१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

वीरगन्जका उद्योगको प्रदूषण मापन गरिँदै

कान्तिपुर संवाददाता

पर्सा — वीरगन्ज महानगर क्षेत्रका उद्योगको प्रदूषण मापन गर्न लागिएको छ । वीरगन्ज महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय वातावरण विभागसँगको समन्वयमा महानगरभित्रका उद्योगले गर्ने सबै खाले प्रदूषणको अवस्था जाँच्न लागेको हो ।

वीरगन्जका उद्योगको प्रदूषण मापन गरिँदै

महाशाखाअन्तर्गतको वातावरण तथा हरियाली प्रवर्द्धन शाखाले गरिरहेको यो कामका लागि उद्योगहरूको लगत संकलनको काम सकिएको महानगर वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख इन्जिनियर सुनिलकुमार कर्णले जानकारी दिए ।

महानगरमा सानाठूला गरी झन्डै दुई सय उद्योग सञ्चालनमा छन् । महानगर र विश्वविद्यालयको संयुक्त विशेषज्ञ टोलीले स्थलगत रुपमै उद्योगबाट हुने प्रदूषणको मूल्यांकन गर्ने उनले बताए । ‘यसमा उद्योग वाणिज्य संघको पनि सहयोग र समन्वय हुनेछ,’ उनले भने, ‘प्रत्येक उद्योगमा पुगेर हावा, पानी, ध्वनि, धुवाँ, धुलो, तापलगायतको प्रदूषणको मूल्यांकन गरिनेछ ।’ मूल्यांकनपछि उद्योगले प्रदूषण गरेको यकिन भए नियन्त्रणका लागि सुझाव तथा निर्देशनसमेत दिइनेछ । अटेर गरे कानुनी कारबाहीको दायरामा ल्याइने कर्णले जानकारी दिए ।

मुलुकको सबैभन्दा ठूलो पर्सा–बारा औद्योगिक करिडोरको ठूलो हिस्सा महानगरभित्रै पर्छ । यहाँका धेरैजसो उद्योगले औद्योगिक प्रदूषण नियन्त्रणका लागि कुनै कदम नचालेकाले महानगरमा प्रदूषण बढेको स्थानीयको गुनासो छ ।

करिडोर भएर बग्ने सिर्सिया खोलामा उद्योगबाट निस्कने प्रदूषित पानी, केमिकल, खरानी जस्ता वस्तु प्रशोधन नगरी फाल्दा खोला दुर्गन्धित भएको छ । तीन दशकयता खोलामा कालो लेदो बग्दा आसपासका बस्तीमा समेत दुर्गन्ध फैलिएको छ । खोलाको पानी चौपायाका लागिसमेत उपयोग लायक छैन ।

प्रकाशित : फाल्गुन २०, २०७७ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?