थप ६० हजार टन मल भित्रियो- प्रदेश २ - कान्तिपुर समाचार

थप ६० हजार टन मल भित्रियो

कान्तिपुर संवाददाता

पर्सा — कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरबाट ३०/३० हजार टन युरिया र डीएपी मल भित्र्याएको छ । वीरगन्ज, भैरहवा र विराटनगर नाकाबाट मल भित्रिइरहेको कम्पनीको वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख गोरखनाथ केसीले जानकारी दिए । हाल मलको अन्तिम लट भित्रिने क्रममा छ ।

स्विस सिंगापुर कम्पनीले ३० हजार टन युरिया र भारतको देश ट्रेडिङ कम्पनीले ३० हजार टन डीएपी मल तीन वटा नाकाबाट नेपाल ल्याएको हो । ‘वीरगन्जबाट १२ हजार ५ सय, भैरहवाबाट १०/१० हजार र विराटनगर नाकाबाट ७ हजार ५ सय टनका दरले युरिया र डीएपी भित्रिँदै छ,’ उनले भने, ‘वीरगन्जको कोटाको मल सिर्सिया सुक्खा बन्दरगाहबाट क्रमशः भित्रिँदै छ । भैरहवाको सुनौली र विराटनगरको जोगबनीमा रेलबाट आइरहेको छ ।’ वीरगन्ज नाकाबाट १ हजार ५ सय टन डीएपी मात्र भित्रिन बाँकी रहेको र अन्य नाकाबाट दुवै मल करिब भित्रिइसकेको उनले जानकारी दिए ।

दुई साताअघि पनि कम्पनीको ३० हजार टन युरिया नेपाल भित्रिएर त्यसको अधिकांश परिमाण माग भएका जिल्लामा परिचालनसमेत भइसकेको केसीले बताए । त्यही लटले अहिले किसानले गहुँ खेतीमा प्रयोग गर्न सहज भएको उनको दाबी छ । अहिले भित्रिएको मल पनि माग भएका जिल्लामा परिचालन गर्न सकिने उनले बताए । ‘गहुँ बालीकै लागि माग आए सम्बन्धित जिल्लामा पठाइनेछ,’ उनले भने, ‘अहिले माग नआए आउँदो धान सिजनका लागि दुवै मल मौज्दात राखिनेछ ।’ कम्पनीको वीरगन्ज कार्यालयले प्रदेश १, २ र वाग्मती प्रदेशसहितका डेढ दर्जनभन्दा बढी जिल्लामा मल वितरण गर्दै आएको छ ।


प्रकाशित : फाल्गुन १६, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्

माहुतेलाई पथप्रदर्शक तालिम पनि

रमेशकुमार पौडेल

चितवन — निकुञ्ज घुम्न आउने प्रायः पर्यटक सौराहा पुगेर हात्ती चढेकै हुन्छन् । एउटा हात्तीमा चार जना बसेर निकुञ्ज आडको बाघमारा या चित्रसेन मध्यवर्ती सामुदायिक वन डुल्छन् ।

हात्ती स्याहार र वन्यजन्तु पहिचानबारे तालिम पाएका सौराहाका माहुते तथा फनित । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

त्यहाँ देखिने हरेक जीव, जनावर, बिरुवा पन्छीबारे घुम्न आउने पर्यटक जानकार नहुन सक्छन् । त्यो बेला पर्यटकले सोध्ने भनेको हात्तीका माहुतेलाई नै हो । माहुतेलाई सबै कुरा मुखाकर नहुन पनि सक्छ ।

‘एकदिन एक जना पर्यटकले यो वनमा नीलगाई पनि पाइँदो रहेछ भने । तर मलाई प्रस्ट थाहा छ– यहाँ नीलगाई छैन । मैले उनलाई कसले भन्यो भनेर सोधें । ती पर्यटकले माहुतेले बताएको भने,’ हात्ती सफारी हुने चितवनको मुख्य वन बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तमाङले भने, ‘डुल्दै जाँदा वनभित्र मृग प्रजातिको ठूलो जनावर जरायो देखिएछ । माहुतेले त्यसैलाई नीलगाई भनेछन् ।’

हात्ती सफारीमा छुट्टै पथ प्रदर्शक जाने गर्दैनन् । त्यसैले माहुते नै गाइड हुन् । ‘माहुतेलाई यहाँ केके जंगली जनावर छन् भन्ने सामान्य जानकारी नभए अनर्थ हुन सक्छ,’ बाघमारासँगै जोडिएको हात्ती सफारी हुने अर्को वन चित्रसेन मध्यवर्ती सामुदायिक वनकी सचिव रिता थापा चौधरीले भनिन् । माहुतेबाटै पर्यटकले सही जानकारी पाउन सक्छन् । वन्यजन्तुको महत्त्व र विशेषता बुझाउन सक्छन् । ‘यसका लागि हामी दुई वटा वन समिति बाघमारा र चित्रसेन मिलेर माहुतेहरूलाई वन्यजन्तु पहिचानको तालिम दियौं । जनावर कसरी चिन्ने मात्रै नभएर हात्तीको स्याहारबारे पनि बतायौं,’ बाघमाराका अध्यक्ष तमाङले भने । हात्ती सफारीबारे अहिले पशु कल्याणको क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय संघसंस्थाले विरोध सुरु गरेका छन् । हात्ती सफारी बन्द गर्नुपर्छ भन्ने उनीहरूको माग हुने गरेको छ ।

निकुञ्ज घुम्न आउने युरोपका पर्यटक हात्ती सफारी नै जाँदैनन् । चिनियाँ, भारतीय र स्वदेशी पर्यटकको भरमा हात्ती सफारी टिकेको छ । हात्ती सफारी नै सौराहाको पर्यटनको आधार हो । तर पछिल्ला समयमा देखिएका यी गतिविधिले यो व्यवसाय नै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढेको छ । माहुतेहरू समझदार छन् । हात्तीको स्याहार र सञ्चालन राम्रोसँग गरेका छन् भन्ने सन्देश गए सफारीको विराध कम हुने ऋषि तिवारी बताउँछन् ।

माहुते र स्याहारमा खट्नेहरू ५२ जनालाई गत साता दुई दिनको तालिम दिएको बाघमारा वनका अध्यक्ष तमाङले जानकारी दिए । तालिमपछि हात्तीको उपयोग र स्याहारबारे नौला कुरा थाहा पाएको माहुते रामकुमार चौधरीले बताए । ‘हात्ती, माहुते हात्ती साहु र चिकित्सक तथा पशु उपचार गर्ने प्राविधिक मिलेर काम गर्नुपर्दो रहेछ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १६, २०७७ १३:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×