चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते

लक्ष्मी साह

बारा — अमलेखगन्ज सडक खण्डमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जको आधाभारमा चितुवाले मोटरसाइकल चढेकामाथि आक्रमण प्रयास गर्दा २ जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । 


बाराको विश्रामपुर गाउँपालिका–१ का २५ वर्षीय मुन्ना पडित कुम्हाल र नाम नखुलेका मोटरसाइकल चालक सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

लोकसेवा आयोगको परीक्षा दिन हिँडेका कुम्हाल ती मोटरसाइकल चालकसित लिफ्ट मागेर हेडौंडातर्फ जाँदै थिए । ‘बिहान ७ बजे बाटो काट्ने क्रममा चितुवाले आक्रमण प्रयास गरेपछि बाइकसहित लड्यौं, हामी दुबै जनाको टाउकोमा सामान्य चोट लाग्यो, चितुवा जंगलतर्फ भाग्यो ।’ डरले आफूहरु बाटैमा लडेको उनले बताए ।

निकुञ्जका सूचना अधिकारी रमेश यादवले चितुवाले बाइकवालालाई आक्रमण गरेको र दुबै जनाको अवस्था सामान्य रहेको बताए । केही साताअघि निकुञ्जको त्यही क्षेत्रमा कारको ठक्करबाट पाटे बाघको मृत्यु भएको थियो ।

केही सातायता पथलैया–निजगढ पूर्वपश्चिम राजमार्गको सहजनाथ जंगल क्षेत्रमा बाघ आउजाउ गरेपछि स्थानीय त्रसित छन् ।


प्रकाशित : माघ १०, २०७७ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्

रुसमा नाभाल्नीको समर्थनमा प्रदर्शन

नाभाल्नीका प्रवक्ता र वकिलसहित दर्जनौं पक्राउ
(एजेन्सी)

मस्को — रुसको जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा गरिएको देशव्यापी प्रदर्शनका क्रममा शनिबार दर्जनौं प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ । प्रहरीले मानिसलाई घरभित्रै बस्न चेतावनी दिएको बीबीसीले जनाएको छ । नाभाल्नीका नजिकका सहयोगीहरूलाई भने शनिबारको प्रदर्शन सुरु हुनुअघि नै पक्राउ गरिएको थियो ।

जर्मनीबाट गत आइतबार देश फर्केका नाभाल्नीलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । जसका कारण उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत विरोध प्रदर्शन आयोजना गरेका हुन् । उक्त प्रदर्शन रुसका ६० सहरमा भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

४४ वर्षीय नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन् । सरकारी भ्रष्टाचारको भण्डाफोर गर्दै आएका नाभाल्नी कैयौंपटक जेल परिसकेका छन् । गत जुनमा संविधान सुधारका लागि रुसमा भएको चुनावलाई उनले ‘कू’ को संज्ञा दिएका थिए । उक्त चुनावले पुटिनलाई थप दुई राष्ट्रपति बन्ने बाटो खोलिदिएको थियो ।

सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्ने दौडमा थिए । तर उनलाई आर्थिक हिनामिनाको आरोप लगाउँदै उम्मेदवार बन्नबाट वञ्चित गरिएको थियो ।

पछिल्लो समय रुसी अधिकारीहरुले नाभाल्नीविरुद्ध भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको र उनी छिट्टै जेल जान सक्ने चेतावनी दिइरहेका थिए । उनले ५० लाख अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लगाइएको छ । तर नाभाल्नीले आफूलाई फसाउने उद्देश्यले आधारहीन आरोप लगाइएको बताउने गरेका छन् । रुसी अधिकारीले नाभाल्नीलाई डिसेम्बरमै हाजिर हुन निर्देशन दिएका थिए ।

निडर स्वभावका ब्लगरको समेत छवि बनाएका नभाल्नीलाई सामाजिक सञ्जालमा लाखौं रुसीले पछ्याउँछन् । सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचितसमेत भएका थिए ।

उनले पिएको चियामा षड्यन्त्रपूर्वक विष घोलिएको उनका समर्थकहरूले दाबी गरेका छन् । उक्त आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजना भएको उनको दाबी छ । तर क्रेमलिनले आफ्नो संलग्नता अस्वीकार गरिसकेको छ ।

नाभाल्नीको आरोपलाई केही खोज पत्रकारहरूको अनुसन्धानले सही भएको देखाउँछ । लामो समयसम्म उनलाई रुसी अधिकारीले कुनै वास्ता गरेनन् । पछिल्लो समय पनि रुसले उक्त घटनाबारे अनुसन्धान गर्नुभन्दा उनलाई पक्राउ गरेको छ ।

नाभाल्नीलाई जेल हालेपछि सरकारी अधिकारीहरुले उनका समर्थकलाई दबाब दिन थालेको छन् । उनको लोकप्रियता बढ्दै गएकाले सत्ता परिवर्तन हुने गरी जनआन्दोलन हुन सक्ने क्रेमलिनको डर छ । तत्कालका लागि त्यस्तो नदेखिएको भए पनि रुसमा बढ्दो आर्थिक समस्याले कुनै बेला नागरिकले परिवर्तन चाहन सक्ने ठानिएको छ । त्यसका साथै नाभाल्नीले आफ्ना भाषणहरुमा पुटिनले गैरकानुनी ढंगले खर्बौ सम्पत्ति थुपारेको आरोप लगाएका छन् ।

गत सेप्टेम्बरमा सम्भावित विष आक्रमणपछि नाभाल्नीलाई उपचारका लागि जर्मनी पुर्‍याएको थियो । तर देश फर्कने क्रममा उनलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए ।

रुसी सञ्चारमाध्यमका अनुसार प्रदर्शनमा अन्य कैयौं अभियानकर्मीसमेत पक्राउ परेका छन् । नाभाल्नीका प्रवक्ता किरा यार्मासलाई प्रदर्शनसम्बन्धी कानुन तोडेको आरोपमा पक्राउ गरिएको छ । उनका एक वकिल ल्युबोभ सोबोलसमेत गिरफ्तार भएका छन् । नाभाल्नीको श्रीमती युलियाले आफू, आफ्ना सन्तान, समान मूल्य र मान्यता तथा नाभाल्नीका लागि मस्कोका प्रदर्शनमा सहभागी हुने जनाएकी थिइन् ।


प्रकाशित : माघ १०, २०७७ २१:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×