सर्लाहीमा बस पल्टँदा दुई जनाको मृत्यु



सर्लाही — पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा बिहीबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर छ ।


दाङबाट काँकडभिट्टाका लागि छुटेको ना५ख ४४८८ नम्बरको यात्रुवाहक बस हरिवनको सशस्त्र बेसक्याम्पअगाडि बिहान साढे २ बजेतिर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा दाङको राप्ती नगरपालिका–५ की करिब ३१ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी करिब ३५ वर्षकी निर्मला चौधरी रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । उनीहरू नातामा नन्द–भाउजू हुन् ।
राजकुमारीको घटनास्थलमै तथा निर्मलाको उपचारका क्रममा मृत्यु भएको प्रहरी सहायक निरीक्षक प्रदीपशंकर सिंहले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते ६ जनालाई वीरगन्ज रेफर गरिएको र अन्य ५ जनाको हरिवनमै उपचार भइरहेको उनले बताए । गाडीको चालकका बारेमा अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनएको छ ।
प्रकाशित : माघ ८, २०७७ ०८:५९