पुनर्निर्माण हुँदै नारायणी रंगशाला

शंकर आचार्य

पर्सा — जर्जर बनेको वीरगन्जस्थित नारायणी रंगशालाको पुनर्निर्माण सुरु गरिएको छ । रंगशालाको दक्षिणपूर्वी प्यारापिट भत्काएर नयाँ निर्माण गरिँदै छ । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति वीरगन्जका प्रमुख मोहम्मद जियाउल इस्लामका अनुसार हाल ९ लेनको करिब ८० मिटर लामो प्यारापिट निर्माण गर्न लागिएको हो ।

पुनर्निर्माण हुँदै नारायणी रंगशाला

‘राष्ट्रिय खेलकुद परिषद्को लगानीमा यसवर्ष प्यारापिट निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘प्यारापिट निर्माणको काम निरन्तर चल्ने आश्वासन हामीले पाएका छौं ।’

नयाँ रंगशालाको संरचना निर्माण गर्न कुल २ अर्ब ६४ करोड रुपैयाँ लागतको डीपीआर तयार गरिएकोमा पहिलो चरणमा आव २०७४/०७५ मा ७५ लाख र २०७५/०७६ मा ५० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषद्ले निकासा गरेकोमा त्यसबाट कम्पाउन्ड वाल निर्माणको काम सकिएको छ । आव २०७६/०७७ मा राखेपले कभर्डहल निर्माणका लागि २ करोड र रंगशाला/प्यारापिट निर्माणका लागि ५ करोड निकासा गरी टेन्डर आह्वान गरी ठेक्कासमेत लागिसकेको थियो ।

तर कोभिड–१९ महामारीका कारण ठेकेदारले काम गर्न नसकेपछि गत वर्ष उक्त रकम फ्रिज भएको इस्लामले बताए । ‘यसपालि परिषद्ले सोही रकम निकासा गरी रंगशालाको प्यारापिट निर्माणको काम गरिरहेको छ,’ उनले भने, ‘हाल ३ करोड ७२ लाख रुपैयाँमा ठेक्का लागेर यो निर्माण काम भइरहेको छ ।’ रोशन/सागर निर्माण कम्पनीले ज्वाइन्ट भेञ्चरमा ठेक्का पाएको हो ।

ठूलो परियोजना रहेकाले हालको रकम रंगशाला निर्माणलाई अत्यन्त कम रहे पनि जर्जर बनेको रंगशालाले नयाँ जीवन पाउन लागेकाले आफूहरू उत्साही रहेको इस्लाम बताउँछन् । उनले भने, ‘कामले निरन्तरता पाउनुपर्छ र रंगशाला निर्माणका लागि कनिका छरेजस्तो रकम नभई एकमुष्ट रकम लगानी गरिए मात्र यो परियोजना सफल हुन्छ, नत्र एकातिर प्यारापिट बन्ने र अर्कोतिर भत्किने क्रम सुरु हुन्छ ।’

२ अर्ब ६४ करोडमा नयाँ रंगशालाको डीपीआरअन्तर्गत क्रिकेट मैदान, ट्र्याक एन्ड फिल्डसहित फुटबल मैदान, कर्भडहल, कम्पाउन्ड वाल निर्माण हुनेछ । हाल भत्काइएको दक्षिणपूर्वी कुनाको प्यारापिटको पूर्वतर्फको गेट नजिक दुई महिनाअघि ठूलो भाग भासिएर झरिसकेको छ । दक्षिणतर्फ पनि प्यारापिटमा ठूलो भ्वाङ परेको छ । हाल नभत्काइएको रंगशालाको पश्चिम, दक्षिण, उत्तरतर्फ पनि प्यारापिट कयौं ठाउँमा भत्केको छ ।

रंगशालाको मैदान पनि मर्मतसम्भार नहँॅदा प्रयोग गर्न लायक छैन । प्यारापिटका ठाउँठाउँमा झारपात उम्रिएको छ । झन्डै ४ दशकअघि निर्मित यो रंगशालाको नियमित मर्मतसम्भार नगरिँदा जर्जर बन्न पुगेको हो । लागूऔषध दुर्व्यसनीले ठाउँठाउँमा प्यारापिट फुटाएर रड झिकेकाले रंगशाला नै कमजोर भएको छ ।


रंगशालाको इतिहास

तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको सक्रियतामा करिब चार दशकअघि यो रंगशाला निर्माण गरिएको हो । रंगशाला निर्माणका लागि गुरुङ, तत्कालीन नगर प्रमुख तथा हालका विघटित संघीय संसदका सांसद विमल श्रीवास्तव, समाजसेवी हरिप्रसाद गिरी, पशुपतिविक्रम शाहसहितको टोलीले ठूलो मिहिनेत गरेको थियो । तीनैमध्ये एक पशुपतिविक्रम शाह उतिबेला प्रतिकट्ठा ४ हजार रुपैयाँका दरले रंगशालासँगै अस्पताल, छात्रावास, कभर्डहललाई समेत ३० बिघा जग्गा खरिद गरेको बताउँछन् ।

त्यतिबेला खरिद गरिएको ३० बिघा जग्गामध्ये धेरै जग्गा अतिक्रमणमा परेको छ । ‘रंगशाला निर्माण भएपछि त्यसमा दोस्रो राष्ट्रिय खेलकुद, पञ्चायत रजत जयन्ती कार्यक्रमहरूसमेत आयोजना भए, वीरगन्जवासीले गर्व गर्न लायक धरोहरमध्ये एक यो रंगशाला उतिबेला राजधानीको दशरथ रंगशालापछिकै ठूलो र भव्य रंगशाला मानिएको थियो,’ उनले भने, ‘तर न यसको संरक्षण गरियो, न त नियमित मर्मतसम्भार नै गरियो, त्यसको परिणाम चार दशक पनि रंगशाला टिक्न सकेन ।’

प्रकाशित : फाल्गुन ११, २०७७ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?