कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारामा युवकको हत्या, साथी पक्राउ

लक्ष्मी साह

बारा — निजगढ बजारमा घाँटीमा चक्कु प्रहार गरी सोमबार राति एक युवकको हत्या गरिएको छ । हत्या आरोपमा प्रहरीले मृतकका साथीलाई रौतहटको चन्द्रपुर नगरपालिकाबाट मंगलबार पक्राउ गरेको छ ।

बारामा युवकको हत्या, साथी पक्राउ

निजगढ नगरपालिका–९ बुद्ध चोकस्थित घर भएका १८ वर्षीय रोहित शर्मालाई हत्या गरेको आरोपमा रौतहट चन्द्रपुर नगरपालिका–९ का २९ वर्षीय अरुण साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

शर्मा घरमा एक्लै रहेको मौका छोपी साहले हत्या गरी फरार भएको जिल्ला प्रहरी प्रवक्ता मिश्रले बताए । ‘लागूऔषध सेवन गर्ने विषयमा दुवैमा विवाद हुँदै आएको थियो, एक अर्कालाई मारिदिने धम्की दिने र आपसमा पटकपटक भनाभन भइरहने गरेको थियो,’ प्रहरी नायब उपरीक्षक मिश्रले भने, ‘यही बीचमा साहले हत्या गरी आफ्नो चन्द्रपुर घरमा बसेको थियो ।’

साहले आफूले नै हत्या गरेको प्रहरी समक्ष साबिती बयान दिएको प्रहरीले बताएको छ । हत्यामा प्रयोग भएका चक्कु, साहको मोटरसाइकल समेत बरामद गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी अनुसन्धान अधिकृतले बताएका छन् ।

घरको माथिल्लो तल्लाको कोठामा रगताम्य अवस्थामा शर्मा मृत फेला परेका थिए । सोही घरको भुइँतल्ला कोठामा होटल व्यवसाय गर्नेले होटल खोल्न आउँदा घटना भएको थाहा पाएका थिए ।

प्रकाशित : फाल्गुन २५, २०७७ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?