२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

गाउँपालिकाको केन्द्र सार्ने विषयमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

ओमप्रकाश ठाकुर

काठमाडौँ — सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्न लागेको भन्दै स्थानीयले गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोका स्वकीय सचिवलाई आक्रमण गर्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ ।

गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोको स्वकीय सचिव रामकैलाश साहलाई केन्द्र सार्ने निहुँमा स्थानीय आक्रमणमा उत्रिएपछि प्रहरीले समान्य बल प्रयोग गरेका थिए । प्रदर्शनकारीले प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि १३ राउन्ड अश्रुग्यास प्रहार गरी भीड नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए । प्रहरीसँगको झडपमा परेर डेढ दर्जन घाइते भएका छन् भने चार प्रहरी घाइते छन् । घाइते सबैको अवस्था सामान्य छ । ‘कार्यालय सार्न खोजेको भन्दै एक समूहले अध्यक्षज्युको स्वकीय सचिवमाथि आक्रमण गर्न थालेपछि हामीले बल प्रयोग गर्‍यौं, हामी माथि पनि ढुंगामुढा हुन थाल्यो,’ उनले भने, ‘स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीको तर्फबाट १० र सशस्त्र प्रहरीको तर्फबाट ३ राउन्ड अश्रुग्यास प्रहार गर्नुपर्‍यो, अहिले अवस्था सामान्य छ ।’ गाउँपालिकाको केन्द्र रहेकै वडाको रहेका साहलाई सुरक्षाका लागि सदरमुकाम मलंगवा ल्याइएको प्रहरी उपरीक्षक राठौरको भनाइ छ ।

गाउँपालिकाको वडा नम्बर ७ स्थित नाढी मन तालको छेउमा रहेको कार्यालय वडा नम्बर २ बबरगञ्जमा सार्न खोजेको भन्दै गाउँपालिकाका वडा नम्बर ६ र ७ का स्थानीय विरोधमा उत्रेका थिए । प्रदर्शनकारीहरुले गाउँपालिकाको भवन अहिलेकै स्थान नाढीमन तालमै व्यवस्थापन गरेर राख्नु पर्ने माग राख्दै आएका छन् । प्रदर्शनकारीले भने गाउँपालिकाका अध्यक्षले आफ्नो गाउँमा केन्द्र राख्न चलखेल गरेको आरोप लगाएका छन् । कांग्रेस नेता सत्यदेव सिंहले गाउँपालिकाको केन्द्र सार्न खोजेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेको जानकारी दिए । ‘बहुमतको खेलमा लागेर गाउँपालिकाका अध्यक्ष महतोले आफ्नै गाउँमा केन्द्र सार्न खोजेपछि स्थानीयले विरोध जनाएका छन्,’ उनले भने, ‘यो षड्यन्त्रको हामी विरोध गर्छौं ।’ अध्यक्ष महतोले कार्यालयमा गाउँसभा बोलाउनुको साटो बबरगञ्जस्थित आफ्नै घरमा गाउँ सभा बोलाएर षडयन्त्र गरेको स्थानीयको आरोप छ ।

यता गाउँपालिकाका अध्यक्ष महतोले कार्यालय सार्ने निर्णय नै नभएको बताए । उनले शनिबार गाउँपालिकाको विशेष परिषद्बाट निर्णय भएमा मात्र केन्द्र सार्न सकिने जानकारी दिए । महतोले कार्यालय अपायक पर्ने ठाउँ भएकाले केन्द्र सार्न पहिला देखि नै दबाब आइरहेको जनाए । ‘कार्यालय सरिसकेको छैन, भोलि विशेष गाउँपरिषद् बोलाएको छु, परिषद्बाट पास भए मात्र प्रदेश सरकार र संघीय सरकार समक्ष सिफारिस गरिने छ,’ महतोले भने सिफारिस सदर भए मात्र कार्यालय सर्ने छ । उनले प्रस्तावित केन्द्र सबैको पायक पर्ने जानकारी दिए । अध्यक्ष महतोका अनुसार ३९ सदस्यीय गाउँसभामा बहुमत सदस्य केन्द्र सार्नुपर्ने पक्षमा रहेको दाबी गरे ।

प्रकाशित : फाल्गुन २१, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?