कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

टेन्डरमा जबरजस्ती, सेटिङमा ठेक्का

अवधेशकुमार झा

राजविराज — डिभिजन वन कार्यालय सप्तरी अन्तर्गत सब डिभिजन वन कार्यालयको भवन निर्माणको टेन्डर फारम भर्न सप्तरीकै शम्भुनाथ नगरपालिका-१ का जिवछ साह सोमबार बिहान ११ बजे डिभिजन वन कार्यालय राजविराजको मूल गेट पुगे ।

टेन्डरमा जबरजस्ती, सेटिङमा ठेक्का

मूल गेटमा रहेका सशस्त्र वन रक्षक र केही निर्माण व्यवसायीहरुले उनलाई भित्र छिर्न दिएनन् । दिनको १२ बजेसम्म टेन्डर फारम भर्ने अन्तिम समय थियो । ११ बजेर ५७ मिनेटसम्म उनी डिभिजन वन कार्यालयको मूल गेटमा कराइरहे । तर गेट थुनेर बसेका सशस्त्र वन रक्षक र केही ठेकेदारहरुले उनलाई भित्र छिर्न दिएनन् ।

१२ नबज्दै उनी जसोतसो पत्रकारहरुको हुलमा भित्र छिरे । भित्र छिर्दा उनको टेन्डर फारमसहितको खाम च्यातियो । यद्यपि उनी १२ नबज्दै डिभिजन वन प्रमुख सन्तोषकुमार झाका अगाडि उभिए । तर खाम च्यातिएको भन्दै उनको टेन्डर कार्यालयले लिएन् । ‘कार्यालयकै सेटिङमा मलाई गेटबाट भित्रै छिर्न दिइएन्,’ साहले कान्तिपुरसित भने, ‘कार्यालयका वन रक्षक र केही ठेकेदारले गेटमै जबरजस्ती रोके ।’

४२ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त सब डिभिजन वन कार्यालय भवनका लागि डिभिजन वन कार्यालयले टेन्डर आह्वान गरेको थियो । ‘निर्माण व्यवसायी संघका केही पदाधिकारी र सदस्यहरु नै जबरजस्ती गर्ने कार्यमा उभिए,’ साहले भने । उक्त टेन्डर सेटिङमा लिन बिहानैदेखि निर्माण व्यवसायी संघ सप्तरीका केही पदाधिकारीहरु सक्रिय भएका थिए । कार्यालय समेतलाई विश्वासमा लिई उनीहरुले प्रतिस्पर्धा नगराई सेटिङमा ठेक्का पार्न खोजेका थिए । तर केही ठेकेदारले प्रतिस्पर्धामै टेन्डर हुनुपर्ने भन्दै आफूहरुले फारम भर्ने अडान लिएपछि उनीहरुलाई गेटभित्र छिर्न रोक लगाइएको थियो । ‘पटक पटक प्रहरीलाई फोन गरे, समयमा आएनन्,’ साहले भने, ‘गेटबाटभित्र जान खोज्दा हातपात गरे, फारम च्याते तर भित्र छिर्न दिएनन् ।’

पत्रकारहरु आउँदा अन्तिम समयमा आफूभित्र छिर्न पाएको बताउँदै उनले भने, ‘समयमै कार्यालय प्रमुखका अगाडि उभिँदा पनि मेरो फारम दर्ता भएन्, यो सरासर जबरजस्ती र सेटिङ हो । यो अन्यायका विरुद्ध म अदालत जान्छु,’ साहले भने । ‘पहिला यस्तो दादागिरी हुन्थ्यो,’ उनले भने, ‘कार्यालय र केही ठेकेदारको मिलेमतोमा फेरि सेटिङमा ठेक्का गर्ने विषयलाई पुनरावृत्त गर्न खोजिएको छ ।’

उक्त ठेक्काका लागि २७ जनाले फारम खरिद गरेका थिए । केही ठेकेदारहरु आफैं आफैंमा मिलेपनि प्रतिस्पर्धा नै हुनुपर्ने अडान लिएका ठेकेदारहरुलाई फारम दर्ता गराउन भित्र छिर्न नदिँदा ३ वटा मात्र फारम दर्ता भएको छ ।

डिभिजन वन कार्यालय राजविराजका प्रमुख सन्तोषकुमार झाले कसैलाई पनि फारम दर्ता गर्न नरोकिएको दाबी गरे ।

प्रकाशित : माघ १२, २०७७ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?