोठा बाहिर घिसारेर निकालेकोजस्तो देखिएको आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए । छानबिन र सोधपुछसहित प्राविधिक परीक्षणका काम भइरहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । रगतका छिटाजस्तो देखिएको पदार्थ रगत हो वा होइन भन्ने रिपोर्ट राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट आउन बाँकी रहेको र त्यसबाट धेरै कुरा प्रस्ट हुने डीएसपी विष्टले बताए । ‘झा दम्पती मृत भन्न शव फेला पर्‍या छैन, जीवित भन्न मानिस भेटिएको छैन,’ डीएसपी विष्टले भने, ‘त्यसैले घटना रहस्यमै छ, हामी अनुसन्धान गरिरहेकै छौं ।’

परिवारका सदस्यले भने यतिका दिनसम्म घटनाकै यकिन नहुनु दुःखद रहेको बताएका छन् । घटनास्थल प्रहरीको निगरानीमै रहेको र झा दम्पती बेपत्ता भएको कोठामा प्रमाण नष्ट नहोस् भनेर प्रहरीले सिल गरेर राखेको छ । मालपोत कार्यालयमा ४० वर्ष काम गरेर मुसाफिरले १० वर्षअघि मात्रै अवकाश लिएका थिए । भूमि व्यवस्था कार्यालय जलेश्वरमा मोहियानी हकसम्बन्धी एउटा जग्गाको मुद्दामा छिमेकी गाउँका एक व्यक्तिको पक्षमा मुसाफिरले वकालत गर्दै आएका थिए । छिमेकी र परिवारले दम्पतीलाई जग्गा विषयकै मुद्दाको रिसमा बेपत्ता पारिएको हुन सक्ने बताएका छन् ।

प्रकाशित : चैत्र २, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?