कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जुवाडे छुटाउन जनप्रतिनिधिको दबाब

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको लालबन्दीबाट सोमबार पक्राउ परेका १३ जना जुवाडेहरुलाई छुटाउन जनप्रतिनिधिले स्थानीय प्रहरीलाई दबाब दिएका छन् ।

पक्राउ परेका जुवाडेलाई म्याद थपका लागि मंगलबार सदरमुकाम मलंगवातर्फ लाने क्रममा लालबन्दी नगरपालिकाका मेयर, उपमेयरसहित स्थानीयले अवरोध गरेका हुन् ।

१ लाख ५४ हजार ४४५ रुपैयाँ नगदसहित पक्राउ परेका जुवाडेलाई छुटाउन लालबन्दी नगरका मेयर मानबहादुर खड्का, उपमेयर शान्ति लामा लगायतका स्थानीय इलाका प्रहरी कार्यालय लालबन्दी पुगेका थिए । उनीहरुले पक्राउ परेकाहरु निर्दोष रहेको भन्दै छुटाउन दबाब दिएका थिए ।

मनोरञ्जनका लागि खेलेको भन्दै परिवारजनले भनेपछि आफूहरु प्रहरी कार्यालयमा पुगेको मेयर खड्काले बताए । ‘जुवा खेलेको आरोपमा पक्राउ परेपछि आफन्तले निर्दोष रहेको भन्दै हामी कहाँ आएपछि जनप्रतिनिधिको नाताले हामी पनि इलाका प्रहरी कार्यालयमा पुग्यौं, पक्राउ परेकाहरु गलत मानिस नभएकाले हामी पुगेका हौं,’ उनले भने, ‘सार्वजनिक स्थलमा खेलेको प्रहरीले बताएपछि हामी फर्कियौं ।’

पक्राउ परेका सबै स्थानीय तरकारी व्यापारी हुन् ।

जुवाडेहरुलाई अहिले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगिएको छ । लालबन्दी नगरपालिका–७ डुमडुमेस्थित तरकारी बजारको एक होटलबाट प्रहरीले १३ जना जुवाडेलाई पक्राउ गरेको थियो ।

प्रकाशित : फाल्गुन २५, २०७७ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?