पुल बन्द, मुनिबाट आउजाउ - प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल बन्द, मुनिबाट आउजाउ 

सन्तोष सिंह

धनुषा — धनुषाको धनौजीस्थित भडरियाबाट भारत प्रवेश गर्ने बेलौती नदीको पुल ११ महिनादेखि बन्द छ । व्यवहारमा भने सीमा खुला नै छ । पुलमुनि र आसपासबाट नदी तरेर आवतजावत भने रोकिएको छैन ।

सुरक्षाकर्मीले सर्वसाधारणलाई आवतजावतमा कडाइ गरे पनि तस्करी भने नियन्त्रण गर्न सकेका छैनन् । दुई देशका सुरक्षा निकायले व्यापारीसँग आर्थिक लेनदेन गरी सीमा बन्द भएका बेला तस्करीको संरक्षण गरेको स्थानीयको आरोप छ ।

दैनिक उपभोग्य बस्तु, कपडालगायतका सामान भारतीय बजार हरिणेबाट चोर बाटो हुँदै नेपालतर्फ आउने गरेको छ । साँझ र बिहान साइकलमा व्यापारीको सामान तस्करी गर्नेहरू धनुषाका विभिन्न बजारसम्म पुग्ने गरेका छन् ।

प्रदेश २ का ८ वटै जिल्ला भारतीय सीमासँग जोडिएका छन् । नाका खुलाउन धनुषासहित प्रदेश २ का जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापनपत्र बुझाउँदै स्थानीयले सीमामै धर्नासमेत दिएका थिए । सीमा बन्द हुँदा दैनिक उपभोग्य सामानको मृल्य बढ्नुका साथै औषधि उपचारमा पनि समस्या भएको नेपाल–भारत खुला सीमा संवाद समूहका संयोजक राजीव झाले बताए ।

सीमा बन्दकै कारण छोरी, चेली माइती र ससुराली आवतजावत गर्दा अपमानित भएको र वारिपारि आफन्तको जन्ती र मलामी जान पनि समस्या भइरहेको उनको भनाइ छ । सीमा बन्दले दैनिक जनजीवनसँगै जनकपुरको पर्यटन क्षेत्र प्रभावित भएको होटल व्यवसायी अभिषेक झुनझुनवालाले बताए ।

प्रकाशित : माघ ९, २०७७ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्

गोली हानी प्रेमिकाको हत्या गर्ने १० वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — १० वर्षअघि पाँचथरमा प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपितलाई प्रहरीले काठमाडौंको मूलपानीबाट पक्राउ गरेको छ । 

पाँचथरको एउटा होटेलमा प्रेमिकालाई लगी अर्को दिन गोली हानी हत्या गरी फरार रहेका कुमुक हाङ भनिने पवन लिम्बुलाई प्रहरीले बिहीबार मूलपानीबाट पक्राउ गरेको हो ।

पवनले १० वर्षअघि प्रेमिका सुष्मा तुम्बाहाङ्फेलाई गोली हानी हत्या गरेका थिए । मृतक सुष्मा र आरोपित पवन दुवै ताप्लेजुङका हुन् । उनीहरु पाँचथर सदरमुकाम फिदिमको एउटा गेस्ट हाउसमा बसेका थिए ।

ब्रिटिस सेनामा भर्ना हुने पक्रियाका लागि पवन ताप्लेजुङबाट झापा आएका थिए । उनीसँगै ती किशोरी पनि झापा आएकी थिइन् । ब्रिटिस सेनाको भर्ना प्रक्रियामा सहभागी पवन सुष्मासँगै फिदिम गएका थिए । एक रात त्यहीँ गेस्ट हाउसमा दुवै जना बसेकोमा भोलिपल्ट पवन सुष्मालाई गोली हानी फरार भएका थिए ।

प्रहरीको अनुसन्धानमा उनी विवाह गरेर काठमाडौंमा बस्दै आएको खुलेको छ । ताप्लेजुङ स्थायी घर भएका २७ वर्षीय पवन विवाहपछि मूलपानीमा लुकिछिपी बस्दै आएको खुलेको हो ।

थप अनुसन्धान गरी मुद्दा चलाउन लिम्बुलाई जिल्ला प्रहरी कार्यालय पाँचथर पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित : माघ ९, २०७७ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×