१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वर्षैपिच्छे नयाँ बनाइदिने भन्दै भत्काइन्छ घर

‘चरा भए बोटमा बस्न जान्थ्यौँ । मान्छे हौँ, घर चाहिन्छ अब कहाँ जाऊँ ?’ 
भरत जर्घा मगर

सिरहा — नरहा गाउँपालिका–३ नयाँ चोहर्वाकी ६० वर्षीया हरिहर मरिक(डोम) आफ्ना नातिहरु धिरज र निरजलाई लिएर कठ्यांग्रिदो चिसोमा घरबाहिर त्रिपालमा सुत्छिन् । छोरा मन्जय र बुहारी शोभा मरिक छोरीसहित सानो घरमा सुत्छन् । कारण हो–‘सुत्ने घरको अभाव हुनु ।’

वर्षैपिच्छे नयाँ बनाइदिने भन्दै भत्काइन्छ घर

एक कोठे घरमा सुत्नेदेखि भान्सासम्म छ । केही दिनअघि प्रदेश सरकारबाट इँटाको गाह्रो र टिनको छानो भएको घर बनाइदिने भन्दै पुरानो घर भत्काइयो । तर, उनीहरुको घर बनेन् ।

उनीजस्तै सञ्जय मरी, मनोज र बिल्टु मरिकका परिवारले पनि यस्तै समस्या भोगिरहेका छन् । उनीहरुले विगत ५ वर्षदेखि बसोबासका लागि घर बनाउने झन्झट बेहोर्दै आएका छन् । ‘५ वर्षमा तीन पटक हाम्रो घर भत्काइयो । पहिले दुई पटक जमिनदारले आफ्नो जग्गा हो भन्दै खाली गरायो,’ शोभाले भनिन, ‘अहिले बन्न लागेको घर पनि रोक्का भयो । अब कहाँ जाऊँ ।’ घर अभावले चिसोमा रात कटाउन मुस्किल भएको उनले सुनाइन् । वर्षैपिच्छे नयाँ घर बनाइदिने भन्दै घर भत्काइदिने गरेकाले आफूहरु आर्थिक मारमा परेको उनी बताउँछिन् ।

उनीहरुको घर पूर्व–पश्चिम राजमार्गसँग दक्षिणपट्टि टाँसिएको छ । ४ घर डोम परिवार त्यस स्थानमा ६० वर्षदेखि बसोबास गर्दै आइरहेका छन् । सोही ठाउँका जगदेव ठाकुरले आफ्नो जग्गा भएको दाबी गर्दै उनीहरुको घर दुई पटक भत्काइदिए । त्यसपछि उनीहरु केही मिटर पर सरे ।

‘सामुदायिक वनको जग्गा हो भन्दै वन कार्यालयले फेरि घर बनाउन रोकिदियो,’ बिल्टु मरिकले भने, ‘यही छेउमा वनकै जग्गामा ठूलाबडाले पक्की घर बनाउँदा कसैले रोक्न सकेनन् । हामी जस्तो गरिब निमुखाका लागि कानुनमाथि कानुन छ । चरा भए बोटमा बस्न जान्थ्यौँ । मान्छे हौँ, घर चाहिन्छ अब कहाँ जाऊँ ?’

उनले आसपासमा वनकै जग्गामा दर्जनौं पक्की घर बन्दा पनि वन कार्यालयले नरोकेको तर आफूहरुलाई भने घर बनाउन नदिएको गुनासो गरे । ‘हामी डोम समुदायको घर मात्रै रोकेका छन्,’ उनले भने । जग्गाको भाउ बढ्दै गएपछि बलियाबाठाहरुले खाली आफूहरुलाई विस्थापित गरी चलखेल गर्न खोजेको उनले बताए ।

‘दलित भनेर हामीहरु हेपिएका छौँ । न जग्गा छ न त ऐलानीमा बलिया मानिसहरुले बसोबास गर्न दिएको छ,’ मनोज मरिकले भने, ‘पटक–पटक जमिन्दारले घर भत्काउन थालेपछि वडाध्यक्षसँग ऐलानी जग्गामा बसोबास गर्न अनुरोध गरेँ ।’ तर पनि झन्झट खडा भएर तनाव भएको उनले सुनाए । ‘सरकारका हाकिमहरुले यहाँ गरिबलाई कानुन देखाउने र बलियालाई छुट दिने गरेका छन्,’ उनले भने ।

वडाध्यक्ष अनिसुल राईनले पीडित डोम समुदायका लागि घर बनाउन वन राज्यमन्त्रीसँग पहल गरेको बताए । यही क्षेत्रका प्रदेश सांसदमा निर्वाचित सुरेश मण्डल वन राज्यमन्त्री हुन् । उनले प्रदेश सरकारबाट प्रत्येक परिवारलाई घर बनाउन ३ लाखको दरले बजेट ल्याउन सहयोग गरेका थिए । ‘वडाध्यक्षलाई ऐलानी जग्गा खोज्न आग्रह गरेको थिएँ,’ मन्त्री मण्डलले भने, ‘ऐलानी जग्गा हो भनेर जानकारी आएपछि पुस १४ गते शिलान्यास गरेँ ।’

घर बनाउने इँटा, बालुवा–गिट्टी पनि झारिसकिएको छ । पछि स्थानीयले यो जग्गा जोवहा सामुदायिक वनको भएको भन्दै विरोध गरे । वन कार्यालयले घर बनाउन रोकेका छन् । सामुदायिक वनको जग्गामा घर बन्न थालेपछि रोकेको सबडिभिजन वन कार्यालय चोहर्वाका इन्चार्ज सशीन्द्र यादवले बताए ।

प्रकाशित : माघ १०, २०७७ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?